लुकेर विद्यालय जान्थें

लालबहादुर खत्री कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत नायव सुब्बा हुन् । वि.सं. २०४७ सालदेखि सरकारी सेवामा प्रवेश गरेका खत्री वि.सं. २०२३ जेठ ५ गते बुबा जंबहादुर खत्री र आमा झुपा खत्रीको सन्तानका रूपमा दैलेखको तत्कालीन जगनाथ (हाल भगवतीमाई गाउँपालिका–४) मा जन्मिएका हुन् । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति सुर्खेतको अध्यक्षसमेत रहेका खत्रीले हाम्रा सहकर्मी मुना हमालसँग आफ्नो बाल्यकालको सम्झना यसरी गरेः

बाल्यकालले संघर्ष गर्न सिकायो । त्यसैले मेरो बाल्यकाल सबैभन्दा बढी महत्वपूर्ण लाग्छ । मेरो जन्म दैलेखको भगवतीमाई गाउँपालिका (तत्कालीन जगनाथ गाविस) मा भएको हो । पहिलेको परिवेशमा पढ्नुपर्छ भन्ने थिएन । पहिलो प्राथमिकता गाइगोठालो जाने हुन्थ्यो । अहिलेको जसरी सानै उमेरदेखि विद्यालय पठाउने चलन नै थिएन । अहिले बालबालिका तीन वर्ष नपुग्दै विद्यालय पठाउने गरिन्छ । त्यसबेलामा उमेर बढ्दै गएपछि गाइगोठालो मेलापात गर्न जानुपथ्र्यो । नौ वर्षको उमेरमा मैले पहिलो पटक विद्यालय टेकेके हुँ ।
समय बित्दै गयो । उमेर पनि बढ्दै गयो । त्यसपछि गाइगोठालो जान सुरु गरियो । दाई र दिदीसँगै गोठाला जान्थें । मेरो भागमा बाख्रा हेर्ने पथ्र्यो । बर्खाको समयमा झरी पथ्र्यो । स्याकु ओडेर हामी गाईबाख्रा हेर्न जान्थ्यौं । बाल्यकालमा खान र लाउन पाएपछि रमाइलो हुन्थ्यो ।
गाइगोठालो गर्दै गर्दा साथीहरु विद्यालय जान लागेको देखेर मलाई पनि रहर लाग्थ्यो । मेरा उमेरका साथीहरु पाठशाला जान्थे । विद्यालय घर नजिकै थियो । भगवती प्राथमिक विद्यालय (हाल निमावि भएको छ) थियो । मलाई पनि विद्यालय जान पाएको भए कस्तो हुन्छ होला भन्ने लाग्थ्यो । गोठालो जाँदा लुकेर विद्यालय जान थालें । गाइबाख्रा जंगलमा छोडेर साथीहरुसँग पढ्न जान्थें ।
दुई÷चार दिन लुकेरै विद्यालय गएको थिएँ । मैले ‘कखरा’ लेख्न सिकिसकेको थिएँ । पछि बुबाले थाहा पाउनुभयो । यो लुकेर विद्यालय जान थाल्यो अब यसलाई विद्यालय पठाउनुप¥यो भनेर भर्ना गरिदिनुभयो । बुबाले त्यसरी विद्यालयमा आफै गएर भर्ना गरिदिँदा खुशीको सीमाना नै रहेन । एउटा झोला सिलाइदिनु भएको थियो । लालिगुराँस लेखेको २० पान्नाका कापी हुन्थ्यो । एक रुपैयाँमा डटपेन आउँथ्यो ।
बिहान–साँझ घरको काम नै गर्नुपथ्र्यो । विद्यालय घर नजिक भएकाले सजिलो हुन्थ्यो । म पढाइमा राम्रो नै थिएँ । कक्षा एकदेखि मैले त्यही पढें । म त्यहाँ हुने बेलासम्म पास मात्र हुन्थें । एउटा कारण थियो । विद्यालयका दुई जना शिक्षक थिए । एक जना प्रध्यानाध्यापक र एक जना सह–प्रध्यानाध्यापक । उहाँको घरमा गएर गाइ चाराइदिने अनि काम गरिदिने विद्यार्थी पहिलो र दोस्रो हुन्थे । म भने कहिले पनि त्यहाँ काम गर्न गइनँ । घरमा पनि काम गर्नुपथ्र्यो । त्यहाँ प्राविसम्म मात्र कक्षा थियो । त्यसपछि म कालिका प्रावि डौरीमन घरमा पढ्न गएँ । म त्यहाँ कक्षा सातसम्म प्रथम नै भएँ । पढाइ राम्रो थियो । कक्षा ७ सम्म डौरीमन घरमै पढेपछि थप पढ्नका लागि जाजरकोट गएँ । जुनिचाँदे गाउँपालिकामा रहेको जनप्रिय मावि दशेरामा पढें । मैले २०४३ सालमा एसएलसी पास गरेको हुँ ।
बाल्यकालमा एक पटक बदमासी गरेको छु । चार÷पाँच जना साथीहरु मिलेर काँक्रा चोर्ने योजना बनाइयो । गाउँमा एक बुढो हजुर बुबा र हजुर आमा बस्नुहुन्थ्यो । उहाँहरुको घरमा काँक्रा धेरै नै फल्थ्यो । काँक्रा चोर्न भनेर गयौं । काँक्रा टिप्न भनेर ठेक्क्रामा चढेका थियौं । त्यो ढ्ल्यो । हामी सिस्नोको झाडीमा प¥यौं । हजुर आमाबुबाले थाहा पाइहाल्नुभयो । उहाँहरु गाली गर्दै बाहिर आउनुभयो । हामी भाग्यौं । गाली पनि खुब पायौं । त्यसको धेरै समयपछि पनि हामी त्यही घरमा काँक्रा चोर्न पुग्यौं । गालि खाइहाल्यौं अब फेरि गएर चोरौं भनेर त्यही गयौं । ३२ वटा काँक्रा चोरेर ल्यायौं । अरु घरहरुबाट पनि चोरेर ल्यायौं । दुई चार वटा काँक्रा खाएर सक्यौं । अरु सबै दाउरा चाँजे जस्तो गरी बिन्द्याबासिनी मन्दिरमा राखिदियौं । यी काँक्रा कसले मन्दिरमा लिएर राख्यो भनेर हो–हल्ला भयो । पछि हामीले चारेको हो भने सबैलाई थाहा भयो । बुबाले मलाई सिस्नोपानी नै लगाउनुभयो । त्यसपछि बदमासी गर्नुहुदो रहेनछ भनेर कहिले पनि गरिनँ ।
बाल्कायलमा मलाई खेलकुदप्रति अत्यधिक नै रुचि थियो । भलिबल, कबड्डी, दौड,छेलो खेलमा भाग लिन्थें । रमाइलो हुन्थ्यो, साथीहरुसँग खेल्न । बाल्यकालमा मिठो भोक लाग्ने । रमाइलो गर्न मन लाग्ने । नयाँ कपडा लगाएर सबैलाई देखाउन मन लाग्ने हुन्थ्यो । त्यसबेलामा हामीले वर्षभरी लगाउने दुई जोेड कपडा हुन्थे । तिहारे कपडा र सधैं लगाउने कपडा । तिहारे कपडा भनेको चाडपर्वको बेलामा मात्र लगाउने कपडा । नेपालगन्ज हाट लाग्थ्यो । बेला बेला बुबाहरु समान किन्नका लागि नेपालगन्ज जानुहुन्थ्यो । घरमा भैंसी पालेका हुन्थे । दुई तिन कन्टर घ्यू हुन्थ्यो । घ्यू बेच्ने र घर खर्चका लागि चाहिने समान किनेर ल्याउने हुन्थ्यो ।
एक दिन बुबासँगै हाट गएँ । कक्षा ६ मा पढ्दै गर्दा हो । तीन दिन लगाएर नेपालगन्ज पुग्यौं । हिँडेर जानुपथ्र्यो । सुर्खेतको लेकवेशी, रामघाट हुँदै जानुपथ्र्यो । बाटोमा आवश्यक पर्ने सबै समान घरबाटै ल्याउनुपथ्र्यो । हिँड्दाहिँड्दै घर भेटिए घरमा बास हुन्थ्यो । जंगलमा रात परे ओडारमा बस्नु पथ्र्यौ । नेपालगन्ज पुगेपछि आफैले नै रोजेर कपडा किन्न मन लाग्यो । तर अंकलले हारापाइन्ट किन भन्नुभयो । हेर्दा राम्रो लाग्यो । पछि गाउँभरी नै लगाएर हिँडे । सबैले राम्रो माने । मेरो विद्यालयका शिक्षक सबैले हारापाइन्ट नै किन्नुभयो । मैले के–के नै गरेछु भन्ने महसुस भयो ।
हाम्रो ठाउँमा मेला धेरै नै लाग्थ्यो । धेरै पटक मेला गएँ । रमाइलो हुन्थ्यो । म भन्दा ठूला दाई र अंकलहरु पनि मेला जानुहुन्थ्यो । मेलामा केटा र केटी दोहोरी खेल्ने चलन हुन्थ्यो । रातभरी दोहोरी खेल्ने र बिहानीपंख घर आउने हुन्थ्यो ।
सानो छँदा लाउरे हुन्छु भन्ने गर्थें । एक जना बाजे इन्डियन आर्मी हुनुन्थ्यो । त्यसैले म पनि त्यही बन्छु भन्ने सोच्थें । एसएलसी पछि आफैले पढाएको विद्यालयमा पढाउन सुरु गरें । त्यसपछि लोकसेवा आयोगको तयारी गरेर २०४७ सालमा मुखियामा नाम निकालें । २०५७ सालमा खरिदारमा र पछि बढुवा भएर नायव सुब्बा भएँ । अहिले कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत छु ।