‘समयमा काम हुँदैन, अनावश्यक दुःख दिइयो’

साझा बिसौनी संवाददाता
सुर्खेत, १२ माघ ।
वीरेन्द्रनगर–१० का रमेश पौडेल जग्गा नामसारीका लागि निवेदन दिन जिल्ला मालपोत कार्यालय पुगे । तर उक्त दिन निवेदन दर्ता भएन । कर्मचारीले एक हप्ता पछि आउन भने । निवेदन दर्ताको काम गर्न समेत एक हप्ता लाग्ने भएपछि असन्तुष्ट बनेका रमेशले उक्त गुनासो कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको ‘हेलो मुख्यमन्त्री हटलाइन’मा दर्ता गरे ।


रमेशको उजुरीपछि मुख्यमन्त्री कार्यालयका कर्मचारीले गुनासोबारे बुझ्दा नेट नचलेको समस्या मालपोतका कर्मचारीले सुनाए । ‘काम त भोलि भए पनि, आज भए पनि हामीले नै गर्नुपर्ने हो, जनतालाई सास्ती दिने काम हामीबाट हुँदैन’ मुख्यमन्त्री कार्यालयको गुनासो सम्बोधनका लागि कर्मचारीको फोनमा मालपोतका कर्मचारीले जवाफ दिँदै भने, ‘हाम्रोमा मात्रै होइन, देशभर अनलाइन सर्भर चलेका छैनन् ।’
यस्तै घर बनाउन लागेका वीरेन्द्रनगर–११ का कृष्ण शर्माले पनि नापी कार्यालय सुर्खेतबाट गुणस्तरीय सेवा प्रवाह नभएको गुनासो गरे । ‘जग्गा छुट्याउनु थियो, १५ दिन हुँदा पनि अमिन आउँदैनन्’ उनले भने, ‘ट्रेस नक्सा निकालेपछि ६ नम्बर काउण्टरमा पुग्दा फोन नम्बर मागेर राख्नुभयो । तर, आजसम्म फोन आएको छैन ।’ १५ दिन बित्दा पनि उनको काम हुन सकेन । निवेदन दिनुपर्ने प्रावधान भए पनि सेवा प्रवाह लथालिङ्ग भएकाले अमिन मागका लागि निवेदनसमेत लिदैनन् । कार्यालयले निवेदन विनै अमिन खटाउँदा पाँच सय शुल्क भन्दा बढी लिने गरेको गुनासो सेवाग्राहीको छ ।
उल्लेखित दृष्टान्त कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको ‘हेलो मुख्यमन्त्री’ हटलाइनमा आउने गुनासोका केही उदाहरण मात्रै हुन् । वि.सं. २०७५ जेठ २४ गतेदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतमा सुरु गरिएको हेलो मुख्यमन्त्री हटलाइन–१०९६ मा दैनिक जसो नागरिकका गुनासोहरू आउने गरेका छन् । शनिवार र सार्वजनिक बिदाका दिनमा पनि सरकारले जनताका गुनासोहरू लिने गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार दैनिक तीन सिफ्टमा कर्मचारीहरू हेल्लो सीएम हटलाइमा काम गर्छन् । जनताका गुनासा सुन्ने र सम्बोधनका लागि सम्बन्धित निकायमा निर्देशन दिने उद्देश्यले मुख्यमन्त्री कार्यालयमा हटलाइन सेवा सञ्चालनमा ल्याएको हो ।
हटलाइन शाखाको अभिलेख अनुसार कर्णालीबासीले पुस महिनामा प्रभावकारी सेवा पाउन नसकेको गुनासोहरू धेरै गरेका छन् । सरकारी कार्यालयमा हुने ढिलासुस्तीको गुनासो बढी आउने गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । कार्यालयको अभिलेख अनुसार पुस महिनाभित्र १७ वटा उजुरी परेका छन् । जसमा सात वटा उजुरी प्रभावकारी सेवा नपाएको गुनासो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेल्लो मुख्यमन्त्री शाखाको अभिलेखमा छ । सरकारी कार्यालयमा समयमा काम नहुने, सेवाग्राहीलाई अनावश्यक दुःख दिने गरेका गुनासोहरू पुस महिनामा आएका छन् । विद्युत, शिक्षा÷स्वास्थ्य र नीतिगत विषयमा दुई÷दुई वटा गुनासोहरू आएको अभिलेखमा छ । यस्तै, विकास निर्माण र सञ्चार सम्बन्धी एक÷एक वटा गुनासोहरू आएका छन् भने दुई वटा गुनासो अन्यमा परेका छन् ।
एकातर्फी सरकारी सेवाप्रति नागरिकबाट गुनासो बढिरहे पनि पछिल्लो समयमा हेलो मुख्यमन्त्री हटलाइन सेवाको प्रभावकारिता घट्दो देखिएको छ । स्थापना कालमा धेरै गुनासो आउने गरेको हटलाइनमा यतिबेला न्यून हँुदै गएका छन् । अभिलेख अनुसार कार्तिक महिनामा कुनै पनि गुनासो आएनन् । पर्याप्त प्रचार–प्रसार नहुनुले ग्रामीण भेगका नागरिकले गुनासो गर्न सक्ने अवस्था नरहेको कर्मचारीले बताउने गरेका छन् । साउन महिनामा सबैभन्दा बढी गुनासो आएको हटलाइनमा पछिल्लो समयमा कमी आउने गरेको छ । विद्युत, शिक्षा÷स्वास्थ्य, नीतिगत, सेवा प्रवाह, विकास निर्माण, सञ्चार र विविधमा गुनासो आउने गरेको हटलाइनमा साउनमा मात्रै एक सय ७४ गुनासो दर्ता गरिएको थियो । यस्तै, भदौमा २९, असोजमा १३ र पुसमा जम्मा १७ वटा गुनासोहरू आएका छन् ।
हटलाइन नम्बर सहज नहुनुले पनि गुनासोहरू कम आउने गरेको एक कर्मचारीले बताए । ‘विगतमा हेलो सरकारको चार वटा एक थियो, जो सबैले ध्यान गर्न र थिच्न सक्थे’ उनले भने, ‘तर, हेलो मुख्यमन्त्रीका लागि नम्बर नै अमिल्दो छ, त्यसैले यसमा गुनासो कम आउने गरेका छन् ।’ उनले हटलाइनबारे पछिल्लो समयमा धेरैलाई जानकारी नै नभएको बताए । भौगोलिक रूपमा विकट भएकाले पनि कर्णालीबासीले विकास निर्माण, सडक, विद्युत र सञ्चारसँग सम्बन्धित धेरै गुनासो पनि गर्ने गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी केशव उपाध्यायले हटलाइनमा आएका गुनासोहरू सम्बोधन हुने गरेको बताए । ‘नीति निर्माण सम्बन्धी आएका गुनासोहरू अभिलेखीकरण गर्ने गरिएको छ’ उनले भने, ‘प्रभावकारी सेवा प्रवाह गर्न मौखिक रूपमा जनताका गुनासोहरू सम्बोधन भएका छन् ।’ उनका अनुसार तत्काल सम्बोधन गर्न नसकिने गुनासोहरू अभिलेखीकरण गर्ने र लिखित रूपमा सम्बन्धित निकायलाई जानकारी गराउने काम भइरहेको छ । जनतालाई आफ्ना कुरा सहजै प्रदेश सरकारसँग राख्न सहज बनाउनका लागि हेल्लो सीएम हटलाइन सेवा सञ्चालनमा ल्याइएको हो ।

प्रकाशित मितिः   १३ माघ २०७५, आईतवार १३:१०