खरको छानामुक्त गाउँपालिका बनाइने

साझा बिसौनी संवाददाता
कालिकोट, १२ माघ ।
जिल्लाको पचालझरना गाउँपालिकाको गाउँपालिकालाई खरको छानामुक्त गाउँपालिका बनाउने घोषणा गरेको छ । खरका छानाका कारणले आगलागी लगायतका जोखिम हुने भएका कारणले खर छाना मुक्त गाउँपालिका बनाउने निर्णय गरेको हो ।
पचालझरना गाउँपालिकामा रहेका दुई हजार तीन सय घरधुरी मध्ये झण्डै एक हजार ६ सय घरधुरीका घरपरिवार खरको छानायुक्त भएको गाउँपालिकाले जनाएको छ । सुख्खा खडेरी ग्रस्त क्षेत्र बढी भएको र आगलागीको जोखिम रहेकाले त्यसबाट धनजन जोगाउन घरधनी र गाउँपालिकाको अनुदानमा आगामी आर्थिक वर्षभित्रै सबै नागरिकको खरको छाना हटाएर गाउँपालिका भित्रका नागरिकलाई टिनको छाना बनाउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालले बताए । ‘खरका छानाका कारणले विपत्तिको जोखिम धेरै छ ।’ उनले भने, ‘धनजनको क्षतिबाट बचाउनका लागि खरको छाना हटाएर टिनको छाना बनाउने निर्णय गरेका छौं ।’
गाउँपालिकाले खरको छाना हटाउनका लागि कार्यविधि बनाएर तत्काल प्रक्रियाको थालनी गर्ने भएको छ । झण्डै ७५ प्रतिशत घरहरूमा खरको छाना भएको हुनाले यही आर्थिक वर्षबाट पचालझरनाको–४ लाफा बस्तीबाट स्थानीय नागरिकको खरको छाना हटाउने कार्यक्रम सुरु गर्ने अध्यक्ष सेजुवालले बताए । ‘६० घरधुरी रहेको लाफा बस्तीमा पहिलो चरणमा खरबको छाना हटाउने तयारी छ ।’ उनले भने, ‘खरको छाना हटाउन पाँच लाख रकम गाउँसभाबाट विनियोजन गरिएको छ ।’ आगामी आर्थिक वर्षमा झण्डै एक करोड बजेट विनियोजन गरेर स्थानीय नागरिकको घरको खर हटाएर टिन व्यवस्थापन गर्ने गाउँपालिकाले लक्ष्य लिएको अध्यक्ष सेजुवालले बताए । ‘खरको छाना मुक्त गाउँपालिका बनाउन केन्द्र सरकार, प्रदेश सरकार, र संघसंस्थाको सहयोग लिनेछौं’ उनले भने, ‘पहिलो चरणमा खरको छाना भएको घरहरूको तथ्यांक संकलन गरिने र त्यसपछि घरलाई लाग्ने टिनको प्राविधिक रिर्पोट तयार गर्न लगाइ अनुदान दिने उद्देश्य रहेको छ ।’

प्रकाशित मितिः   १३ माघ २०७५, आईतवार १३:०९