मूर्ति तस्करीमा गाउँपालिकाका उपाध्यक्ष

साझा बिसौनी संवाददाता
डोल्पा, १२ माघ ।
गाउँपालिकाका उपाध्यक्ष नै बौद्ध मूर्ति तस्करीमा संलग्नता रहेको पाइएको छ । उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष मलामटसी गुरुङ प्राचीन बौद्ध मूर्ति तस्करीमा संलग्नता रहेको पाइएको हो ।
शे–फोक्सुण्डो गाँउपालिका–४ को राहाप गुम्बाबाट आठ वर्षअघि प्राचीन बौद्ध मूर्ति र स्तुपा तस्करीमा रहेको प्रहरी अनुसन्धानबाट खुले पनि फरार रहेकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ । गुम्बाबाट हराएका ३८ थान बुद्धका मूर्ति र स्तुपाहरू चोरीमा उपाध्यक्ष गुरुङ मुख्य नाइके भएको जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक अभदेश विष्टले बताए ।
स्थानीय तहको निर्वाचनमा उपाध्यक्षमा निर्वाचित हुनुअघि देखि नै मुख्य योजनाकारको रूपमा गुरुङले मूर्ति तस्करी गर्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको हो । केही दिनअघि मूर्ति चोरीमा संलग्नलाई प्रहरीले एकपछि अर्को गर्दै पक्राउ गर्न थालेपछि गुरुङ नेपाल छाडेर भारतमा लुकेर बसेको प्रहरीले जानकारी दिएको छ । यसअघि मूर्ति चोरीमा संलग्न चार जनालाई काठमाडौंबाट प्रक्राउ गरिएको थियो । पक्राउ परेका चारमध्ये तीन जना नौ माघमा जेल चलान भएका छन् । शे–फोक्सुण्डो गाँउपालिका ४ का ४१ वर्षीय उर्केन पासाङ, सोही गाँउपालिका १ का ४१ वर्षीय झयाम्पा छुल्डिम लामा, वडा नम्बर ४ का पासाङ लुण्डुप गुरुङ पुर्पक्षका लागि जेल चलान भएका छन् ।
यसैबीच मूर्ति चोरीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई वडा अध्यक्ष भने धरौटीमा रिहा भएका छन् । डोल्पोबुद्ध गाँउपालिका–५ का वडा अध्यक्ष कार्मा गुरुङ र सोही गाँउपालिका ३ का छिरिङ धावा गुरुङ भने जनही ५० हजार रूपैयाँ धरौटीसहित ९ माघमा रिहा भएका छन् ।

प्रकाशित मितिः   १३ माघ २०७५, आईतवार १३:०८