गुराँस गाउँपालिकाको केन्द्र रानीमत्ता
साझा बिसौनी संवाददाता
दैलेख, १२ माघ ।
दैलेखको गुराँस गाउँपालिकाको स्थायी केन्द्रको टुङ्गो लागेको छ । चौथो गाउँसभा तथा हिउँदे अधिवेशनले गाउँपालिकाको स्थायी केन्द्रको टुङ्गो लगाएको हो ।
गाउँसभाले केन्द्रमा सहमती जुटाउन नसकेपछि निर्वाचन प्रक्रियाबाट केन्द्रको टुङ्गो लगाइएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जानकारी दिए । गाउँपालिका केन्द्र रानीमत्ता कि रतिखोला ? भनी दुइवटा ठाउँको विकल्पमा निर्वाचन गरिएको थियो । गाउँसभामा कायम ४४ जना सदस्यमध्य ३३ जना (दुई तिहाई) भन्दा धेरै सदस्यले वडा नम्बर ५ रानीमत्ताको लागि मतदान गरेका थिए भने १० जनाले वडा नम्बर ४ रतिखोलाको लागि मतदान गरेको र बाँकी एक जनाको भोट रद्द भएको निर्वाचन अधिकृत ललितकुमार थापाले जानकारी दिए ।
उनका अनुसार गाउँपालिकाको केन्द्र रानीमत्ता हुनुपर्छ भन्ने पक्षमा दुई तिहाईभन्दा धेरै भोट खसेकाले अब गुराँस गाउँपालिकाको स्थायी केन्द्र वडा नम्बर ५ रानीमत्ता कायम भएको घोषणा गरिएको छ । यसअघि गाउँपालिकाको अस्थायी केन्द्रको रूपमा वडा नम्बर ४ घोडाबासमा राखिएको थियो । कुनै स्थानीय तहको नाम र केन्द्रका विषयमा विवाद आएमा ६ महिनाभित्र गाउँसभामा कायम सदस्य संख्याको बहुमतबाट टुङ्गो लागाउन सकिने व्यवस्था छ । यदि ६ महिनाभित्र पनि नाम र केन्द्रको टुङ्गो लाग्न नसके सम्बन्धित स्थानीय तहको गाउँ तथा नगरसभामा कायम सदस्य संख्याको दुई तिहाई मत आवश्यक पर्दछ । लामो छलफलबाट गुराँस गाउँपालिकाको स्थायी केन्द्र काहाँ राख्ने भन्ने विषयमा टुङ्गो नलागेपछि अन्ततः निर्वाचन गराइएको हो ।
साझा बिसौनी संवाददाता ।