गुराँसेमा हिउँ हेर्नेको लर्को

साझा बिसौनी संवाददाता
सुर्खेत, १२ माघ ।
अरु समयमा मानिसहरूको चाप न्यून हुने दैलेखको गुराँसे र सुर्खेतको रातानाङ्लामा शनिवार कुनै ठूलो मेलामा जस्तै भिडभाड थियो । कोही हिउँ खेलाइरहेका थिए भने कोही फरक–फरक ‘एंगल’ का तस्विर खिचाइरहेका थिए । अर्थात् सबै हिउँसँग रमाइरहेका थिए ।


चार वर्षपछि सुर्खेत र दैलेखमा बाक्लो हिउँ परेपछि हेर्न र हिउँसँग खेल्न जानेहरूको लर्को नै लाग्ने गरेको छ । लगातारको वर्षासँगै हिमपात भएपछि सेताम्मे बनेका डाँडा हेरेर मनोरञ्जन लिन र तस्बिर खिच्नका लागि त्यहाँ पुग्नेहरूको लस्कर नै लागेको हो ।
गत सोमवार रातीबाट निरन्तर पानी परिरहेको छ । पानीसँगै लगातार हिमपात भइरहेको छ । सुर्खेतको वीरेन्द्रनगरबाट नजिकको दूरीमा हिउँ पर्ने रातानाङ्ला र गुराँसेमा चार इन्चभन्दा बाक्लो हिउँ परेको स्थानीयले जनाएका छन् । शनिवार वीरेन्द्रनगरबाट ठूलो संख्यामा मानिसहरू गुराँसे र रातानाङ्ला पुगेका थिए । बिदाको दिन भएकाले विद्यार्थी, कर्मचारीहरूसमेत मोटरसाइकल तथा गाडी रिजर्भ गरेरै गुराँसे पुगेका हुन् ।
हिउँ हेर्न जानेहरूको बाक्लो उपस्थितिका कारण साँघुरो सडक र यात्रुको चाप बढेसँगै गुराँसेदेखि रातानाङ्लासम्मको झण्डै तीन घण्टा ट्राफिक जाम भएको थियो । वीरेन्द्रनगर सुर्खेत र गुराँसे चेकपोष्टबाट प्रहरीसमेत परिचालन गरी जाम खुलाइएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार शनिवार बिहानदेखि साँझसम्म एक हजारको हाराहारीमा मोटरसाइकल र ५० भन्दा बढी अन्य सवारी साधनमा यात्रुहरू हिउँ खेल्नकै लागि गुराँसे पुगेका थिए ।
बाक्लो मात्रामा परेको हिउँका कारण वीरेन्द्रनगरबाट गुराँसे र रातानाङ्लामा पुग्नेहरूले होटेलहरू भरीभराउ हुने गरेका छन् । स्थानीय बालकुमारी थापाले हिउँ परेसँगै व्यापार व्यवसायसमेत फस्टाएको बताइन् । ‘यति धेरैको संख्यामा गुराँसे आएको पहिलो पटक हो’ उनले भनिन्, ‘अधिकांश त पहिलो पटक हिउँ हेर्ने रहरले यहाँ आएका हुन्छन् ।’ गुराँसेमा चार वर्षपछि बाक्लो हिउँ परेको स्थानीयले जनाएका छन् ।
गुराँसेमा शनिवार दिनभर चिसोको प्रवाह नगरी हिउँसँग रमाइरहेकाहरूको दृष्य देख्न सकिन्थ्यो । कतिपयले हिउँमा सुतेर त कतिपयले हिउँ खाएरैसमेत तस्बिर खिच्नुका साथै मनोरञ्जन लिइरहेका थिए ।


कर्णालीका उच्च हिमाली जिल्लाहरूमा दोस्रो पटक बाक्लो हिमपातले तरकारी खेतीलाई फाइदा पु¥याउने कृषकहरूको भनाइ छ । पुसको अन्तिम र माघको पहिलो हप्तामा परेको हिमपातलाई उनीहरूले शुभ वर्षको रूपमा लिएको थापाले बताइन् ।
यस्तै, कर्णालीका हिमाली जिल्लामा पनि हिमपात रोकिएको
छैन । हिमपातले डोल्पा, हुम्ला, जुम्ला, मुगु लगायतका जिल्लामा हवाई सेवा अवरुद्ध भएको छ । जाजरकोटका विभिन्न क्षेत्रमा राखिएका मोबाइल टावरसमेत अवरुद्ध छन् । लगातारको हिमपातपछि उच्च हिमाली जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

प्रकाशित मितिः   १३ माघ २०७५, आईतवार १३:०२