स्ववियु चुनाव भदौ ८ गते
बिसौनी संवाददाता
सुर्खेत, ७ असार
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी भदौमा हुने भएको छ । विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले आउँदो भदौ ८ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको हो । परिषद्को मंगलवार वीरेन्द्रनगरमा सम्पन्न बैठकले निर्वाचनको मिति तोकेको हो ।
देशकै जेठो त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि निर्वाचन हुन नसकिरहेको बेला मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचनको टुङ्गो लागेको हो । विश्वविद्यालयका रजिस्ट्रार डा. महेन्द्रकुमार मल्लले विद्यार्थी सङ्गठनहरूको मागका आधारमा स्ववियु चुनावको मिति
तोकिएको जानकारी दिए । उनका अनुसार अब भदौ ८ गते चुनाव हुनेछ । कार्यकारी परिषद्को बैठकले यो निर्णय गरेको उनको भनाइ छ ।
यसअघि विद्यार्थी सङ्गठनहरूले स्ववियु निर्वाचनको माग गर्दै पटकपटक विश्वविद्यालयमा आन्दोलन गर्दै आएका थिए । आन्दोलनको सुनुवाइ गर्दै विश्वविद्यालय प्रशासनले भदौमा चुनाव गराउने निर्णय गरेको हो । विद्यार्थी सङ्गठनहरूले जति सक्दो छिटो स्ववियु निर्वाचनको मिति तोक्न माग गर्दै आएका थिए । केही दिन पहिला विश्वविद्यालयका रजिस्ट्रार डा. महेन्द्रकुमार मल्लको संयोजकत्व रहेको वार्ता समितिले संयुक्त विद्यार्थी सङ्गठनहरूसँग छलफल गरेर भदौमा निर्वाचन गर्ने टुङ्गो लगाएको थियो । तर चुनावको मिति भने मंगलवार तोकिएको हो । स्ववियु निर्वाचनको मिति तोकेकोमा विद्यार्थी सङ्गठनहरूले त्यसको स्वागत गरेका छन् ।
साझा बिसौनी संवाददाता ।