कर्णालीको सम्भावना

कर्णालीको विकटतम, गरिबी र भोकमरी सधैं चर्चामा रहने विषय हुन् । स्थानीयदेखि राष्ट्रियस्तरका सञ्चारमाध्यममा कर्णालीका यिनै विषय समाचार तथा लेखका रूपमा आइरहन्छन् । कर्णालीमा समस्या मात्र होइन सम्भावना पनि उत्तिकै छ । यसतर्फ भने अपेक्षाकृत ढङ्गले बहस र छलफल हुनसकेको छैन । छलफलहरू भए पनि त्यसले उपलब्धि प्रदान गर्न सकेको पाइदैंन । कर्णाली अञ्चल सिङ्गै गरिबीको पर्याय बनेको छ । इतिहास हेर्दा कर्णालीकोे शान गौरवमय देखिन्छ । विगतमा कर्णाली खाद्यन्नमा आत्मनिर्भर थियो । वस्तु विनिमयले हुने–खाने र हुँदा–खानेबीच त्यति धेरै खाडल थिएन । कर्णालीबासीको इज्जत थियो त्यो । नुन र मट्टितेल मात्र आयात गर्नुपथ्र्यो । तर आज कर्णाली दुःख बाहेक सबै आयात गर्नुपर्ने विडम्बनामा छ । दुःख पाउनु कर्णालीवासीको नियतिभन्दा पनि जन्मजात बाध्यता बनेको छ । आज गरिबी,
भोक र रोगको विम्ब बनेको छ, कर्णाली । आत्मनिर्भर अर्थतन्त्रबाट जब कर्णाली ओरालो लाग्यो, तब काठमाडौंको दयाको पर्खाइमा रुमल्लिरह्यो । कर्णालीको
मध्यकालीन इतिहास अझ वैभवशाली छ । ऊ बेला सुन, फलाम खानी भण्डारणको इतिहास बोकेको कर्णाली आज तिनै खानी खन्दा निस्केको ढुङ्गा–माटोका ढिस्का कुरेर बस्नुपरेको छ ।
कर्णाली विकासमा पछाडि पर्नुको प्रमुख कारण हो, त्यहाँको विकटता । भौगोलिक विकटताकै कारण सडक सञ्जालमा जोडिन कर्णालीले वर्षौ कुर्नुप¥यो । अहिले पनि कर्णालीका सबै जिल्लामा सडकको सहज पहुँच छैन । प्रजातन्त्रको स्थापनासँगै कर्णालीबाहेक देशैभरी सडकहरू पुग्न थाले, तर कर्णालीसम्म पुग्न भने लामै समय लाग्यो । आजपर्यन्त त्यहाँ मोटर बाटो पुग्न धौ–धौ परिरहेको छ । हुम्ला र डोल्पाका सदरमुकाम अझै सडक सञ्जालबाट जोडिएका छैनन् । तर नेपाली सेनाले गरेका पछिल्ला कामले केही आशा जगाएको छ, चाहे सुर्खेत–जुम्ला वा नाग्म–गमगढी अथवा हाल काम भइरहेको खुलालु–हुम्ला सडक नै किन नहोस् । हिँड्नसमेत कठिन हुने भीर–पहरा फुटालेर सेनाले सडक बनाएसँगै कर्णाली करिडोर अन्तर्गत कालिकोटको लालीघाटदेखि रेङ्गिल बजारसम्म ६ किलोमिटरमा गाडी पुगेको छ । सशस्त्र द्वन्द्वले ओझेलमा परेको यो स्थान करिडोरसँगै बजारोन्मुख भएको छ । राष्ट्रिय गौरव आयोजनाको रूपमा रहेको निर्माणाधीन कर्णाली करिडोर अन्तर्गत खुलालु–लैफु–हिल्सा–सिमिकोट १९६ किमी पर्छ । अन्तिम गन्तव्य हुम्लाको सिमकोट पुग्न सबै गरी एक सय ३० किमि अझै निर्माण हुन बाँकी छ । निर्माण भएको अन्य भागमा पनि पूरै मोटर गुड्न सक्ने बाटो बनेको छैन ।
सरकारले दुई वर्षमा हुम्लामा सडक पु¥याउने घोषणा गरेको छ । यसले नयाँ आशाको सञ्चार भएको छ । कर्णाली करिडोर यस अर्थमा पनि महŒवपूर्ण छ कि यसले जनताको जीवनस्तरमा त सुधार ल्याउँछ नै, सँगै उत्तरी सीमानामा रहेको तिब्बतको हिल्सालाई दक्षिणी सीमानामा रहेको भारतको रूपैडियासँग सिधा सम्पर्क गराउनेछ । पश्चिम भेगका लागि यो सडक आर्थिक मेरुदण्ड सावित हुनेछ भने सिंगो मुलुकका लागि प्रतिष्ठा र गौरवको बाटो बन्नेछ । सडक पूर्वाधार बनेसँगै त्यसले ल्याउने अवसरले पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी लगायत अनेकन सवालमा उल्लेख्य परिवर्तन ल्याउनेछ । एउटा कठोर यथार्थ के हो भने कर्णालीको भू–बनौट असजिलो छ । यो असजिलोलाई काठमाडौं वा सुर्खेतको सहज भागमा बसेर बनाइएको शिक्षा, स्वास्थ्य, कृषि, नीति र विकास योजनाले खासै काम गर्दैन । कर्णालीका विशेषतामा आधारित नीति, योजना र विकास कार्यक्रम हुनुपर्छ, जसले देखिने र अनुभूत हुनेगरी प्रतिफल दिन सकोस् । कर्णालीकै यथार्थ बुझेर र भिजेर विकासका काम अगाडि बढाउनु आजको आवश्यकता हो ।

प्रकाशित मितिः   ८ असार २०७३, बुधबार ०९:४१