प्रदेश ६ को समृद्धिमा विश्वविद्यालयको भूमिका
छत्रप्रसाद रेग्मी-
कुनै पनि देशको चौतर्फी विकासको लागि शिक्षालाई महत्वपूर्ण माध्यमका रूपमा लिइन्छ । विकासका लागि उपयुुक्त जनशक्ति तयार पार्नका लागि शिक्षाको खाँचो पर्दछ । त्यसैले विकासको प्रमुख आधार मानिन्छ शिक्षालाई । शिक्षाको प्रारम्भ धार्मिक संस्थाहरूबाट भएको पाइन्छ । हिन्दु परम्परा अनुसार गुरुकुल शिक्षा प्रणालीमा आधारित शिक्षा थियो । बौद्ध परम्परा अनुसार गुम्बा र बिहारमा पढाइ हुन्थ्यो ।
हाम्रो देशमा सर्वप्रथम वि.सं. १९१० मा जंगबहादुर राणाले दरबार हाइस्कुलको स्थापना गरी आधुनिक औपचारिक शिक्षाको सुरुवात गरेको देखिन्छ । वि.सं.१९५८ मा देवशमशेरले देशका विभिन्न भागमा एक सयभन्दा बढी भाषा पाठशालाहरू खोल्न लगाएका थिए । राणा प्रधानमन्त्री चन्द्रशमशेरका पालामा वि.सं. १९७५ मा त्रिचन्द्र कलेजको स्थापना गरी उच्च शिक्षाको सुरुवात गरेका थिए । वि.सं. १९९० सालमा नेपालमा एसएलसी बोर्डको स्थापना गरी शिक्षाको विकासमा महत्वपूर्ण थालनी गरेको देखिन्छ । वि.सं. २००७ सालभन्दा अगाडि औपचारिक शिक्षामा ठूलो प्रगति हुन नसके पनि केही आधारहरू खडा गरिएका थिए । वि.सं. २००७ सालताका देशमा जम्मा दुई प्रतिशत जति मात्रै साक्षरता थियो । वि.सं. २०१६ सालमा नेपालकै पहिलो विश्वविद्यालयको रूपमा त्रिभुवन विश्वविद्यालयको स्थापना भएपछि शिक्षाको विकासमा थप प्रयास भएको देखिन्छ । वि.सं. २०२८ सालमा राष्ट्रिय शिक्षा पद्धतिको योजना ल्याइयो, जसले परम्परागत शिक्षाको सट्टा व्यवसायिक तथा प्राविधिक शिक्षा हुनुपर्ने कुरामा जोड दिएको पाइन्छ । हाल आएर गुणस्तरीय शिक्षा प्रदान गर्ने हेतुले देशभर आधारभूत तहदेखि उच्च शिक्षासम्मका थुपै्र विद्यालय तथा विश्वविद्यालय सञ्चालनमा रहेका छन् ।
राज्यको विकेन्द्रिकृत र क्षेत्रीय एवम् बहुविश्वविद्यालयको अवधारणा अनुसार नेपालमा हाल नौ वटा विश्वविद्यालय सञ्चलनमा रहेका छन् । विश्वविद्यालय उच्च शिक्षा प्राप्त गर्ने एक शैक्षिक केन्द्रबिन्दु हो । संसारका हरेक विश्वविद्यालयको साझा उद्देश्य भनेको गुणस्तरीय शिक्षा प्रदान गरी राज्यलाई आवश्यक पर्ने विभिन्न क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्नु हो । यसका अतिरिक्त समाज र देशको रूपान्तरण गर्ने, शिक्षाका माध्यमबाट चेतनाको विकास गर्ने, राज्यले तय गरेका आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक र विकास सम्बन्धी उद्देश्यको प्राप्तीमा सघाउ पु¥याउने तथा अध्ययन, अध्यापन र अनुसन्धानमार्फत् ज्ञानको क्षेत्र फराकिलो बनाउने कार्यमा विश्वविद्यालयको अहम भूमिका रहन्छ । आज विश्वका विभिन्न मुलुकले प्राप्त गरेका ठूलाठूला उपलब्धि, वैज्ञानिक आविष्कारहरू, नयाँ–नयाँ प्रविधि, स्वास्थ्य सम्बन्धी उपलब्धि एवम् विकास सम्बन्धीका हरेक उपलब्धिहरू विश्वविद्यालय अन्तर्गत रहेर भएका अध्ययन अनुसन्धानबाट सम्भव भएका हुन् । त्यसैले विश्वविद्यालयको सर्वव्यापी महत्व रहेको छ ।
नेपालको संविधान २०७२ जारी पछि नेपाल विधिवत रूपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य बनेको छ । यस संविधानले नेपाललाई विभिन्न ७ वटा प्रादेशिक संरचनामा विभाजन गरेको छ । जसमध्ये साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रका १० जिल्ला (कर्णाली अञ्चलका पाँच जिल्ला, दैलेख, सुर्खेत,जाजरकोट, सल्यान र रुकुमको केही भाग) लाई समेटी ६ नम्बर प्रदेश कायम गरिएको छ । यसै प्रदेशको प्रमुख सहर वीरेन्द्रनगर, सुर्खेतमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय अवस्थित रहेको छ । वि.सं. २०६७ साल असार ३ गते विधिवत रूपमा स्थपना भएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयको यस प्रदेशको समृद्धिमा विशेष महत्व रहेको छ । क्षेत्रीय विश्वविद्यालयको अवधारणाको उद्देश्य भनेको स्थानीयस्तरमा भएका कला, संस्कृति, भाषा, साहित्य आदिको संरक्षण गर्नु र सम्बन्धित क्षेत्रमा उपलब्ध साधन र स्रोतको उचित परिचालन गरी सन्तुलित विकासमा टेवा पु¥याउनु रहेको हुन्छ । यिनै उद्देश्यको जगमा रहेर मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्थापना भएको हो ।
६ नम्बर प्रदेश प्रशस्त सम्भावना बोकेको प्रदेश हो । यस क्षेत्रमा रहेका विभिन्न सम्भावनाहरूको खोजी गरी ती सम्भावनाहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउने कार्यमा यस मध्यपश्चिमाञ्चल विश्वविद्यालयको महत्वपूर्ण योगदान रहन्छ । यो प्रदेश अनेकन प्राकृतिक, मौलिक एवम् सांस्कृतिक साधन स्रोतले भरिपूर्ण रहको छ । तथापी विकास र समृद्धिका प्रशस्त सम्भावना हुँदाहुँदै पनि विकास प्रक्रियामा पछाडि परेको छ । यसप्रकार यस प्रदेशको प्रमुख शैक्षिक केन्द्रको रूपमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालय यहाँको विकास र समृद्धिको मियो मान्न सकिन्छ भन्दा अत्युक्ति नहोला । प्राकृतिक साधन स्रोतमा जतिसुकै अब्बल भएता पनि त्यस्ता साधन स्रोतको परिचालन गर्नसक्ने नविन ज्ञान र सीपयुक्त दक्ष जनशक्तिको खाँचो पर्दछ । यस प्रादेशिक क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको पहिचान र उत्पादन कार्यका यस विश्वविद्यालयको महत्वपूर्ण भूमिका रहन्छ ।
यस प्रदेशमा विभिन्न खाद्यान्न तथा नगदे बालीको सम्भावना रहेको छ । यस्ता व्यवसायिक कृषि उत्पादनको सम्भावना भएका क्षेत्रको अध्ययन अनुसन्धान गर्न कृषि सङ्काय र पाठ्यक्रमको तर्जुमा गरी अध्ययन, अध्यापन र अनुसन्धानमार्फत् कृषि क्षेत्रको विकस तथा विस्तारमा यस विश्वविद्यालयको महत्वपूर्ण भूमिका रहन्छ । जुम्लामा स्याऊ र ओखरको व्यवसायिक उत्पादन, दैलेखमा सुन्तला लगायत अलैंची तथा चिया जस्ता नगदे बालीको व्यवसायिक उत्पादनको सम्भावना रहेको छ । यसप्रकार विश्वविद्यालयले कृषि क्षेत्रलाई आफ्ना कार्यक्रममा समेटी खाद्यन्न, तरकारी, फलफूल तथा पशुपालनलाई व्यवसायिक पेशाको रूपमा अगाल्न सक्ने जनशक्ति उत्पादनमा जोड दिनुपर्दछ । यसले कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्वमा वृद्धि गरी रोजगारी सिर्जनामा समेत महत्वपूर्ण टेवा पुग्ने देखिन्छ ।
पर्यटकीय दृष्टिकोणले समेत प्रशस्त सम्भावना बोकेको यस प्रदेशमा सुर्खेतमा काँक्रेविहार, देउतीबज्यै, बुलबुले ताल, दैलेख जिल्लामा पञ्चकोशी तीर्थस्थल, जुम्लाको सिँजा, चन्दन्नाथ, डोल्पाको फोक्सुण्डो ताल, मुगुको रारा ताल साथै रारा राष्ट्रिय निकुञ्ज, से–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, सुर्खेत उपत्यकामा प्यराग्लाइडिङ, भेरी कर्णालीमा नदीमा ¥याफ्टिङ आदि थुपै्र पर्यटकीय सम्भावना रहेका छन् । हिमाली पदयात्रा पनि यस क्षेत्रको आकर्षण मानिन्छ । यस्ता पर्यटकीय स्थलको खोज, अनुसन्धान, संरक्षण, सम्बद्र्धन र प्रचार–प्रसारमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको महŒवपूर्ण भूमिका रहन्छ । पर्यटन सम्बन्धी समसामयिक पाठ्यक्रमको निर्माण गरी अध्ययन अध्यापन गर्ने, गराउने र यस क्षेत्रसँग सम्बन्धित दक्ष जनशक्ति उत्पादन गरी रोजगारी सिर्जना, गरिबी न्यूनीकरण तथा आम्दानी समेत वृद्धि भइ यस प्रदेशका विकास र समृद्धि हुने देखिन्छ ।
यस प्रदेशको अधिकांश भू–भाग हिमाली क्षेत्रमा पर्दछ । हिमाली क्षेत्र बहुउपयोगी तथा बहुमूल्य यार्सागुम्बा, पाँचऔंले, गुच्छी च्याऊ, हर्रोबर्रो, शिलाजित, हात्तीजरा, सतुवा आदि जस्ता जडिबुटीको भण्डार रहेको छ । यस्ता जडिबुटीको पहिचान गरी कानुनी तवरले दिगो उपयोग तथा निर्यात गरी प्रशस्त आयआर्जन गर्न सकिन्छ । त्यसको लागि जडिबुटी सङ्कलन तथा प्रशोधन केन्द्रको स्थापना गर्ने र विश्वविद्यालयको कार्यक्रममा समेटी अन्य क्षेत्रसँग समन्वयात्मक ढङ्गले अगाडि बढ्नसकेमा यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने देखिन्छ । हाइड्रोपावर यस प्रदेशको अर्को सम्भावना भएको क्षेत्र हो । कर्णाली, भेरी जस्ता ठूला नदीका साथै अन्य स–साना नदीहरूबाट ठूला तथा लघु जलविद्युत परियोजना सञ्चालन गरी आवश्यक विद्युतीय ऊर्जा उत्पादन गर्न सकिन्छ । विश्वविद्यालयले सञ्चालन गर्ने कार्यक्रममा इलेक्ट्रिकल विषयको अध्ययन अध्यापन गराइ यस क्षेत्रका जनशक्ति उत्पादनमा जोड दिनुपर्दछ । जलविद्युतको उत्पादन, तथा वितरण गरी यसको प्रयोगद्वारा उद्योग कलकारखान सञ्चालन गर्न सकिन्छ । जसले गर्दा रोजगारी तथा आम्दानीमा वृद्धि हुन जान्छ । साथै बढी भएको विद्युत निर्यात गरी आयआर्जन गर्न सकिन्छ । यस क्षेत्रको अध्ययन अनुसन्धानमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको महत्वपूर्ण भूमिका रहन्छ ।
अर्कोतर्फ यस प्रदेशमा खनिजको सम्भाव्यता अध्ययन गरी सोको उत्खनन् गर्न सकेमा यस प्रदेशको विकासमा महत्वपूर्ण टेवा पुग्ने देखिन्छ । दैलेख जिल्लाको शिरस्थान, नाविस्थान क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको कुरा विभिन्न सर्वेक्षण समेत पुष्टि गरिसकेको छ । हालै त्यसको उत्खनन्का लागि थप अध्ययन पनि भइरहेको छ । यसको उत्खनन् गर्न सकेको खण्डमा पेट्रोलियम पदार्थको आयत गर्नुपर्ने बाध्यता न्यून भइ स्थानीय साधन स्रोतको उपयोग हुने अवसर प्राप्त हुने देखिन्छ । त्यस्तै यस प्रदेशका अन्य विभिन्न जिल्लाहरूमा चुनढुङ्गा, फलाम खानी, तामाखानी लगायतका धातुका साथै बहुमूल्य पत्थर समेत रेहेको अनुमान छ । त्यस्त खानीजन्य पदार्थको खोज, अध्ययन, अनुसन्धान कार्यमा यस मध्यपश्चिमाञ्चल विश्वविद्यालयको महत्वपूर्ण भूमिका रहन्छ ।
यस प्रदेशमा रहेका प्राकृतिक स्रोतसाधनको दिगो उपयोगका साथै उत्पादनका क्षेत्रमा नयाँ–नयाँ प्रविधिको आविस्कार तथा प्रयोग गरी उत्पादन तथा उत्पाकत्वमा वृद्धि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समन्वय र सम्बन्ध विस्तार गरी अनुभव, प्रविधि तथा ज्ञानको अदान–प्रदानमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको महत्वपूर्ण भूमिका रहन्छ । समाजमा रहेका विभिन्न समस्याहरूको खोज तथा गहन अनुसन्धानमार्फत् समस्या समाधानका उचित उपाय पत्ता लगाउने कार्यमा यस विश्वविद्यालयको महŒवपूर्ण देन रहन्छ । गुणस्तरीय शिक्षाका माध्यमबाट चेतनाको विकास, कला, संस्कृति, भाषा, साहित्य, धार्मिक तथा ऐतिहासिक धरोहरको संरक्षण, उद्योगधन्दा, व्यापार व्यवसायको विस्तार, भावी पुस्तामा ज्ञानको हस्तान्तरण, योजना तथा नीति निर्माणमार्फत् प्रादेशिक क्षेत्रको आमूल परिवर्तन र विकासका साथै न्यायपूर्ण र समतामूलक समाजको निर्माण गर्ने कार्यका विश्वविद्यालयको अहम भूमिका रहन्छ ।
यसरी हेर्दा, विकासका लागि अति महत्वपूर्ण साधन मानव साधन अर्थात् जनशक्ति नै हो । जनशक्ति उत्पादनको केन्द्र विश्वविद्यालय हो । जनशक्ति उत्पादनको कार्य योजनाबद्ध हुनुपर्दछ । हाम्रो देशमा हाल योजनाबद्ध रूपमा जनशक्ति तयार नगर्नाले समस्या उत्पन्न भएको देखिन्छ । कुनै क्षेत्रमा चाहिने भन्दा बढी जनशक्ति भएर बेरोजगारी समस्या उत्पन्न भएको छ भने कुनै क्षेत्रमा जनशक्तिको अभाव छ । यसर्थ मध्यपश्चिमाञ्चल विश्वविद्यालयले योजनाबद्ध तरिकाले जनशक्तिको उत्पादन गर्नसकेमा गाउँ, नगर, जिल्ला र प्रदेश हँुदै समग्र देशको सबै क्षेत्रको सन्तुलित विकास सम्भव हुन जान्छ ।
अन्तमा, प्रादेशिक सरकारमा ‘भिजन’ भएको मान्छेको नेतृत्व र मध्यपश्चिमाञ्चल विश्वविद्यालयको समन्वयकारी भूमिका हुनसकेमा स्रोत साधनले भरिपूर्ण ६ नम्बर प्रदेश सबैभन्दा धनी प्रदेश बन्ने निश्चित छ ।
(लेखक मप विश्वविद्यालय स्नातकोत्तर चौथो सेमेष्टर विकास अर्थशास्त्रका विद्यार्थी हुन् ।)
साझा बिसौनी संवाददाता ।