कभर्ड हलका लागि रकम जुटाइँदै
साझा बिसौनी संवाददाता
सुर्खेत, ६ असार ।
जिल्ला ब्याटमिन्टन संघ सुर्खेतले सुर्खेतमा सुविधा सम्पन्न बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्ने भएको छ । दुई वर्षभित्र कभर्ड हल निर्माण गरिसक्ने लक्ष्यसहित संघले काम सुरु गरेको छ ।
सुरुवातमा सुविधा सम्पन्न ब्याटमिन्टन कभर्ड हल निर्माण गर्ने तयारी गरेको संघले सबै सरोकारवालाहरूसँगको छलफलपछि बहुउद्देश्यीय कभर्ड हल निर्माणको प्रक्रिया सुरु गरेका हो । यसका लागि रकम सङ्कलनको काम भइरहेको संघले जनाएको छ । संघका अध्यक्ष चेतबहादुर अधिकारीका अनुसार हालसम्म एक लाख १३ हजार रूपैयाँ सङ्कलन भएको छ ।
कभर्ड निर्माणका लागि आवश्यक रकम जुटाउन क्षेत्रीयस्तरको धार्मिक महोत्सव समेत आयोजना गर्न लागिएको संघका महासचिव खिमलाल देवकोटाले जानकारी दिए । उनका अनुसार महोत्सव आगामी कार्तिक २५ देखि मंसिर २ गतेसम्म वीरेन्द्रनगरमा सञ्चालन हुनेछ । उक्त महोत्सवबाट पाँच करोड रूपैयाँ सङ्कलन गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए ।
पछिल्लो समय ब्याटमिन्टनमा आकर्षण बढ्दै गए पनि जिल्लामा एउटा कभर्ड हल नहुँदा खेलाडीहरू छायाँमा परेकाले कभर्ड हल निर्माणको योजना अघि सारिएको अध्यक्ष अधिकारीले बताए । उनले ब्याटमिन्टन व्यावसायिक खेलाडीहरूका लागि मात्र नभएर बालबालिकादेखि युवायुवती र उमेर ढल्केकाहरूको स्वास्थ्यका लागि पनि लाभदायक हुने भएकाले पनि व्यवस्थित कभर्ड हल आवश्यक रहेको जनाए ।
विशेष गरी ब्याटमिन्टनका लागि कभर्ड हलको निर्माण गरिने भए पनि यसलाई बहुउद्देश्यीय बनाइने जनाइएको छ । सभा सम्मेलन गर्न सकिनेदेखि भलिबल, बास्केटबल लगायतका इन्डोर खेल सञ्चालन गर्न सकिने कोर्ट निर्माण गरिनुका साथै योग र प्रणायाम गर्ने सुविधा पनि कभर्ड हलमा हुने महासचिव देवकोटाले जनाए । उनले दिएको जानकारी अनुसार कभर्ड हल निर्माणका लागि दुई करोड रूपैयाँ लाग्नेछ । जसभित्र तीन वटा ब्याटमिन्टन कोर्ट हुनेछन् । कभर्ड हल सुर्खेतको पहिचानसँग समेत जोडिने भएकाले सहयोग गर्न सबैसँग संघले आग्रह गरेको छ । संघसँग आर्थिक स्रोत नभएकाले सहयोग र अन्य गतिविधि गरी रकम सङ्कलन भइरहेको छ ।
यसैबीच कभर्ड हल निर्माणमा सघाउ पु¥याउन र आगामी कार्तिकमा हुने मध्यपश्चिम धािर्मक महोत्सव सफल बनाउन पत्रकार श्रीधर पौडेलको संयोजकत्वमा प्रचार–प्रसार समिति पनि गठन गरिएको छ । समितिको सदस्यमा सुदिप पुरी, दीपेन्द्र ओली, प्रकाश पन्त र सुशील खड्का रहेका छन् ।
साझा बिसौनी संवाददाता ।