हवाई भाडामा सरकारबाट सहुलियत
साझा बिसौनी संवाददाता
सुर्खेत, ११ माघ ।
कर्णालीका विकट जिल्लाका नागरिकलाई हवाई भाडामा सहुलियत दिने भएको छ । कर्णाली प्रदेश सरकारले हुम्ला र डोल्पाका नागरिकलाई हवाई टिकटमा सहुलियत दिने भएको हो ।
कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यातायातको पहुँचबाट टाढा रहेका जिल्लाका पूर्ण अपाङ्ग तथा ज्येष्ठ नागरिकलाई हवाई भाडामा सहुलियत दिने भएको हो । कर्णाली प्रदेश सरकारले एक करोड बजेट चालु आर्थिक वर्षका लागि विनियोजन गरेको छ । कर्णाली प्रदेशका यातायातले छुन नसकेका जिल्लाका बासिन्दालाई आवत–जावत भाडामा सहुलियत गर्ने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले बताए । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरदेखि हुम्ला र डोल्पा तथा हुम्ला र डोल्पादेखि नेपालगन्ज र सुर्खेत विमानस्थलसम्मको हवाइ भाडामा सहुलियत पाउनेछन् । डोल्पा र हुम्लाका पूर्ण अपाङ्ग तथा ज्येष्ठ नागरिकलाई प्रति टिकट एक हजारका दरले सहुलियत प्रदान गरिने मन्त्री बुढाले बताए ।
हवाइ सेवा लिएका पूर्ण अपाङ्ग तथा ज्येष्ठ नागरिकले डिभिजन वन कार्यालय हुम्ला, डोल्पा तथा प्रदेश वन निर्देशनालय सुर्खेतबाट प्राप्त गर्न सक्नेछन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव धिरेन्द्रकुमार प्रधानले डोल्पा र हुम्ला वाट नेपालगन्ज र सुर्खेतमा आउनेहरूका लागि प्रदेश वन निर्देशनालय सुर्खेतमार्फत् भुक्तानी दिइने बताए ।
हवाई यातायात सहुलियतका लागि डिभिजन वन कार्यालय हुम्ला, डोल्पा तथा प्रदेश वन निर्देशनालय सुर्खेतलाई पेश्की स्वरूप १०÷१० लाख रूपैयाँ दिइएको छ । ‘पूर्ण अपाङ्ग तथा ज्येष्ठ नागरिकहरूका लागि हवाई यातायातमा सहुलियत सम्बन्धी कार्यविधि–२०७५’ जारी भएसँगै हुम्ला र डोल्पाका पूर्ण अपाङ्ग तथा जेष्ठ नागरिकले प्रति टिकट एक हजार पाउने भएका छन् । हवाई सेवा लिने नागरिकहरूले नागरिकताको प्रतिलिपि, परिचय–पत्र र टिकटको फोटोकपी बुझाउनुपर्नेछ । कर्णालीको हवाई यातायातलाई सहज बनाउन तथा विमानस्थलहरूमा नियमित उडान गर्नका लागि सरकारले हवाई इन्धनमा सहुलियत दिनका लागि एक करोड रूपैयाँ विनियोजन गरिएको सचिव प्रधानले बताए । यसका लागि प्रदेशभित्रका विमानस्थलमा उडान गर्ने हवाइ सेवा प्रदायक संस्थासँग आवश्यक छलफल तथा समन्वय भइरहेको उनले जानकारी दिए ।
साझा बिसौनी संवाददाता ।