पोषण भत्ताले सुत्केरीलाई प्रोत्साहन

जगतदल जनाला बिक
सुर्खेत, ११ माघ ।
सुत्केरी व्यथाले च्याप्यो कि वैद्य र सुडेनी बोलाउने, विभिन्न जडिबुटी खुवाइन्थ्यो । अनुभव नभएका सुडेनी र वैद्य तथा जडिबुटीका कारण अधिकांश बच्चाबच्ची र आमासमेत असुरक्षित हुन्थे । घरमा असुरक्षित रूपमा सुत्केरी गराउने प्रवृत्ति कम हुँदै गएको छ । घरमै असुरक्षित रूपमा सुत्केरी हुने पञ्चपुरी नगरपालिकाका महिलाहरू पछिल्लो समय स्वास्थ्य संस्थामा जान थालेका छन् ।
स्वास्थ्य संस्था सुरक्षित हुने र सरकारले भत्ता दिने गरेपछि सुत्केरी हुन स्वास्थ्य संस्था जान थालिएको पञ्चपुरी नगरपालिका–५ का अमृता विकले बताइन् । ‘सरकारले स्वास्थ्यमा सुत्केरी भए वापत भत्ता दिने गरेको छ, जसले गर्दा सुत्केरी हुँदा खर्च माग्नु पर्दैन’ उनले भनिन्, ‘नगरबाटसमेत भत्ता बढाएपछि त महिलाहरूका लागि राहत नै भएको छ ।’ विगतमा घर खर्च नहुँदा सुत्केरी भएका बेला आराम गर्न समेत पाउँदैन थिए । सुत्केरीको पीडा भन्दा घर खर्च जुटाउन पीडा हुन्थ्यो, महिलालाई । तर, केही वर्षयता सरकारले यातायात वापत र सुत्केरी प्रोत्साहन वापत भत्ता दिने गरेको छ । त्यसमाथि पञ्चपुरी नगरपालिकाले समेत भत्ता वृद्धि गरेको छ ।
आर्थिक वर्ष २०७४÷०७५ बाट पञ्चपुरी नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाहरूलाई प्रोत्साहन भत्ता थप गर्ने नीति लिएको थियो । नगरपालिकाले मातृ मृत्युदर, शिशु मृत्युदर न्यूनीकरण गर्ने उद्देश्यले सुत्केरी हुन आउने महिलालाई नेपाल सरकारबाट दिइने भत्तामा थप गरेको हो । नगरपालिकाबाट प्रोत्साहन भत्ता दुई हजार वृद्धि भएसँगै गर्भवती महिलाहरू स्वास्थ्य संस्थामा आएर सुत्केरी हुन प्रेरित छन् । नगरपालिकाले बनाएको सुत्केरी प्रोत्साहन कार्यविधि अनुसार गर्भवती भएदेखि नियमित जाँच गराउने, परामर्श लिने, स्वास्थ्य संस्थामै सुत्केरी हुन आउने गरेपछि अभिलेखको अध्ययन गरी प्रोत्साहन भत्ता दिने गरिएको छ ।
केन्द्र सरकारले नियमित गर्भजाँच गराए वापत आठ सय र यातायात खर्च वापत दुई हजार रूपैयाँ दिने गरेको छ । त्यसमा नगरपालिकाले भत्ता बढाएसँगै स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्यामा वृद्धि भएको छ । पञ्चपुरी नगरपालिका स्वास्थ्य शाखाको अभिलेख अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा ६ सय ७६ जना गर्भवती महिला स्वास्थ्य संस्थामा सुत्केरी भएका छन् । चालु आर्थिक वर्षको ६ महिनामा मात्रै तीन सय ६ जना गर्भवती महिलाहरू स्वास्थ्य संस्थामा पुगेर सुत्केरी भएका छन् । केन्द्र सरकारले दिँदै आएको सुविधा नगरले थप वृद्धि गरेपछि अनिवार्य रूपमै महिलाहरू सुत्केरी हुन स्वास्थ्य संस्था पुग्ने गरेको पञ्चपुरी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख गंगादेव पुरीले बताए ।
‘एकातिर केन्द्र र स्थानीय सरकारले भत्ता दिन्छ भने अर्काेतिर स्वास्थ्य संस्थामा सुत्केरी भए सुरक्षित हुने भएकाले पनि महिलाहरू सुत्केरी हुन स्वास्थ्य संस्थामा नै पुग्छन्’ उनले भने । नेपाल सरकारले सुत्केरी प्रोत्साहन वापत दुई हजार आठ सय र नगरको सुत्केरी पोषण खर्च वापत दुई हजार गरी जम्मा चार हजार आठ सय रूपैयाँ सुत्केरीले पाउने गरेका छन् । गर्भवती महिलाले गर्भ रहेको चार महिनामा पहिलो पटक, ६ महिना, आठ महिना र नौ महिनामा गरी चार पटक जाँच गराउनुपर्छ । जस वापत केन्द्र सरकारले एक पटक गर्भजाँच गराए दुई सय रूपैयाँ दिँदै आएको छ । नगरले भने एकमुष्ठै रूपमा दुई हजार रूपैयाँ दिने गरेको छ ।
ग्रामीण बस्तीहरूमा सुत्केरी अवस्थामा पर्याप्त पौष्टिक आहार नपाउने, बालबालिकाहरू कुपोषित हुने, लगायतका समस्याका कारण आमा र बच्चाको स्वास्थ्य खतरामुक्त गर्न नगरले पोषण भत्ता दिन थालेको उप–प्रमुख मुक्ती रेग्मी पुरीले बताइन् । सुत्केरी आमा र नाबालकको औषधि उपचारका लागि सहयोग पुग्ने उद्देश्यले पनि भत्ता बढाइएको उनले बताइन् । ‘महिलाहरू यसै पनि पुरुषहरूको दाँजोमा बढी पीडित छन्, गर्भवती हुँदा राम्रो खानपान पाउँदैनन् । घरायसी कामको बोझ लगायतका थुप्रै आर्थिक, सामाजिक समस्या महिलाले नै झेल्नुपरेको हुन्छ’ उनले भनिन्, ‘महिलाहरूमा पाठेघर खस्ने, रतन्धो लगायतका स्वास्थ्य समस्यासमेत देखिन्छन् । महिलाहरू आर्थिक रूपमा सक्षम नभएकाले पनि चाहे अनुसारको जीवन जीउन पाएका छैनन् । जसमा पोषण भत्ताले केही सहयोग पु¥याउने अपेक्षा नगरको हो ।’
घरमै सुत्केरी हुँदा आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्ने स्वास्थ्यचौकी बावियाचौरकी अनमी तारा तिवारीले बताइन् । यस्तो जोखिम न्यूनीकरण गर्न र महिलाहरूलाई स्वास्थ्य संस्थामा नै पुगेर गर्भजाँच गराउनका लागि भत्ता वृद्धिले प्रोत्साहित गरेको उनले बताइन् । जसले गर्दा सुत्केरी महिला र बच्चाको स्वास्थ्यसमेत सुरक्षित हुने गरेको छ ।

प्रकाशित मितिः   १२ माघ २०७५, शनिबार १६:४४