हिमपातले जनजीवन कष्टकर
साझा बिसौनी संवाददाता
सुर्खेत, ११ माघ ।
कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा भारी हिमपात भएको छ । विगत तीन दिनदेखि लगातार हिउँ परेपछि कर्णालीका हिमाली जिल्लामा जनजीवन प्रभावित भएको छ । कर्णालीका जुम्ला, मुगु, डोल्पा र हुम्लामा शुक्रवार पनि हिउँ परेको छ । सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट, सल्यान र रुकुमका केही स्थानमा भने असिना पानीसमेत परेको छ । हिमपातसँगै लगातार वर्षा हुँदा चिसो बढेको छ ।
चिसोले हिमाली जिल्लामा दैनिकी कष्टकर बने पनि पहाडी जिल्लाका किसानहरू भने हर्षित बनेका छन् । हिउँदे बाली सप्रिने भएकाले कृषकहरू खुशी भएका छन् । हावापानी कार्यालय जुम्लाका अनुसार जुम्ला सदरमुकाम खलङ्गाको तापक्रम माइनस तीन दशमलव सात पुगेको छ । हावापानी कार्यालयका आसपुरा कार्कीले भनिन्, ‘मंगलवार परेको हिउँ पग्लिएको थियो तर, अहिले पुनः पर्न थालेको छ ।’ चिसो बढेसँगै मंगलवारदेखि व्यापार व्यवसायदेखि सरकारी कामसमेत प्रभावित भएका उनले जानकारी दिइन् ।
डोल्पा जिल्लाका विभिन्न भू–भागमा बिहानैदेखि हिमपात भएको छ । उपल्लो डोल्पामा सम्पर्कविहीन बनेको छ । त्यस क्षेत्रमा बालबालिका र वृद्धवृद्धा मात्रै बसोबास गरेको स्थानीय प्रशासनले जनाएको छ । चिसो छल्न त्यस क्षेत्रका बासिन्दाहरू सदरमुकाम वा फेदी बसाइँ सर्ने गर्छन् । तर, बालबालिका र वृद्धवृद्धा भने हिँड्न नसक्ने भएकाले उपल्लो डोल्पामा नै बस्न बाध्य छन् ।
लगातारको हिमपातले हुम्ला जिल्लाको सिमकोट विमानस्थल अवरुद्ध भएको छ । विमानस्थलमा तीन फिट हिउँ जमेपछि जिल्लामा आवत–जावतको एक मात्रै माध्यम हवाई सेवा अवरुद्ध भएको हो ।
सोमवार रातीदेखि लगातार परेको हिमपातले मंगलवारदेखि हवाई सेवा ठप्प भएको छ । बाह्य जिल्ला जान हवाई यातायातकै भर पर्नुपर्ने यस जिल्लामा हिमपातका कारण अवरुद्ध भएपछि जिल्ला बाहिर जाने र भित्रिने यात्रुहरू अलपत्र परेका छन् । हिमपातबाट जनजीवन प्रभावित भएसँगै स्थानीय प्रशासनले विमानस्थलको हिउँ हटाउन सुरु गरेको थियो । तर, हिमपात नरोकिएपछि विमानस्थलको हिउँ हटाउन अवरोध भएको छ ।
विमानस्थलमा जमेको हिउँ आधा हटाइसके पनि पुनः हिमपात सुरु भएकाले काम रोकिएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए । प्रशासनले हिउँ हटाउन जनपद प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको थियो । ‘हिजोदेखि हिउँ हटाउन लागिएको हो । आधा हिउँ त पन्छाउने काम भएको छ तर, लगातार हिमपात भइरहेको छ’ उनले भने, ‘सदरमुकाममा तीन फिट र नाम्खामा पाँच फिट हिउँ जमेको छ । लगातारको हिमपातले जनजीवन कष्टकर छ ।’ उनले हिमपात नरोकिएसम्म विमानस्थल खुल्न मुस्किल पर्ने बताए ।
हिमपात र चिसोका कारण जिल्लामा कुनै अप्रिय घटना भने घटेका छैनन् । तर, केही दिनमा हवाई सेवा सञ्चालन नभए जिल्लामा दैनिक उपभोग्य सामग्रीको अभाव हुनसक्ने सम्भावना रहेको उनले बताए । जसका लागि प्रशासनले हिमपात रोकिए लगत्तै विमानस्थलमा पुगेर हिउँ हटाउन आवश्यक संयन्त्र तैनाथ राखेको छ ।
साझा बिसौनी ।