तरुण दलले विरोध प्रदर्शन गर्ने

सुर्खेत, ११ माघ । (साबिस)
नेपाली कांग्रेसको युवा भ्रातृ संगठन नेपाल तरुण दल जिल्ला समिति सुर्खेतले केन्द्र सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ । माघ १३ गते सरकारविरुद्ध कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शन गर्ने भएको हो ।
केन्द्रको आयोजना तथा जिल्ला समितिको समन्वय विरोध प्रदर्शन गरिने वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । प्रदेशस्तरमा हुने प्रदर्शनमा कर्णालीका १० वटै जिल्लाबाट तरुण युवाको सहभागिता रहनेछ । तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टका अनुसार दुई तिहाइको सरकार अराजकता गतिविधितर्फ उन्मुख भएकोले प्रदर्शन गर्न लागिएको हो । १३ गते तरुण दलले सात वटै प्रदेशमा विरोध प्रदर्शन गर्न लागेको छ ।
सरकारले निर्मला हत्याकाण्डमा हत्यारालाई लुकाउने खोजेको, महंगी, भ्रष्टाचार बढ्दै गएको आरोप तरुण दलको छ । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतसहित केन्द्रीय कमिटीको सहभागिता रहनेछ ।