संगीतमा उदाउँदै प्रकाश

चौकुने गाउँपालिका–९ घाटगाउँ सुर्खेतमा वि.सं. २०५६ साल मंसिर २६ गते जन्मिएका प्रकाश रिजाल सानैदेखि चञ्चले स्वभावका थिए । बुबा नन्दराम रिजाल र आमा देवीधरा रिजालको कोखबाट घरको माइलो छोराको रूपमा जन्मिएका उनी पढाइमा समेत तेज थिए । सानैदेखि घरको राजनीतिक माहोलका कारण उनलाई राजनीतिक शास्त्र पढ्ने रहर थियो । तर, एसएलसी पास भएपछि भने विज्ञान विषय पढे । भविष्यमा राम्रो राजनीतिज्ञ बन्ने रहर बोकेका प्रकाशलाई संगीतमा पनि उत्तिकै रुचि छ । कसैलाई दुःख परे सहयोगको हात बढाइ हाल्ने प्रकाशसँग साझा बिसौनी सहकर्मी सीता वलीले कलेज जीवनसँग सम्बन्धित रहेर गरेको कुराकानीः
फेल हुन जानेकै छैनन्
म सानैदेखि चञ्चल स्वभावको थिएँ । बानी व्यवहार चञ्चल मात्रै होइन पढाइमा पनि म उत्तिकै तेज दिमागको थिए । त्यसैले पनि होला परिवारमा सबैले उत्तिकै साथ र सहयोग गर्नुहुन्थ्यो । मैले विरगौडा माध्यमिक विद्यालय घाटगाउँबाट निम्न माध्यमिक तहसम्मको शिक्षा हासिल गरे । त्यो बेलामा कक्षाको मात्रै होइन, विद्यालयकै टप विद्यार्थी थिएँ । मैले कक्षा आठदेखि भने वीरेन्द्रनगरको श्रीकृष्ण संस्कृत माध्यमिक विद्यालय ईत्राममा पढे । त्यो बेलामा पनि ‘टप थ्री’ मा पर्थे । मैले वि.सं. २०७१ सालमा श्रीकृष्णदेखि नै एसएलसी पास गरेको हुँ । उच्च शिक्षामा पनि साईन्स पढे । अहिले पनि मेरो पढाइ राम्रै छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा बीएसी तेस्रो सेमेष्टरमा अध्ययन गर्दैछु । जीवनमा असफल भन्ने कुराको अनुभव म सँग छैन । मनले चाहेजति काम जसले समाजलाई केही फाइदा दिन्छ भन्ने लाग्यो भने मैले गर्छु । त्यो काम कहिल्यै असफल भन्ने हुँदैन ।
मेरो कलेजको पहिलो दिन
मेरो कलेजको पहिलो दिन एकदमै रमाइलो भयो । माध्यमिक तह अध्ययन गरेकै विद्यालयबाट मेरो कलेज लाइफ सुरु भयो । त्यसैले पनि खासै एक्लोपनको महसुस गर्नुपरेन । साथीहरु चिने जानेकै थिए । कलेजबाट फर्किंदा पनि रमाइलो नै भयो । कलेजको पढाइ र विद्यालयको पढाइमा धेरै फरक पाएँ । विद्यालयमा उमेर पनि सानो हुन्छ । आमा–बुबाको आज्ञापालन गर्नुपर्ने तर कलेजमा त्यस्तो हुँदैन । आफ्नो निर्णय आफैले गर्नुपर्ने हुन्छ । कलेज लाइफ मेरो विचारमा व्यवहारिक लाइफ हो । कलेजबाहेकको समयमा राजनीति लगायतका किताबहरु र कलेजको कोर्ष गरेर तीन÷चार घण्टाभन्दा बढी नै पढिन्छ । कलेजको राम्रो पक्ष भनेको व्यवहारिक शिक्षा हुन्छ र साथीहरुसँग अनुभव आदान–प्रदान गरेर पढ्न सकिन्छ त्यो राम्रो पक्ष हो । तर, नराम्रो पक्ष खासै मैले भेटाएको छैन । फिल्म हेर्न मलाई एकदमै मनपर्छ । घुम्न पनि उत्तिकै । तर, कलेजको पढाइलाई बिगार्ने गरी कुनै पनि काम गर्दिन । बिदाको समयमा घुम्ने र फिल्म हेर्नको लागि साथीहरुसँग जान्छु । क्लास बंक पनि गरेको छु । साथीहरुसँग घुम्नको लागि होइन आफ्नो काम परेको खण्डमा क्लास बंक गरेको हुँ । कलेज लाइफमा कसैलाई मनपराइन्थ्यो । घरपरिवार, साथीसंगी र आफन्तलाई माया मार्न पनि सकिंदैन ।
आठौं वर्षमा आएको खुशी आज पनि याद आउँछ
कक्षा आठमा पढ्दै थिएँ । त्यतिबेला मैले एउटा कार्यक्रममा गीत गाएको थिए । दर्शकहरुले त्यो गीत मनपराएर मलाई चार हजार रुपैयाँ दिनुभएको थियो । त्यो दिन सम्झँदा आज पनि मन खुशी भएर आउँछ । एक पटक जागरण एफएमले जागरण आइडल सञ्चालन गरेको थियो । त्यो बेलामा पनि मैले भाग लिएँ । मलाई संगीतमा पनि उत्तिकै रुचि छ, जति राजनीतिमा छ । मैले अब छिट्टै एल्बम निकाल्ने सोचमा छु । मैले प्रायः सबै खालका गीतहरु गाउने गरेको छु । त्यसमा पनि देशभक्ति गीतमा विशेष रुचि छ । मलाई भविष्यमा कुशल राजनीतिज्ञ हुन मन छ । बुबा राजनीति गर्ने भएर पनि होला । घरको राजनीतिक वातावरणले मलाई कलेजमा राजनीति शास्त्र पढ्न मन थियो । तर, विशेष कारणले पढ्न सकिन ।
कलेजको विद्यार्थी राजनीतिमा सक्रिय रुपमा लागेको छु । राजनीति पनि समाज सेवा नै हो । त्यसमा पनि हामी मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीहरु मिलेर कालिकोटको खाराका आगलागी पीडितहरुलाई शैक्षिक सामग्री वितरण ग¥यौं । मैले कसैलाई दुःखमा देख्न सक्दिन । भविष्यमा राम्रो राजनीतिज्ञ बन्ने सपना छ । सँगसँगै संगीतलाई पनि अगाडि बढाउने छु ।

प्रकाशित मितिः   १२ माघ २०७५, शनिबार १६:४०