वीरेन्द्रनगरमै बालबालिका पढ्नबाट वञ्चित

साझा बिसौनी संवाददाता
सुर्खेत, ९ माघ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर । वीरेन्द्रनगरको मुख्य बजारसँगै जोडिएको छ, वडा नम्बर–५ चिसापानीस्थित सरस्वती टोल । यही टोलका बालबालिका बुधवार बिहान साढे ११ बजे स्थानीय खोला छेउमा जम्मा भएर खेल्दै गरेका भेटिए । विद्यालय उमेर समूहका ती बालबालिका नजिकै विद्यालय नहुँदा खेलेरै दिन बिताउँदै आएका छन् ।


‘नजिकमा विद्यालय छैनन्, केटाकेटीलाई टाढा कसरी पठाउनु’ वीरेन्द्रनगर–४ की देवु विकले भनिन्, ‘बोडिङ्ग स्कुल पढाउन सक्ने क्षमता यस टोलमा कसैको छैन ।’ वि.सं. २०७१ सालमा खोर्के खोलामा आएको बाढीले बस्ती नै सखाप पा¥यो । घर भएका ठाउँ बगर बन्यो । बगरमै टोल बसेको छ । सरकारले पुनस्र्थापनामा ढिलाइ गर्दा अधिकांश परिवार पुरानै ठाउँमा टहरा हालेर बसेका छन् । तर, २०७१ सालमै आएको बाढीले बगाएको सरस्वती बालविकास केन्द्रको भवन हालसम्म बनेको छैन । जसले गर्दा विद्यार्थी पढ्नबाट वञ्चित बनेका हुन् । ‘बाढीले वालविकास केन्द्रसहित बस्ती नै सखाप बनायो’ उनले भनिन्, ‘भवन नहुँदा बालबालिकाहरूले पढ्न पाएका छैनन्, कर्मचारीसमेत आउन छोडिसके ।’
बालबालिकाको पहुँचमा विद्यालय नभएकाले नातीलाई विद्यालयमा पठाउन नपाएको गुनासो उनको छ । उनका पाँच वर्षका नाती छन्, अभिशेक । विद्यालय नजिक नभएपछि उनी अन्य बालबालिकासँग खेलेरै दिन विताउने गरेका छन् । निजी विद्यालय पढाउन सक्ने आर्थिक अवस्था नभएको देवुले बताइन् । ‘उमेर त विद्यालय जाने हो तर, के गर्नु’ उनले भनिन्, ‘अहिलेको साल यस्तै भयो, आफै विद्यालय गएर फर्किन सक्ने भए पठाउँला सोचेका छौं ।’
सरस्वती टोलदेखि नजिक कुनै पनि सामुदायिक विद्यालय छैनन् । चिसापानीस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय पुग्नै बालबालिकालाई करिब पौने घण्टा लाग्छ । भैरवस्थानस्थित रहेको माध्यमिक विद्यालयमा पुग्न त्यति नै समय लाग्छ । बालबालिका आफै विद्यालय पुगेर घर फर्किन सक्ने अवस्था नभएको उनले बताइन् । पाँच वर्षमुनीका बालबालिकाका लागि बालविकास केन्द्र टोलमा सञ्चालन गर्न सकिन्छ । तर बालविकास केन्द्र सञ्चालन नहुँदा बालबालिका पढ्नबाट वञ्चित भएका छन् ।
अविशेक मात्रै होइन्, त्यस टोलमा रहेका विद्यालय जाने उमेरका बालबालिकाहरू शिक्षा पाउनबाट वञ्चित छन् । टोलमा ४८ घरधुरी छन् । २५ जना बालबालिका बालविकासमा अध्ययन गर्ने उमेरका रहेको सरस्वती टोल विकास संस्थाका अध्यक्ष ललितबहादुर शाहीले बताए । तर, आवश्यक संरचना निर्माण नहुँदा टोलमा रहेको बालविकास केन्द्र कागजमा मात्रै सीमित छ । स्थानीयबासीको आवश्यकता महसुस गरी २०६६ सालमा बालविकास केन्द्र स्थापना गरिएको थियो । अस्थायी छाप्रोबाट बालबालिका अध्ययन थालिएको त्यस बालविकास केन्द्रका लागि ऐलानी जग्गा उपलब्ध गराइएको थियो ।
वि.सं. २०७३ सालमा नगरपालिकाले एक लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो । सोही बजेटबाट एक कोठे भवन निर्माण थालिएको बालविकास केन्द्र व्यवस्थापन समितिका अध्यक्ष डिल्लीप्रसाद आचार्यले बताए । तर उक्त भवन पनि अलपत्र जस्तै छ । पर्याप्त बजेट नहुँदा भवन निर्माण अलपत्र परेको छ । ‘बजेट अभावले बालविकास केन्द्रको भवन निर्माण गर्न सकिएन’ अध्यक्ष आचार्यले भने, ‘वडापालिकालेसमेत बजेट विनियोजनमा कुनै वास्ता गरेन । भौतिक संरचना नहुँदा यहाँका बालबालिका शिक्षा पाउनबाट वञ्चित छन् ।’ संविधानले गुणस्तरीय शिक्षा पाउने अनिवार्य हक दिए पनि प्रदेश राजधानी कै बालबालिकाहरूले विद्यालय जान पाएका छैनन् ।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मातहतमा रहेको उक्त बालविकासको भवन नभएपछि बालविकासकी शिक्षिका बालकुमारी विक अर्को बालविकास केन्द्रमा पढाउँछिन् । ‘विद्यालयको भवन र सुविधा नभएपछि यही विद्यालय अन्तर्गतकै अर्को बालविकासमा पढाउँछु’ उनले भनिन्, ‘पहिले जग्गा भएन, अहिले भवन छैन । चौरमा राखेर बालबालिकालाई पढाउन सकिएन ।’
यता, शिक्षा विकास समन्वय इकाई सुर्खेतका भोजप्रसाद लम्सालले जिल्ला तहमा मर्मतका लागि बजेट नभएको बताए । ‘मर्मत सम्भारको बजेट स्थानीय र प्रदेश सरकारसँग मात्रै छ’ उनले भने,
‘गत वर्षसम्म भवन आवश्यक छ भन्ने बारेमा कुनै जानकारी नै आएन । नगर शिक्षा समन्वय शाखामा निवेदन दिए, भवन मर्मतका लागि बजेट व्यवस्था गर्नसक्ने अवस्था होला ।’ वीरेन्द्रनगर नगरशिक्षा समन्वय ईकाइका प्रमुख गजेन्द्र जिसीले नगरबाट वडामा दामासायी रूपमा बजेट विनियोजन गरिएको बताए । उनले नगरमा भवन आवश्यकताका लागि कुनै जानकारी नआएको बताए । ‘भवन नहुँदा बालबालिकाले पढ्न पाएनन् भने प्रदेश सरकारले नि सहयोग गर्नसक्छ’ उनले भने, ‘यो वर्ष नगरमा बजेट माग गरे अर्काे आर्थिक वर्षमा वडालाई विनियोजनका लागि भन्न सकिन्छ ।’