फागुनमा क्यान मेला

साझा बिसौनी संवाददाता
सुर्खेत, १० माघ ।
कर्णाली प्रदेशस्तरीय क्यान इन्फोटेक मेला फागुनमा सञ्चालन हुने भएको छ । कम्प्युटर एशोसियशन अफ नेपाल महासंघ (क्यान) सुर्खेतले आउँदो फागुन २४ गतेदेखि २८ गतेसम्म वीरेन्द्रनगरमा मेला आयोजना गर्न लागेको हो । नेपालमा भित्रिएका नविनतम् प्रविधिहरूको प्रदर्शनी गर्ने उद्देश्यले मेला सञ्चालन हुने भएको हो ।
मेला अवधिभर आईसीटी कन्फ्रेन्स, आईटी वर्कसप, डिजिटल कर्णालीका लागि स्मार्ट प्रविधि विषयमा सेमिनार सञ्चालन गरिनेछ । इन्फोटेकमा अन्तरविद्यालय प्रविधि प्रदर्शनी हुनेछ । टिकट व्यवस्थित गर्न आईएमई पेमार्फत् अनलाईन टिकटको व्यवस्था गरिनेछ । इन्फोटेक अवलोकनका लागि विद्यार्थी विद्यालयको पोशाक र परिचयपत्रका साथमा आएमा निःशुल्क प्रवेशको व्यवस्था मिलाउनेछ । तर परिचय–पत्र मात्रै भएमा ५० प्रतिशत छुटको व्यवस्था दिनेछ ।
इन्फोटेकमा करिब ७० वटा स्टल रहने क्यान सुर्खेतका अध्यक्ष प्रेमप्रकाश चन्दले बताए । मेला करिब एक लाख बढी
दर्शकहरूले अवलोकन गर्ने अपेक्षा लिइएको छ । मेलाबाट कर्णाली प्रदेशमा सूचना सञ्चार र प्रविधिमा जानकारी, प्रचार–प्रसारका साथै व्यापार प्रवद्र्धनमा समेत टेवा पुग्ने उनले बताए ।
इन्फोटेक सञ्चालनका लागि करिब ३६ लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको क्यान महासंघ कर्णाली प्रदेश अध्यक्ष पूर्णदेव अधिकारीले बताए । मेलाको उद्घाटन कर्णाली प्रदेशमै पहिलो पटक रोबोटबाट गर्ने तयारी भइरहेको जानकारी दिए । कर्णाली प्रदेशका १० वटै जिल्लाको सहभागिता रहनेछन् ।

प्रकाशित मितिः   ११ माघ २०७५, शुक्रबार १६:२१