विद्यालयद्वारा पशु स्वास्थ्य क्लिनिक सञ्चालन

साझा बिसौनी संवाददाता
सुर्खेत, १० माघ ।
सुर्खेतको वीरेन्द्रनगर ११ धुलियाविटमा रहेको शिव माध्यमिक विद्यालयले पशु स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको छ । १८ महिने पशु विज्ञान विषयमा अध्यापन गराइरहेको विद्यालयले स्वास्थ्य क्लिनिक सञ्चालन गरेको हो ।
विद्यार्थीहरूको शिक्षण सिकाइमा सहजताका लागि र गाउँका कृषकलाई सस्तो र सुर्लभमा सेवा दिनका लागि पशु स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको विद्यालयका प्रध्यानाध्यापक पूर्णप्रसाद पौडेलले जानकारी दिए । कृषकहरूलाई पशु स्वास्थ्य सम्बन्धी निःशुल्क प्राविधिक सल्लाह, सबै पशुहरूको स्वास्थ्य परीक्षण, औषधि कृत्रिम गर्भाधारण लगायतका सेवा दिने जनाएको छ । ‘विद्यालयले विद्यार्थीहरूको पढाइमा पनि सहयोग पुग्ने र अभिभाकहरूलाई पनि सेवा दिने उद्देश्यले पशु स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएका हौं’ विद्यालयका प्रध्यानाध्यापक पौडेलले भने, ‘हामीले यसका लागि पशु डाक्टर पनि व्यवस्था गरेका छौं । अब कृषिहरूलाई टाढा जानुपर्ने बाध्यता हट्नेछ ।’
उनले अब विद्यालयले छिट्टै गाइ फर्म लगायतका पशुपालन फर्महरू सञ्चालनको तयारीमा लागेको बताए । पशुविज्ञान विषय पढिरहेका विद्यार्थीहरूलाई विद्यालयले तीन प्रतिशत ऋण दिएर पशुपालन व्यवसायमा लगाउने योजना रहेको जानकारी उनले दिए । आगाामी वर्षमा पशु विज्ञान विषयमा तीन वर्षीय कार्यक्रम पनि सञ्चालन गरिने जनाइएको छ ।
अहिले १८ महिने पशु विज्ञान विषयमा ३५ जना विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् । सुर्खेतसहित जुम्ला, डोल्पा, कालिकोट, हुम्ला र जाजरकोटका विद्यार्थी अध्ययनरत छन् । वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले अबको शिक्षा प्राविधिक र व्यवहारिक हुनुपर्ने भन्दै यसमा विद्यालयले राम्रो काम गरेको प्रशंसा गरे । उनले विद्यालयको स्रोत साधनका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने पनि प्रतिबद्धता जनाए । विद्यालयले घरनजिकै पशु स्वास्थ्य क्लिनिक सञ्चालन गरेपछि आफूहरूलाई सहयोग पुग्ने भन्दै अभिभावकहरू खुशी भएका छन् ।

प्रकाशित मितिः   ११ माघ २०७५, शुक्रबार १६:२८