‘तीन दिनभित्र ठोस योजना पेश गर्नु’

साझा बिसौनी संवाददाता
सुर्खेत, ९ माघ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन दिनभित्रमा बजेट कार्यान्वयनको ठोस योजना बनाएर पेश गर्न सचिवहरूलाई निर्देशन दिएका छन् । बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर विषयगत मन्त्रालयका सचिवहरूलाई यस्तो निर्देशन दिएका हुन् ।
चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा ढिलाइ भएपछि मुख्यमन्त्रीले चासो देखाएका हुन् । बुधवार सबै मन्त्रालयका सचिवहरूलाई बोलाएर मुख्यमन्त्री शाहीले वजेट कार्यान्वयनलाई तीव्र गतिमा अगाडि बढाउन निर्देशन दिएका हुन् । मुख्यमन्त्रीशाहीले भने, ‘जनतालाई परिणामसँग सरोकार छ, प्रक्रियासँग होइन । सरकारको सोच बमोजिम जनताले अनुभूति गर्ने गरी परिणाममुखी काम गर्नुस् ।’
मन्त्रालयका सचिवबाट बजेट कार्यान्वयनको प्रगति, कार्यान्वयनमा देखापरेका चुनौती र आगामी योजनाको अवस्थाबारे जानकारी दिएपछि मुख्यमन्त्री शाहीले बजेट कार्यान्वयनको समय सीमासहितको ठोस कार्ययोजना तीन दिनभित्र पेश गर्न निर्देशन दिए । उनले कार्यान्वयन गर्न नसकिने, संशोधन गर्नुपर्ने र नीतिगत समस्या सामाधान गर्नुपर्ने योजनाहरूको विवरण समेत पेश गर्न निर्देशन दिएका छन् ।
प्रादेशिक संरचना नयाँ भएको र कुनै पनि संरचना नभएको अवस्थामा प्रदेश सरकारको संस्थागत गर्न सचिवहरूले महŒवपूर्ण भूमिका खेलेको भन्दै मुख्यमन्त्री शाहीले धन्यवाद दिए । मुख्यमन्त्री शाहीले भने, ‘सरकार सञ्चालन र संस्थागत गर्न तपाईंहरूले ठूलो मेहेनत गर्नुभएको छ, फाइल र कलम समेत आफैले किनेर जसरी मन्त्रालय चलाउनुभयो यसको मूल्यांकन इतिहासले गर्नेछ ।’ कर्मचारी समायोजनपछि सरकार अझै व्यवस्थित हुने अपेक्षा व्यक्त गर्दै मुख्यमन्त्री शाहीले समायोजनको चिठ्ठी हातमा नपरुन्जेलसम्म मन्त्रालयको काममा दत्तचित्तका साथ लाग्न सचिवलाई आग्रह गरे ।
सचिवहरूले मुख्यमन्त्री शाही समक्ष बजेट कार्यान्वयनका लागि मातहतका निकायमा अख्तियारी पठाइएको, योजना छनौटको लागि सूचना प्रकाशन गरिएको, कतिपय योजनाको सम्झौता भइ कार्यान्वयनमा गएको, कतिपय योजनाको सर्भे भइरहेको र कतिपय योजना छनौैटको चरणमा रहेको प्रगति विवरण पेश गरेका छन् । त्यसैगरी सचिवहरूले मन्त्रालयमा प्राविधिक जनशक्तिको अभाव रहेको, ऋण र आन्तरिक राजश्वमा रहेको बजेटको स्रोत सुनिश्चित नभएको लगायतका समस्या राखेका छन् ।

प्रकाशित मितिः   १० माघ २०७५, बिहीबार १६:२१