अपाङ्गता भएकाहरूको पक्षमा प्रतिबद्ध

वीरेन्द्रनगर नगरपालिका–७ ईत्रामका विष्णुप्रसाद शर्मा वि.सं. २०२९ साल वैशाख १३ गते डुङ्गेश्वर गाउँपालिका–१ दैलेखमा जन्मिएका हुन् । बुबा कृष्णलाल शर्मा र आमा अमृता शर्माको कोखबाट घरको माइलो छोराको रूपमा जन्मिएका उनी सानैदेखि विद्रोही स्वभावका थिए । ब्राम्हण परिवारमा जन्मिएका विष्णुले परिवारकै कारण जातीय विभेदलाई नजिकबाट नियाल्न पाए । त्यसैले उनले राजनीतिबाटै जातीय विभेदको अन्त्य गर्ने अठोट गरे । जन्मेको दुई वर्षमा पोलियोको कारण दाहिने खुट्टामा समस्या भए पनि आफूमा अपाङ्गताको महसुस नगरेका विष्णुलाई वि.सं. २०५२ सालमा अपाङ्गताको महसुस भयो । त्यसपछि जीवनको उद्देश्यलाई मोडेर अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका शर्माले आफ्नो पेसागत जीवनका कथा हाम्रा सहकर्मी सीता वलीसँग यसरी सुनाएः

म सानैदेखि एकदमै विद्रोही स्वभावको थिएँ । विशेष गरी जातीय विभेदका विरुद्धमा म सधैं लागिरहेन्थें । म ब्राम्हणको छोरो, मेरा साथीहरु प्रायः दलित समुदायका थिए । बुबा–आमाले तिनीहरुसँग संगत नगर्नको लागि पटक–पटक भन्नुहुन्थ्यो तर मैले मान्दैनथें । त्यसैको प्रभावले पनि होला मलाई राजनीतिमा संलग्न हुन मन लाग्यो ।
भविष्यमा राजनीति गरेर जातीय विभेदका विरुद्धमा लड्ने मेरो उद्देश्य बन्यो । वि.सं. २०४७ सालमा म जनकल्याण माध्यमिक विद्यालय शेर्माकोट दैलेखको अनेरास्ववियु अध्यक्ष पनि भएँ । बुबा भारतमा नोकरी गर्ने, आमा भने घरमै खेती किसान गर्नुहुन्थ्यो ।
ब्राम्हणको चलन भागेर विवाह गर्न त्यति राम्रो नमान्ने त्यसैले मेरो विवाहको कुरा घरमा चल्यो वि.सं. २०५२ सालमा नाम त नभनौं उनको र मेरो प्रेम थियो । विवाहको लागि उनलाई माग्न जाँदा उनको बुबाले त्यस्तो अपाङ्गको खुट्टा धोएर कसरी जल खाने भन्नुभयो । त्यसपछि मात्रै म मा अपाङ्गता रैछ भन्ने कुरा थाहा भयो ।
मलाई सानैदेखि साथीहरुले खुब साथ दिन्थे । बल्लोपल्लो गाउँमा दोहोरी गीत गाउन गइन्थ्यो । काम सबै गर्नसक्ने ममा अपाङ्गता छ भन्ने मलाइ नै थाहा थिएन । जब विवाहको लागि केटी माग्न गइयो बल्ल थाहा भयो म मा अपाङ्गता रैछ । त्यसपछि मेरो जिबनले अर्कै मोड लियो । मेरो भविष्यको योजना परिवर्तन भयो । मलाई लागेको थियो हाम्रो समाजमा जातीय विभेद मात्रै छ भन्ने । आफैलाई परेपछि थाहा भयो समाजमा शारीरिक विभेद पनि उत्तीकै रहेछ । अपाङ्गगता भएका व्यक्तिहरुले केही गर्न सक्दैनन् र उनीहरु कमजोर हुन्छन् भन्ने भावना आम समाजमा रहेछ । त्यसैले वि.सं. २०५२ सालदेखि निरन्तर अपाङ्गताका क्षेत्रमा काम गर्दै आएको छु ।
मैले सुरुमा अपाङ्ग समाज सुर्खेतको सदस्यता लिएँ । केही वर्ष त्यही काम गरेपछि वि.सं. २०६१ सालमा अपाङ्ग सशक्तीकरण केन्द्रको स्थापना गरी
आजसम्म यो स्थानमा आइपुगेको छु । अहिले म राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशको अध्यक्षको रुपमा समेत काम गर्दै आएको छु ।
यो क्षेत्रमा काम गर्न खासै अप्ठ्यारो छैन तर समाजको दुष्टिकोण अप्ठ्यारो छ । तर पनि म निरन्तर रुपमा यही क्षेत्रमा काम गर्दै आएको छु । हामीहरुले अपाङ्गता भएका बालबालिकाहरुलाई शिक्षा, अपाङ्गता भएका व्यक्तिहरुलाई कृत्रिम हातखुट्टा दिने र विभिन्न अभिमुखीकरणका कामहरु गर्दै आएका छौं । मलाई एकदमै खुशी लाग्छ । मेरो पेसाप्रति म सन्तुष्टि छु । समाजसेवाको एउटा पाटोमा काम गर्ने अवसर मिलेको छ । परिवारको पनि उत्तिकै साथ र सहयोग छ ।
मेरो विवाहको कुरा गर्दा जतिबेला मैले मनपराएकी केटी माग्न उसको घरमा गएँ, २०५२ सालमा उनको बुबाले मलाई छोरी दिन नमानेपछि हतारमा त्यो दिनको भोलिपल्ट अर्कै ठाउँबाट विवाह गरें । उनीसँग हुन् । विवाह भएको करिब २३ वर्ष भयो अहिलेसम्म कुनैपनि कुरामा झगडा भएको छैन । नबोलेर हामी बस्नै सक्दैनौं । विवाह हतारमा भए पनि सम्बन्ध भने एकदमै राम्रो छ । मेरो परिवारमा अहिले पाँच जना सदस्य छौं । दुई जना बच्चा हामी बुढाबुढी र बुबा हुनुहुन्छ ।
जीवनमा सानातिना सुख दुःखका क्षणहरु त आउँछन्–जान्छन् तर मैले भोगेको दुःख पटक–पटक मस्तिष्कमा आउँछ । एकपटक जिल्ला विकास समिति सुर्खैतमा जागीर खुलेको थियो र मैले पनि आवेदन दिएको थिएँ । तर त्यहाँको कर्मचारीले तपाईंमा अपाङ्गता छ कसरी काम गर्नुहुन्छ र भन्ने कुरा गर्नुभयो । त्यो दिन सम्झदा दुःख लाग्छ । अर्को दुःखको क्षण विवाहको लागि केटी माग्न जाँदा केटीको बुबाले भनेको शब्द पनि आजसम्म कानमा गुञ्जिन्छ ।
खुशीको क्षणको कुरा गर्दा सन् २००९ मा भीएसओले नेपालभरका सात जनालाई थाइल्याण्ड घुम्नको लागि लगेको थियो । त्यो बेलामा म पनि मध्य तथा सुदूरपश्चिमबाट जाने अवसर पाएको थिएँ । त्यो दिन मेरो खुशीको क्षण हो । तर म अपाङ्गता भएका व्यक्तिको ओठमा हाँसो देख्दा खुशी हुन्छु । अब जीवनमा खासै केही ठूलो योजना छैन । तर कर्णालीका अरु सामान्य व्यक्तिहरुले जस्तै अपाङ्गता भएका व्यक्तिहरुले पनि सेवा सुविधा पाएको भए हुन्थ्यो । यस विषयमा सरकारको ध्यान जाओस् । अपाङ्गता भएका व्यक्तिहरुका लागि राज्यले समावेशीकरण र उत्प्रेरणाका कामहरु गरिदिनुपर्छ ।

प्रकाशित मितिः   ९ माघ २०७५, बुधबार १६:१०