जथाभावी फोहोर गरे जरिवाना

बन्यो फोहोर व्यवस्थापन कार्यविधि

साझा बिसौनी संवाददाता
सुर्खेत, ८ माघ ।
वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा फोहोर व्यवस्थापनमा कडाइ गरिने भएको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा दिन प्रतिदिन फोहोर बढ्दै जान थालेपछि त्यसको दीर्घकालीन व्यवस्थापनका लागि कार्यविधि नै तयार पारिएको छ । वीरेन्द्रनगर–६ को वडा कार्यपालिकाले आवश्यक
कार्यविधि बनाएको हो । वडा कार्यपालिकाले बनाएको ‘फोहोरमैला व्यवस्थापन कार्यविधि–२०७५’ नगर कार्यपालिकाबाट पनि पारित भएको छ ।
कार्यविधि पारित भएसँगै लागू पनि गरिएको छ । अब वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा जथाभावी फोहोर फाले जरिवाना तिर्नुपर्नेछ । कार्यविधिले पैदल यात्रुदेखि फुटपाथ व्यापारीसम्मलाई फोहोर व्यवस्थापन नगरे जरिवाना तोकेको छ । कार्यविधि अनुसार पैदल तथा सार्वजनिक यातायातका यात्रुले चुरोट तथा सूर्तिजन्य वस्तुसहित कुनै पनि फोहोर जथाभावी फालेमा कसूर गरेको ठहरिनेछ । पान, पुकार र गुट्खा जस्ता सूर्तिजन्य पदार्थ जथाभावी फालेर कसूर गरे नगरपालिका वा सम्बन्धित वडाले प्रत्येक पटक एक सय रूपैयाँ जरिवाना गर्नेछ ।
एउटै व्यक्तिले सोही कसूर दोहो¥याएमा वा पटक–पटक गरेमा एक सय रूपैयाँ जरिवाना वृद्धि गर्न सक्नेछ । तोकिएको स्थानबाहेक अन्य ठाउँमा फोहोर फाले पाँच सय रूपैयाँ पहिलो पटक जरिवाना लाग्नेछ । गल्ती दोहो¥याउँदै गए जरिवाना दोब्बर गर्ने र फोहोरमैला उठाउन लाग्ने खर्चसमेत नगर वा वडाले असुल उपर गर्नेछ ।
संकलन गरिएको फोहोर अनाधिकृत तवरले प्रयोग गरे पाँच सयदेखि तीन हजारसम्म जरिवाना तोकिएको छ । यस्तै, फोहोर संकलनका लागि प्रयोग गरिएका सवारीमाथि तोडफोड गरे, क्षति पु¥याए वा फोहोर संकलन केन्द्रमा नोक्सानी पु¥याए पाँच सयदेखि २५ हजारसम्म जरिवाना तिर्नुपर्नेछ । सवारी साधन संकलन केन्द्र व्यवस्थापन गर्न लाग्ने खर्चसमेत असुल उपर गरिने व्यवस्था कार्यविधिमा छ ।
अनुमति नलिइ फोहोरमैला व्यवस्थापन गर्ने र अनुमति–पत्रमा उल्लेखित शर्तहरू उल्लंघन गरे पाँच हजारदेखि २५ हजारसम्म जरिवाना तोकिएको छ । अनुमति नलिएसम्म फोहोर उठाउन रोक लगाउने र समयमा फोहोर संकलन नगरे जरिवानाका अलवा अतिरिक्त खर्च सम्बन्धित पक्षबाट असुली गर्ने व्यवस्था लागू गरिएको छ ।
फोहोरमैला फाल्ने ठाउँमा हानीकारक पदार्थ फाले वा थुपारेमा दुई हजार पाँच सयदेखि १० हजारसम्म जरिवाना हुनेछ । यस्तै, जनस्वास्थ्यमा असर पर्ने गरी सडक वा सार्वजनिक स्थानमा हानीकारक वस्तु फालेमा पाँच हजारदेखि ५० हजारसम्म जरिवाना तोकिएको छ । फोहोरमैला व्यवस्थापनमा अवरोध गर्ने, हड्ताल गरे पाँच हजारदेखि २५ हजार, सरकारले प्रतिबन्ध लगाएको वस्तु उत्पादन तथा बिक्री वितरण गरे पाँच हजारदेखि १० हजार रूपैयाँसम्म जरिवाना कार्यविधिले तोकेको छ । फोहोर मैला व्यवस्थापन ऐन–२०६८ बमोजिम तीन महिनासम्म कैद वा दुवै सजाय गर्न सिफारिस गरिनेछ ।
फोहोरमैला व्यवस्थापन सम्बन्धी कसूर गरेको ठहरिएमा पाँच हजारसम्मको जरिवाना वडा समितिको कार्यालय र त्यो भन्दा माथिको जरिवानाका हकमा नगरपालिकासँग वडाले प्रस्ताव गर्नुपर्नेछ । घरपालुवा पशुचौपाय छाडा छोड्ने वा अनुमति विना व्यवसाय सञ्चालनमा पनि कार्यविधिले कडाइ गरेको छ । अब कसैले छाडा पशुचौपाय छोडेमा प्रति पशु पाँच सय रूपैयाँ र फर्मका हकमा दुई हजार पाँच सय रूपैयाँ जरिवाना लाग्नेछ । फर्मबाट छाडा छोडिएका पशुचौपाय हटाउन ३५ दिनको समय दिने र अटेरी गरे तीन महिनासम्म पाँच हजारका दरले जरिवाना लगाइनेछ ।
फोहोर उठाए वापत शुल्क
अब वीरेन्द्रनगर–६ भित्रका घरबाट फोहोर उठाए वापत घरधनीबाट शुल्क लिइने भएको छ । वडा कार्यालयले सेवा शुल्कवापत मासिक रूपमा व्यक्तिगत घर, व्यापार, व्यवसाय, पसलका लागि पनि फोहोर व्यवस्थापन शुल्क तोकेको छ । कार्यविधि अनुसार प्रति घरधुरी मासिक ५० देखि एक सय रूपैयाँ तिर्नुपर्नेछ । नर्सिङ्ग होमले तीन हजारदेखि पाँच हजार, होटेल व्यवसायीले तीन हजारदेखि पाँच हजार रूपैयाँ फोहोर व्यवस्थापन वापत सेवा शुल्क तिर्नुपर्नेछ ।
सेवा शुल्कबाट प्राप्त भएको रकमलाई आम्दानीका रूपमा लिइने छ । सेवा शुल्कको छुट्टै हिसाब राखी सञ्चित कोष खडा गरिनेछ । जसबाट आवश्यक मापदण्ड तयार पारी फोहोरमैला व्यवस्थापन, वातावरणीय संरक्षण तथा फोहोरमैला व्यवस्थापन स्थल प्रभावित क्षेत्रको विकासमा वडा समितिको कार्यालयले खर्च गर्नेछ । मासिक रूपमा सेवा शुल्क नबुझाउने सेवाग्राहीको फोहोरमैला व्यवस्थापन सम्बन्धी नगर वा वडाबाट उपलब्ध हुने सेवा रोक्ने व्यवस्था नयाँ कानुनमा गरिएको छ ।
सेवा निलम्बनमा परे घरबाट उत्पादन हुने फोहोरको व्यवस्थापनसमेत घरधनीले गर्नुपर्नेछ । सार्वजनिक स्थलहरूमा वडापालिकाले नै फोहोर व्यवस्थापनका लागि डस्टविनहरू राख्ने वडा अध्यक्ष मोतिप्रसाद कँडेलले बताए । उनले एक जना सरसफाइ निरीक्षक तोकेर सरसफाइका गतिविधि माथि निगरानी बढाइने बताए । फोहोर व्यवस्थापनमा योगदान गर्ने, जथाभावी फोहोर राख्ने, थुपार्ने, व्यक्तिको बारेमा प्रमाणसहित उजुरी दिने व्यक्तिलाई वडाले नगद पुरस्कारसहित सम्मान गर्ने योजना बनाएको अध्यक्ष कँडेलले जानकारी दिए ।

प्रकाशित मितिः   ९ माघ २०७५, बुधबार १६:०६