अब सुर्खेतबाटै श्रम स्वीकृत्

साझा बिसौनी संवाददाता
सुर्खेत, ६ माघ ।
कर्णालीका नागरिकले अब श्रम स्वीकृति लिनका लागि काठमाडौं धाउनु नपर्ने भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरबाटै श्रम स्वीकृति दिने कार्य सुरु भएको छ ।


वैदेशिक रोजगारीमा पुगेर फर्किएकाहरूले पुनः सोही देशमा रोजगारीका लागि जाँदा लिनुपर्ने श्रम स्वीकृति सुर्खेतबाटै हुने भएको हो । वीरेन्द्रनगरमा स्थापना गरिएको श्रम तथा रोजगारको कार्यालयले आइतवारदेखि श्रम स्वीकृति दिने सेवा सुरु गरेको हो ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले लामो समयदेखि साउदीमा रोजगारी गर्दै आएका सुर्खेतका ललित घर्तीलाई पुनः श्रम स्वीकृति प्रदान गर्दै सेवा प्रारम्भ गरेका हुन् । मन्त्री रावलले आइतवार आवश्यक प्राविधिक कुराहरूको व्यवस्थापन भइसकेका कारण प्रदेशस्तरबाटै पुनः श्रम स्वीकृति प्रदान सेवा सुरु गरेको बताए । यो सेवा पहिले वैदेशिक रोजगारीमा गएर फर्केका र पुनः त्यही देशमा जान चाहनेहरूका लागि हो । उनले युवाहरूलाई बैदेशिक रोजगारीमा पठाउनु राम्रो नभए पनि तत्काल देशमा रोजगारी नभएको अवस्थामा वैदेशिक रोजगारीमा जानेहरू पनि दक्ष बनाएर पठाउनुपर्ने बताए ।
मन्त्री रावलले सुरुवातीमा पुनः श्रम स्वीकृतिको सेवा प्रारम्भ गरे पनि आगामी दिनमा सबै काम प्रदेशबाट नै गरिने बताए । पहिलो पटक प्रदेशबाटै पुनः श्रम स्वीकृति पाएपछि सेवाग्राही ललित घर्तीले आफुले स्वीकृतिकै लागि दशैं हजार खर्चेर राजधानी जाने बाध्यता हटेको बताए । कार्यालयका निमित्त वरिष्ठ श्रम अधिकृत श्याकृष्ण आचार्यका अनुसार आइतवार नै आधा दर्जनभन्दा बढीले प्रदेश कार्यालयबाट पुनः श्रम स्वीकृति लिएका छन् ।

प्रकाशित मितिः   ७ माघ २०७५, सोमबार १३:२९