चितुवाको छालासहित एक जना पक्राउ

साझा बिसौनी संवाददाता
सुर्खेत, ६ माघ ।
चितुवाको छालासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रदेश नम्बर पाँचको अपराध अनुसन्धान ब्यूरो र सुर्खेत प्रहरीको समन्वयमा आइतवार दिउँसो सुर्खेतबाट छालासहित एक जनालाई पक्राउ गरिएको हो ।


पक्राउ पर्नेमा कालिकोट जिल्लाको रास्कोट नगरपालिका–४ सिउनाका २९ वर्षीय टंकप्रसाद उपाध्याय रहेको अनुसन्धान ब्यूरोका इन्चार्ज प्रहरी निरीक्षक बोधराज रेग्मीले जानकारी दिए । आइतवार दिउँसो साढे तीन बजे वीरेन्द्रनगर–३ यरीचौकबाट उनलाई नियन्त्रणमा लिइएको हो ।
चितुवाको छलासहित होटलमा बसिरहेको सूचना पाएपछि ब्यूरोको टोली रेग्मीको नेतृत्वमा उनलाई पछ्याउँदै सुर्खेत पुगेको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतसँगका समन्वयमा प्रहरी आफै खरिदकर्ता बनेर उपाध्यायलाई भेट्न पुगेका थिए । स्थानीय एक होटलमा बसिरहेका उपाध्यायलाई छाला देखाउन आग्रह गरे पनि रकमको कुरा पक्का भएपछि मात्रै दखाउने बताए ।
उनले भने अनुसारकै रकम दिने भनेपछि लुकाएर राखेको दुई थान छाला प्रहरीलाई देखाएका थिए । त्यसपछि टंकप्रसाद उपाध्यायलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
उपाध्यायको साथबाट दुई थान छाला बरामत गरिएको छ । एउटा सानो चितुवा र अर्को वयस्क चितुवाको छाला बरामत गरिएको हो । उपाध्यायमाथि थप अनुसन्धान भइरहेको सुर्खेत प्रहरी प्रवक्ता तथा डीएसपी प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए ।

प्रकाशित मितिः   ७ माघ २०७५, सोमबार १३:२७