चन्दा असुल्न खोज्ने पक्राउ

साझा बिसौनी संवाददाता
सुर्खेत, ५ माघ ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शनिवार सुर्खेत जिल्ला बन्दको आव्हान ग¥यो । जसका कारण दिनभर सवारी साधन सञ्चालन हुन सकेनन् भने बन्दको अवज्ञा गरेको भन्दै दुई वटा माहबाहक गाडी जलाइयो । यो आतंकपूर्ण बन्दको कारण अपहरण तथा शरीर बन्धक मुद्दासँग जोडिएको पाइएको छ ।
सुर्खेतका एक व्यवसायीबाट चन्दा असुल्न खोज्दा आफ्ना दुई जना कार्यकर्ता पक्राउ परेपछि नेकपाले बन्दको आव्हान गरेको हो । टेलिफोनमार्फत् धम्क्याएर चन्दा असुल्न खोज्ने विप्लव समूहका दुई जना कार्यकर्ता यतिबेला प्रहरीको नियन्त्रणमा छन् । पार्टीको भेरी ब्यूरो सदस्य गोविन्द योगी र विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी सुर्खेतका अध्यक्ष कमल बुढालाई प्रहरीले गत पुस २२ गते पक्राउ गरेको थियो ।
पटक–पटक फोनमार्फत् चन्दा माग्ने र धम्की दिन थालेपछि ती व्यापारीले प्रहरीलाई खबर गरेका थिए । फोनमार्फत् चन्दा मागेका उनीहरू व्यापारीका घरबाट नै पक्राउ परेका हुन् । पार्टी सञ्चालनका लागि रकम चाहिएको भन्दै चन्दा लिन व्यापारीकै घर पुगेका बेला प्रहरीले योगी र बुढालाई नियन्त्रणमा लिएको थियो । उनीहरूले ती व्यापारीसँग तीन लाख रूपैयाँ चन्दा मागेका थिए । पक्राउ परेका दुवै जनालाई अपहरण तथा शरीर बन्धक सम्बन्धी मुद्दा दर्ता गरेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रहरीले आपराधिक गतिविधिमा संलग्नताबारे अनुसन्धान थालिरहेका बेला विप्लव समूहले शनिवार बन्द आव्हान गरेको हो । पछिल्लो समय सुर्खेतसहित कर्णालीका विभिन्न जिल्लाहरूमा आफ्नो प्रभाव बढाउन विप्लव समूहले अभियान नै थालेको छ । पार्टी सुदृढीकरण तथा संगठन विस्तारका नाममा गाउँ–गाउँमा विप्लव समूहका कार्यकर्ता पसेका छन् । कर्णालीका दैलेख, जाजरकोट लगायतका जिल्लामा विप्लव समूहले दैनिक जसो आमसभा, जनसभा, भेला तथा घरदैलो अभियान समेत सञ्चालन गरिरहेको छ । संसदीय व्यवस्था खारेज गरी समाजवादी व्यवस्था आवश्यक रहेको भन्दै कर्यकर्ताहरूले प्रचार गर्ने गरेका छन् ।
पार्टी र संगठन विस्तारको हवला दिँदै समाज विथोल्ने गतिविधि बढाउने काममा विप्लव समूह सक्रिय भएको प्रहरीको ठहर छ । प्रदेश राजधानी वीरेन्द्रनगरमासमेत व्यापारीबाट चन्दा उठाउने गरेको पाइएको छ । विगतमा बन्द हुँदा खासै प्रभाव नपर्ने गरेको यस जिल्लामा शनिवार दुई वटा मालबाहक ट्रक जलाइएको छ । बन्दको अवज्ञा गरेको भन्दै शनिवार बिहानै बराहताल गाउँपालिकाको बड्डिचौरनजिक र भेरीगंगा नगरपालिका–२ सत्तरीमा मालबाहक ट्रकमा आगजनी गरिएको हो । नेपालगन्जदेखि सुर्खेतका लागि चामल ल्याएर आउँदै गरेको ना ६ ख ७३१३ नम्बरको ट्रक सत्तरी र ईट्टा लिएर बड्डिचौर पुगेको ना ४ ख १७३२ नम्बरको ट्रकमा आगजनी भएको प्रहरीले जनाएको छ ।
विगतका दिनहरूमा विप्लवको बन्दको असर नपर्ने भएकाले शनिवार प्रहरीले सुरक्षामा त्यति चासो देखाएको थिएन । तर, दुई वटा मालबाहक ट्रक जलाइएपछि व्यापक रूपमा प्रहरी परिचालन गरिएको थियो । शनिवार बिहानै मालबाहक ट्रक जलाइएपछि दिनभर पूर्णरूपमा यातायात अवरुद्ध भए । विप्लवको बन्द सशक्त भएपछि प्रहरीले थप कडाई गरेको थियो । ट्रक आगजनीमा संलग्नता रहेको भन्दै वीरेन्द्रनगर नगरपालिका १२ का ४८ वर्षीय कमल बिसी र भेरीगंगा नगरपालिकाका ३३ वर्षीय पूर्णबहादुर बुढाथोकीलाई प्रहरीले शनिवार नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार बिसीलाई वीरेन्द्रनगर एयरपोर्ट नजिक र बुढाथोकीलाई जहरेबाट नियन्त्रणमा लिइएको हो ।
वीरेन्द्रनगरमा चन्दा असुली गर्ने, व्यापारीलाई धम्काउने काम विप्लव समूहका कार्यकर्ताबाट हुने गरेको डीएसपी क्षेत्रीले बताए । ‘पैसा असुली गर्ने, पहुँच देखाउनलाई संगठन विस्तारका नाममा चन्दा माग्ने, धम्काउने काम भइरहेको छ’ उनले भने, ‘जिल्लामा विगतदेखि नै प्रहरीले विप्लवमाथि निगरानी बढाएको छ ।’
आगामी दिनमा थप घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको उनले जनाए । विप्लव समूहले भने आफ्ना पक्राउ परेका कार्यकर्तालाई विनाशर्त कार्यकर्ता रिहाइको माग गरेको छ । आफूलाई नेकपाका सुर्खेत जिल्ला सेक्रेटरी बताउने ‘ध्रुव’ले चन्दा असुली तथा ट्रक आगजनीमा विप्लवको संलग्नता नभएको दाबी गरे । ‘यो सबै झुठ्ठा आरोप हो, कुनै प्रमाण नै छैन’ उनले भने, ‘शनिवार हाम्रो बन्द थियो, तर आगजनी गरिएको होइन । घरमा बसिरहेका साथीहरूलाई पक्राउ गरिएको छ ।’ पक्राउ परेका चार जनालाई नै विना शर्त रिहा गर्नुपर्ने माग उनको छ ।

प्रकाशित मितिः   ६ माघ २०७५, आईतवार १२:३१