सिम्ता विद्युतीकरण गर्न तीस करोड स्वीकृत

साझा बिसौनी संवाददाता
सुर्खेत, ५ माघ ।
जिल्लाको सिम्ता गाउँपालिका विद्युतीकरणका लागि ३० करोड रूपैयाँ बजेट स्वीकृत भएको छ । सामुदायिक ग्रामीण विद्युतीकरण विभागले उक्त बजेट स्वीकृत गरेको हो ।


विभाग र गाउँपालिकाको साझेदारीमा विद्युतीकरण गरिने भएको हो । उज्यालो सिम्ता कार्यक्रम गाउँपालिकाले विद्युतीकरणका लागि प्रस्ताव पेश गरेको थियो । उक्त प्रस्ताव स्वीकृत भएको छ । अब सामुदायिक विद्युतीकरण विभाग, गाउँपालिका र स्थानीय जनताको लगानीमा विद्युतीकरण गरिने भएको हो ।
यो योजना अनुसार सिम्ताका १२ वडामध्ये ९ वडामा विद्युतीकरण गरिनेछ । वडा नम्बर ५, ६ र ७ मा नेपाल विद्युत प्राधिकरणले नै विद्युत विस्तार गर्ने भएको छ । त्यसबाहेकका नौ वडामा ग्रामीण विद्युतीकरण साझेदारी योजना अन्तर्गत विद्युत विस्तार गरिने जनाइएको छ ।
गाउँपालिकाको पहिलो सभाबाट उज्यालो सिम्ता योजना अघि सारिएको थियो । उक्त योजना कार्यान्वयनका लागि गाउँपालिकाले विभागसँग समन्वय गरेको हो । गाउँपालिका र विभागबीच भएको सम्झौता अनुसार १० प्रतिशत बजेट गाउँपालिकाकोतर्फबाट विभागको खातामा जम्मा गर्नुपर्नेछ । जस अनुसार तीन करोड रूपैयाँ गाउँपालिकाले विभागको खातामा जम्मा गर्ने तयारी गरेको अध्यक्ष कविन्द्रकुमार केसीले बताए । ‘सरोकारवालासँग समन्वय गर्ने काम र लगानीको सम्भावना खोज्ने काम सकिएको छ’ उनले भने, ‘विभागले कार्यक्रमका लागि आवश्यक बजेट सहयोग गर्ने निर्णय गरेपछि काम अगाडि बढ्ने भएको हो ।’
सिम्ताका सर्वसाधारणले दिएको शेयर र गाउँपालिकाको बजेटबाट १० प्रतिशत बजेट जम्मा भइसकेको छ । उक्त बजेट विभागको खातामा जम्मा गरेपछि गाउँपालिकाले विद्युतीकरणका लागि आवश्यक बजेट पाउनेछ । गाउँपालिकाले विभागबाट २७ करोड रूपैयाँ विद्युतीकरणका लागि पाउनेछ । त्यसपछि शेयर प्रमाण–पत्र प्रदान गरिनेछ । १० प्रतिशत जनसहभागिता र ९० प्रतिशत विभागको आर्थिक सहयोगमा विद्युत विस्तार गर्न लागिएको अध्यक्ष केसीले बताए ।
विभागले विद्युत निर्माण गरेपछि गाउँलाई हस्तान्तरण गर्नेछ । पहिलो गाउँसभाबाट लिएको तीन वटा नीति अनुसार काम भइरहेको उनले बताए । गाउँपालिकाले सबै वडासम्म पहुँचमार्ग निर्माण गर्ने, उज्यालो सिम्ता र जनतासँग सिम्ता गाउँपालिका कार्यक्रम सञ्चालन गर्ने रणनीति सभाबाट पास गरेको थियो । पहुँचमार्ग अन्तर्गत वडादेखि गाउँपालिकाका सम्पूर्ण ठाउँमा सडक सञ्जाल पु¥याउने, उज्यालो सिम्ता अन्तर्गत विद्युत सेवा विस्तार गर्ने उद्देश्य लिइएको थियो । यस्तै, आर्थिक, सामाजिक तथा सशक्तीकरणका क्षेत्रमा काम गर्न जनतासँग सिम्ता कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिइएको थियो । जनतासँग सिम्ता कार्यक्रम निकै महŒवकांक्षीका रूपमा लिइएको अध्यक्ष केसीले जानकारी दिए ।

प्रकाशित मितिः   ६ माघ २०७५, आईतवार १२:२९