व्यवहारिक शिक्षा, आजको आवश्यकता

विनोद आचार्य
मानिस जन्मिएदेखि नै उसको सिकाइको प्रक्रिया आरम्भ हुन्छ । जब ऊ विस्तारै पाइला टेकी हिँड्न थाल्दछ तब परिवार र समाजमा नै उसको सम्पूर्ण कुराहरूको विकासक्रम अघि बढ्दछ । साथिहरूसँग खेल्दै, झगडा गर्दै थोरै समयमा धेरै कुराहरू सिक्दै जान्छ । यस्तै गर्दागर्दै समय बितेको पत्तो नपाइ परिवार र समाजमा स्थापित हुन पुग्छ ।
कुनै पनि व्यक्तिप्रति हरेक परिवार र समाजले आशा राखेको हुन्छ । आज हामी त्यही अवस्थामा आइपुगेका छौं । आफूमा अनुभूतिका कमीको कारणले मात्र हामीले यसतर्फ वास्ता गर्दैनौं । हाम्रो परिवार र समाजले हामीप्रति आशा राखेको छ । त्यसकारण पनि हामीले हाम्रो समय खेर जान दिनु हुँदैन । अनावश्यक रूपमा खर्चिनु हुँदैन ।
हामी विद्यार्थी भनेका गाउँ समाज एवम देशको मेरुदण्ड हौं । बलिया खम्बा हौं । भोलि देशले प्रमुख स्थानको जिम्मेवारी सुम्पने भनेको आजका हामी विद्यार्थीहरूलाई नै हो । भोलिका डक्टरदेखि देश हाँक्ने हामी नै हौं । तसर्थ हामी विद्यार्थीहरूले सोच्न, बुझ्न र थालनी गर्नुपर्ने अवसर हामी सामु आइसकेको छ । हामीले यस अवस्थामा शैक्षिक कार्यकलापसँगै समग्र समाजलाई फाइदा हुने कार्यमा पछि हट्नु हुँदैन ।
कतिपयले भन्ने गर्छन, ‘पुस्तकभन्दा बाहिरको जानकारी लिनु व्यर्थ हो ।’ तर यो वास्तविकता होइन । हामीले आजको दुनियाँलाई नियाल्न आवश्यक छ । विद्यार्थीहरूले त विभिन्न ठाउँ, त्यहाँको वनावट, स्थिति सबैलाई नियाल्नु जरुरी हुन्छ । आजका हामी विद्यार्थीहरूलाई काँधमा धेरै जिम्मेवारी आइसकेको स्थिति छ ।
सभ्य समाज निर्माणमा हाम्रो भूमिका महŒवपूर्ण रहन्छ । सामाजिक रूपमा विद्यमान विकृतिहरूको अन्त्य गर्दै राम्रा रितिरिवाजलाई जोगाँउदै र नराम्रालाई हटाउँदै जानु हाम्रो दायित्व हुन जान्छ । यसमा हामी सम्पूर्ण युवा विद्यार्थीहरूले ध्यान दिनु जरुरी छ । यो दायित्व पूरा गरेमा मात्र हामी देशको मेरुदण्ड बन्न सक्दछौं । यदि हामी नै पछि हट्ने हो भने हाम्रो पहिचान खस्किन सक्छ, इज्जतमा दाग लाग्न सक्छ ।
आजको विश्व विज्ञानबाट चलेको भएता पनि हामी नेपालीहरू धेरै पछाडि छौं । समाजलाई अगाडि बढाउन सरकारको मात्र भूमिका सोच्नु गलत हो । हामी सबैको उतिकै भूमिका रहने गर्दछ । यस्ता कार्यहरूमा ज्ञान प्राप्त गरेका व्यक्तिहरूले यसतर्फ ध्यान दिन सकेनौं भने परिवर्तनको कल्पना गर्नु साँच्चिकै व्यर्थ हो । हामी आफूले बुझेका कुरालाई व्यवहारिक रूपमा देखाउन सकेनौं भने हामीले प्राप्त गरेका ज्ञानको कुनै औचित्य हुँदैन । हामीभित्रको ज्ञान जीवनमा व्यवहारिक रूपमा देखाउन सक्छौं कि सक्दैनौं त्यो महŒवपूर्ण कुरा हो । यदी सकेनौं भने प्राप्त गर्नुको कुनै औचित्य हँुदैन । यसै क्रममा शिक्षाविद् रुसोले भनेका छन् कि ‘शिक्षा अरु केही होइन वानीहरूको निर्माण मात्र हो ।’ यसबाट पनि प्रस्ट हुन्छ कि शिक्षा के हो । त्यसैले शिक्षा त्यो होइन जो मार्कसिट र सर्टिफिकेट प्राप्त गर्नु । कुनै व्यक्तिले उच्च शिक्षा हासिल गरेको छ भने उसले प्राप्त गरेको शिक्षा उसको बानी र क्रियाकलापमा निर्भर गर्दछ । हामीलाई कुनै निश्चित मापदण्डभित्र राख्नका लागि मात्र कागजी प्रमाणपत्र आवश्यक पर्न जान्छन् । तर हामीभित्र भएको ज्ञान व्यावाहारिक रूपमा प्रयोग गर्न सकेनौं भने हामीले औपचारिक शिक्षा ग्रहण गर्नुको औचित्य हुन सक्दैन । हाम्रो जीवनमा चाहिने भनेको व्यवाहारिक ज्ञान, राम्रो चरित्र अनि नैतिकता हो । अन्यथा हामीले प्राप्त गरेका कागजी प्रमाण–पत्र कागजमै सीमित रहन सक्छन् ।
हामीले हरेक क्षेत्रमा देखाउने चातुर्यता, गम्भीरता, इमान्दारिता र स्वभाव नै हाम्रो शिक्षाको सबैभन्दा ठूलो प्रमाणपत्र हो । यदि हामीले समयमै ख्याल गर्न सक्यौं भने मिसन परिवर्तन गर्न सक्छौं अन्यथा हाम्रो मिसन गलत र अपुरो हुनसक्छ । न त हामी आफू परिवर्तन हुनसक्छौं न त समाज परिवर्तन गर्न सक्छौं । माओले भनेका छ्न कि ‘हजारौं माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ ।’ हो, हामीले पनि एकैचोटी सफलता प्राप्त गर्न नसके पनि लागि परिरहनु हाम्रो दायित्व हो । यस्तै महात्मा गान्धीले भनेका छन्, ‘अरुले गरेपछि गर्छु भन्नु त्यस कामबाट पन्छिने उपाय मात्र हो ।’ त्यसैले आजको अवस्थामा आएर पन्छिन्छु भन्ने कुरा यस भनाइबाटै प्रष्ट छ । हामी व्यवहारिक शिक्षालाई जीवनबाट टाढा राख्न खोज्नु अलि लाजमर्दाे मानिन्छ । हामीमा अनेकौं शिक्षा छ, हामीमा क्षमता छ तर व्यवहारमा देखाउन सक्ने खुबी आवश्यक छ । आजकल मानवले पनि मानवता गुमाएको स्थिति आएको छ । के अनैतिक क्रियाकलाप गर्नु मानवता हो ? हामीमा मानवता हुन आवश्यक छ । यदि हामीमा मानवता छैन भने पुच्छर विनाको बाँदरसरह हुन जान्छौं । पिछडिएका समाजलाई उत्थानमा लाग्नु सम्पूर्ण युवा विद्यार्थीको कर्तव्य हो ।
अध्ययन अनिवार्य छ । अध्ययन र ज्ञान आर्जनले नै मानिसलाई चेतनशील र बौद्धिक प्राणीको रूपमा स्थापित गरेको हो । तर अध्ययनको अर्थ कोरा ज्ञानमा सीमित हुनु हुँदैन । व्यवहारिक शिक्षाले नै व्यक्तिलाई र समाजलाई सभ्य बनाउन सघाउ पु¥याउँदछ । पढेर मात्रै केही अर्थ राख्दैन । आफूले पढेको कुरालाई जीवनोपयोगी गराउन सकेमा मात्रै त्यसले अर्थ राख्दछ ।
शिक्षाको माध्यम अनि त्यसको उचित प्रयोगबाट हरेक व्यक्तिले आफूलाई सक्षम बनाउन सक्दछ । शिक्षाकै माध्यमवाट व्यक्तिले आफ्नो क्षमता, व्यवहार, उद्देश्य, समाजप्रतिको अवधारणा र प्रयावरण सम्बन्धी सोचको विकास गर्दछ । यी सबै क्षमताहरूको अभिवृद्धिका लागि मानिस नैतिकवान हुनु त्यत्तिकै जरुरी हुन्छ । नैतिक शिक्षाले नै असल व्यक्ति, असल समाज र असल चरित्रको निर्माण गर्न गर्दछ । तर पछिल्लो समय साक्षरहरूको संख्या बढे पनि सभ्यताको विकास हुन सकिरहेको छैन ।
सामाजिक र सभ्यताका मूल्यमान्यताहरू विपरितका कार्यहरू भइरहेका छन् । त्यसैले पनि नैतिक र व्यवहारिक शिक्षा आजको अनिवार्य आवश्यकता बनेको छ । आजको शिक्षा जुन मात्रामा व्यावहारिक हुनुपथ्र्यो त्यो मात्रामा प्रयोगमा ल्याइएको छैन । जीवनको बाटो देखाउने अत्यावश्यक पक्ष शिक्षा भएकोले शिक्षाको अपरिहार्यतालाई बोध गर्दै यसलाई जीवनपयोगी र व्यवहारिक बनाउनुपर्दछ । समाजमा स्थापित गलत संस्कार र मान्यताहरूका साथसाथै समस्याको जरा उखेल्ने खालको शिक्षा आवश्यक छ ।

प्रकाशित मितिः   ६ माघ २०७५, आईतवार १२:२७