एक सय बढीको लाइन काटियो

साझा बिसौनी संवाददाता
सुर्खेत, ४ माघ ।
उपभोक्ताले विद्युत महसुल तिर्न अटेर गरेपछि लाइन काट्न थालिएको छ । विद्युत उपयोग गरेवापत उपभोक्ताले तिर्नुपर्ने शुल्क नतिरेपछि नेपाल विद्युत प्राधिकरण सुर्खेत शाखाले लाइन काट्न थालेको हो ।
प्राधिकरणले गत पुस १५ गते यता महसुल नबुझाउने र बक्यौता नतिर्ने ग्राहकहरूको घरमा लाइन काट्दै आएको छ । प्राधिकरणले शुक्रवारसम्म एक सय दुई उपभोक्ताको लाइन काटिसकेको छ । विद्युत महसुल नतिर्ने ग्राहकहरू बढ्न थालेपछि प्राधिकरण सुर्खेत शाखाले पछिल्लो समय कडाइ गरेको हो । कार्यालयका कर्मचारीहरू हरेक हप्ताको दुई दिन जिल्लाका विभिन्न स्थानहरूमा पुगेर महसुल नबुझाउने ग्राहकको विद्युत सेवा अवरुद्ध पार्दै आएका छन् ।
लाइन काट्नु अघि प्राधिकरणले ग्राहकहरूलाई सचेतसमेत गराउने गरेको छ । महसुल नबुझाएको खण्डमा दुई पटकसम्म जानकारी दिने गरिएको कार्यालयले जनाएको छ । विद्युत कार्यालयबाट दिइएको जानकारी अटेरी गर्ने घर तथा कार्यालयको विद्युत प्राधिकरणकै कर्मचारीले लाइन काट्दै आएका छन् । विद्युत प्राधिकरण शाखा सुर्खेतका अनुसार दुई महिनासम्म विद्युत महसुल नबुझाउने घर तथा कार्यालयहरूको विद्युतलाइन काटिएको छ ।
यो अवधिमा मात्रै लाइन काटिएकाहरूले करिब १६ लाख राजश्व बुझाएका छन् । विगतको तुलनामा यो वर्ष राजस्व बढी संकलन हुने अनुमान गरिएको शाखा प्रमुख सुरज भण्डारीले जानकारी दिए । उपभोक्ताले समयमै महसुल नबुझाएका कारण विगतमा राजस्व संकलन पनि न्यून हुने गरेको थियो । जसले गर्दा लाखौं रकम बक्यौता उठ्न बाँकी रहेको प्राधिकरणका प्रमुख भण्डारीले
बताए । प्राधिकरणबाट लाइन काट्न थालेपछि बक्यौता रकम बुझाउन आउने ग्राहको संख्यासमेत बढेको छ । अब भने कडाइका साथ महसुल संकलन गरिने प्रमुख भण्डारीले बताए ।
जिल्लामा ४३ हजार भन्दा बढी विद्युत प्रयोगकर्ता रहेका छन् । प्राधिकरणले उपभोक्तालाई तीन तहमा वर्गीकरण गर्ने गरेको छ । घर, उद्योग तथा सरकारी कार्यालय । तीन प्रकारका ग्राहकबाट बक्यौता रकम असुल गर्न बाँकी रहेको जनाइएको छ । प्राधिकरण सुर्खेत शाखा मातहतमा गढी, छिन्चु, जहरे, दशरथपुर र राकममा वितरण युनिटहरू राखिएको छ । बुदबुदी, दशरथपुर र राकममा सव–स्टेशन राखेरै विद्युत प्रशारणलाई नियमितता दिइएको प्रमुख भण्डारीले बताए । उनले महसुल नबुझाउनेको लाइन काटिएको ६ महिनासम्म पनि व्यक्ति सम्पर्कमा नआए कालोसूचीमा नाम राखिनेछ । कालोसूचीमा नाम प्रकाशन गरेपछि एउटै व्यक्तिको नाममा सुर्खेत लगायत अन्य जिल्लामा जडान गरिएको विद्युतसमेत काटिनेछ । उपभोक्ता विद्युत सेवा विमुख हुनुपर्ने भण्डारीले जनाए । ‘पटक–पटक विद्युतले महसुल बुझाउन पत्राचार गर्ने गरिएको छ’ उनले भने, ‘जानकारी हुँदाहुँदै पनि अटेरी गरेपछि लाइन काट्ने र ६ महिनापछि कालोसूचीमा नाम राख्ने गरेका छौं ।’ उनले बुझाउनुपर्ने महसुल समयमै बुझाउन उपभोक्ताहरूलाई आग्रह गरे । सेवा लिए वापतको शुल्क समयमै तिर्नुपर्ने उनको भनाइ छ ।

सरकारी कार्यालयकै बक्यौता धेरै
जिल्लामा रहेका अधिकांश सरकारी कार्यालयले नै विद्युत महसुल बुझाउन ढिलाइ गर्ने गरेको पाइएको छ । प्राधिकरणले सबैभन्दा बढी बक्यौता सरकारी कार्यालयबाट उठाउन बाँकी रहेको छ ।
संघीय संरचनामा रहेका विगतका धेरै कार्यालयहरू हाल स्थानीय तहमा गएका छन् । तर, विद्युतको महसुल भने तिरेका छैनन् । जसले गर्दा सरकारी कार्यालयको बक्यौता धेरै देखिएको प्रमुख भण्डारीले बताए । ‘संघ मातहतमा रहेका कार्यालयले विद्युतको नामसारी गरेका छैनन्, जसले गर्दा साविककै संरचना अनुसार बक्यौता देखिएको छ’ उनले भने, ‘संघ वा हाल बसिरहेका प्रदेश सरकार मातहतका कार्यालयले विद्युत महसुल तिर्ने भन्ने बारे टुङ्गो लागेको अवस्था छैन ।’ विद्युत कार्यालयले विषयगत मन्त्रालयदेखि जिल्लास्थित सबै कार्यालयमा पत्राचार गरेको छ । केही मन्त्रालयबाट मात्रै पत्रको जवाफ आएको उनले जानकारी दिए ।

प्रकाशित मितिः   ५ माघ २०७५, शनिबार १२:२३