आईटीमा भविष्य खोज्दै

सिम्ता गाउँपालिका–६ राकम सुर्खेतका सुवास बिसी वि.सं. २०५२ साल असार २९ गते बुबा भक्तबहादुर बुढा र आमा ईन्द्राकुमारी बुढाको कोखबाट जन्मिएका हुन् । घरका जेठा छोरा उनी सानैदेखि जिज्ञासु स्वभावका थिए । उनका बुबा–आमा चाहन्थे, छोराले पढेर जागिर गरोस् । सुवास पनि अरु केही नसोची जागिरे हुने सपना देख्थे । जब उमेर बढ्दै गयो भविष्यका सपना बदलिन थाले । एकातिर बुबा–आमाका सपना र अर्कोतिर आफ्ना बदलिएका चाहना । दुवैलाई थाँती राख्दै सुवास यतिबेला आईटी पढ्दैछन् ।
वि.सं. २०६६ सालमा एसएलसी उत्तीर्ण गरेका उनले प्रविणता प्रमाण–पत्र तह र स्नातक तहमा शिक्षा शास्त्र संकाय पढे । जागिरे सपना बोकेर उनी कलेज भर्ना भएका थिए । तर जबदेखि सुवासले आफूलाई बुझ्दै गए तबदेखि उनी समाजसेवा र प्रविधिका क्षेत्रमा आफ्नो रुचि र लगाव बढिरहेको बुझ्न थाले । हरेक क्षेत्रबाट पिछडिएको क्षेत्र कर्णालीलाई डिजिटल प्रदेश बनाउनको लागि सहयोग गर्ने सपना देखेका सुवासले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी सीता वलीसँग यसरी साटेः

बुबा व्यापार गर्नुहुन्छ, आमा गृहिणी । तीन भाईमध्ये म घरको जेठो छोरो त्यसैले पनि बुबा–आमाले मबाट धेरै आशा गर्नु स्वभाविक हो । बुबा–आमाले मलाई छोरो जसरी पनि धेरै पढेर जागिर खाइदिएको भए हुन्थ्यो भन्नुहुन्थ्यो । म पनि बुबा–आमाले देखेको सपनाको पछाडि हिँडे । मैले आफू के बन्ने भन्ने सोचिनँ, बुबा–आमाले बुनेको सपनाका पछाडि दौडिएरै मैले वि.सं. २०६६ सालमा श्री बागेश्वरी उच्च माध्यमिक विद्यालय राकमबाट एसएलसी पास गरें ।
मैले कक्षा १ देखि नै पढेको विद्यालयमा प्लसटू पनि पढ्ने मौका पाएँ । प्लसटूमा शिक्षा विषय लिएर त्यही पढें । त्यो बेलासम्म मेरो सपना अन्जान नै थियो । जब म आफूलाई बुझ्ने भएँ तबदेखि मेरो सपना पनि बदलिए । प्लसटू सक्ने बेलासम्म बुबा–आमाको सपनाको पछि दौडिएको म स्नातक तह सकेर आफ्नो सपनाको पछि दौडिएको छु ।
कलेजको पहिलो दिन खासै रमाइलो भएन । सानैदेखि पढेको विद्यालय भए पनि साथीहरूभने नयाँ–नयाँ थिए । तर कलेजबाट फर्कंदा भने मलाई आफूजस्तो ठूलो कोही छैन जस्तो लाग्यो । किनकी विद्यालय पढ्दा झोलाभरी किताब बोकेर हिँडेको तर कलेज जाँदा एउटा कापी बोक्दा अनौठो लाग्यो । कलेजको पहिलो दिननै मैले केही साथी बनाएको थिएँ ।
मलाई कलेजको पढाइ र विद्यालयको पढाइमा खासै फरक त लागेन तै पनि विद्यालयमा जस्तो कलेजमा दवावमूलक शिक्षा दिइने रहेनछ भन्ने महसुस गरें । कलेज पढ्दा बिदाको समयमा साथीभाईहरूसँग फिल्म हेर्न गइन्थ्यो तर कक्षा नै छोडेर भने कहीं पनि गइएन । क्लास बंक त झन मैले कहिल्यै गरिनँ ।
कलेजको सबैभन्दा राम्रो पक्ष भनेको शिक्षकहरूले दिने शिक्षा ग्रहण गर्न सहज हुने । साथीहरूसँग पनि शेयर गरेर पढ्न सकिने त्यो राम्रो पक्ष हो भने नराम्रो पक्ष भनेको जिम्मेवार ढङ्गले पढाइ भने नहुने त्यो अलि नराम्रो पक्ष लाग्यो । कलेज लाईफमा प्रेम पनि गरियो । प्रेम एकअर्कोलाई बुझ्ने माध्यम हो । डेटिङ्ग भन्दा पनि सामान्य भेटघाट हुने गर्छ कहिले कांहि ।
मैले शिक्षा शास्त्र संकायबाट स्तातक तह पास गरेको छु, सुर्खेत क्याम्पस शिक्षाबाट । त्यसपछि मेरो उद्देश्य र भविष्यको सपना अनुरूप सुर्खेत क्याम्पस शिक्षामा नै आइटी पढ्दैछु । भविष्यमा सबै क्षेत्रबाट पिछडिएको कर्णाली प्रदेशलाई आईटी क्षेत्रमा अगाडि बढाउने उद्देश्य छ । त्यस अनुरूप नै म अगाडि बढेको छु ।
हाल सुर्खेत आईटी क्लबको अध्यक्षको रूपमा समेत काम गर्ने अवसर प्राप्त गरेको छु । साथै सिम्ताली एकता समाजको अध्यक्षको रूपमा समेत काम गर्दै आएको छु । मलाई समाज सेवामा पनि उत्तिकै रुचि छ । हुन त समाजसेवा भन्ने कुरा पछिल्लो समय देखाउनका लागि मात्रै हुनेगरेको छ । तर पनि समाजसेवा मेरो मनदेखि नै आउँछ । एउटै व्यक्तिले सबै क्षेत्रमा काम गर्न त सक्दैन तर जसको जहाँ जति क्षमता छ त्यही काम गरीब, निमुखा र पहुँच नभएका व्यक्ति समाजको सामु लग्न सकियो भने त्यो नै समाज सेवा हो ।
मेरो उद्देश्य पनि कर्णाली प्रदेशलाई डिजिटल प्रदेश बनाउनमा सहयोग गर्ने छ । मलाई साथीभाईहरूसँग समसामयिक देशको अवस्थाबारेमा गफगाफ गर्न पनि एकदमै मनपर्छ । साहेद मेरो खुशीको क्षण नै त्यही बन्छ । दुःखको क्षण भन्नुपर्दा आफू सही हुँदाहुँदै पनि कसैले गलत भन्यो भने त्यो नै मेरो लागि दुःखको क्षण बन्छ । तर जीवनमा घरीघरी आउने दुःख र सुखको संगम नै जीवन हो । यसलाई सहज रूपमा लैजानु पर्दछ ।

प्रकाशित मितिः   ५ माघ २०७५, शनिबार १२:२०