बहुमूल्य रत्नपत्थरसहित पाँच जना पक्राउ

साझा बिसौनी संवाददाता
सुर्खेत, ४ माघ ।
बहुमूल्य रत्नपत्थरसहित सुर्खेतमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । साढे ११ केजी पत्थरसहित सुर्खेत प्रहरीले वीरेन्द्रनगर–१ बाङ्गेसिमलबाट बिहीवार राती उनीहरूलाई पक्राउ गरेको हो ।


वीरेन्द्रनगर–४ का ४० वर्षीय भीमबहादुर सुनार, ५ का ३० वर्षीय नविन कँडेल, वीरेन्द्रनगर–८ का २८ वर्षीय सुरेन्द्र शाही, बराताल गाउँपालिका–८ का २६ वर्षीय भक्तबहादुर पाण्डे र ३२ वर्षीय तेजेन्द्र बस्नेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए ।
कालिकोटबाट सुर्खेततर्फ आउँदै गरेको बा १९ च ३५७२ नम्बरको स्कारपियो गाडी पत्थर लुकाइ ल्याएको सूचनाको आधारमा प्रहरी परिचालन गरिएको थियो । प्रहरी सहायक निरीक्षक विजय पुनको कमाण्डमा खटिएको प्रहरी टोलीले बहुमूल्य ढुङ्गासहित पाँच जनालाई राती एक बजे नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका पाँच जनामाथि आवश्यक अनुसन्धान थालिएको उनले बताए । बरामद गरिएको पत्थर पहिचानका खानी तथा भूगर्भ विभागमा पठाइने भएको छ । पत्थर कति मूल्य बराबरको हो भन्ने बारेमा नखुलेको डीएसपी क्षेत्रीले बताए । उनका अनुसार बिक्रीका लागि कालिकोटबाट सुर्खेततर्फ पत्थर ल्याइएको हो ।

प्रकाशित मितिः   ५ माघ २०७५, शनिबार १२:१९