‘विकासको जस कांग्रेसलाई’
साझा बिसौनी संवाददाता
सुर्खेत, २ माघ ।
नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपालमा विकासको जग नेपाली कांग्रेसले बनाएको जिकिर गरेका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बुधवार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता महतले विकासको जग कांग्रेस र विशेष गरी गिरिजाप्रसाद कोइरालाले बसालेर दाबी गरेका हुन् ।
मुलुकलाई जटिलताबाट सहजतामा ल्याउने, विकासका बाटाहरू खोल्ने लगायतका जस कांग्रेसलाई जाने नेता महतको भनाइ थियो । ‘मुलुकमा १२ वर्ष सशस्त्र द्वन्द्व चलिरहेका बेला पनि सरकारमा कांग्रेस थियो’ उनले भने, ‘कांग्रेसको बलियो नीतिका कारण उतिबेलाको विपरित परिस्थितिमा पनि मुलुकमा विकास भयो ।’ तर अहिलेको सहज परिस्थितिमा पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले विकास निर्माणका काम गर्नै नसकेको आरोप समेत लगाए ।
मुलुकमा पक्की तथा कच्ची गरेर ८५ हजार सडक निर्माण हुनु, राजश्व वृद्धि हुनु, सबै गाउँहरूमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नु, सिँचाइ सुविधा पु¥याउनु लगायतका विकासको पूर्वाधार निर्माण कांग्रेसको नेतृत्वमा भएको भन्दै उनले जनताले कांग्रेसलाई नै साथ दिनुपर्ने समेत बताए । आफू तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका पालामा आर्थिक सल्लाहकार र पछिल्लो पटक विभिन्न सरकारमा अर्थमन्त्री हुँदा मध्यपश्चिमलाई केन्द्रविन्दुमा राखेर विकास गरेको जिकिरसमेत उनले गरे ।
कार्यक्रममा कांग्रेसका अर्का नेता चन्द्र भण्डारीले कांग्रेस पार्टी नभइ पाठशाला भएको टिप्प्णी गरे । नेतृत्वको कारण पछिल्लो समय पार्टी कमजोर भए पनि यो मुलुकमा कम्युनिष्टबाट देश विकासको आशा गर्न नसकिने उनको टिप्पणी थियो ।
भेटघाट कार्यक्रममा कांग्रेसका कर्णाली प्रदेश, क्षेत्रीय तथा जिल्ला सभापति र यस निकट विभिन्न भ्रातृ सघं÷संगठनका प्रमुखको सहभागिता रहेको थियो ।
साझा बिसौनी ।