पैंतीस किलोमिटर कालोपत्रे गर्न तीस महिना म्याद

साझा बिसौनी संवाददाता
जाजरकोट, २ माघ ।
मध्यपहाडी लोकमार्ग अन्तर्गतको जाजरकोट खण्डमा कालोपत्रे गरिने भएको छ । अबको तीस महिनाभित्र ३५ मिलोमिटर सकड कालोपत्रे गर्ने गरी योजना अघि बढाइएको छ ।
तीस महिनाभित्र ३५ किलोमिटर सडकमा कालेपत्रे गरी सक्ने गरीे शर्मा, सिंह एण्ड ब्रदर्स जेभी काठमाडौंले कामको जिम्मा लिएका हुन् । निर्धारित समयभित्र मध्यपहाडी लोकमार्ग कालोपत्रे हुने जनाइएको छ ।
सडक कालोपत्र भएपछि यहाँका स्थानीयको सास्ती हट्ने भएको हो । दैनिक यातायातका साधनहरू धकेल्दै, धुलाम्य बन्दै यात्रा गर्न वाध्य स्थानीय अव कामको सुरुवात सँगै खुशी भएको भेरी नगरपालिका जगतीपुरका सन्देश आचार्यले बताए । तोकिएको मितिमा कालोपत्रेको काम सक्ने गरी कामको गती बढाएको जेभीका प्रतिनिधि विश्वास उप्रेतीले बताए । सडकको ७ मिटर चौडाई बनाएर कालोपत्रे गर्ने गरी सम्झौता भए अनुसार युद्धस्तरमा काम भइरहेको उनको भनाइ छ ।
उप्रेतीका अनुसार १७ किलो मिटरको दूरीमा रहेको कुदु–गिमासम्मम एक भाग गरी काम सुरु गरिएको छ भने गीमा–छेडागाड नगरपालिकाको कार्कीगाउँसम्म १८.५ किलोमिटरको अर्को भाग बनाइ एकै पटक काम सुरु भएको छ । पहिलो चरणमा ४९ करोड २६ लाखमा काम हुने छ भने अर्को भागमा ५० करोड ४७ लाखको काम हुने उप्रेतीले बताए । मध्य पहाडी लोकमार्ग अन्तर्गत जाजरकोट खण्डमा सडक ट्रयाक खोलेर बीचमै छोडेको भन्दै यहाँका स्थानीयले पटक–पटक जनप्रतिनिधि र सरकारी निकायहरूमा ज्ञापन–पत्र बुझाउँदै आएका थिए ।
सोही सडकमा ३३ केभि केन्द्रीय विद्युतको लाइन विस्तारको काम समेत हुने भएको छ । पाँचथरको चिया भञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म एक हजार सात सय ७६ किलोमिटर लम्बाई रहेको रहेको मध्य पहाडी लोकमार्ग जाजरकोटमा ८२ किलोमिटर रहेको छ । ३५.५ किलोमिटरमा काम सुरु भएको र बाँकी सडकमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम सुरु भएको मध्यपहाडी लोकमार्ग दैलेख कार्यालयका प्रमुख डी नारायणप्रसाद निउरेले बताए । डीपीआर पूरा भएमा जाजरकोटको बाँकी खण्डको पनि यसैवर्ष टेण्डर गरी काम सुरु गर्ने बताए ।
मध्य पहाडी लोकमार्गको थलहमा रहेको छेडागाड खोलामा पुल निर्माणका लागि टेण्डर भइ, निर्माणको जिम्म पाएको निर्माण कम्पनीले केही दिनभित्र कामको सुरुवात गर्ने कार्यालयले जनाएको छ । यत्ता यो सडकमा कालोपत्रेको काम पूरा भएमा दैलेख जान एकदमै छोटो पर्ने गर्दछ । मध्य पहाडीको काम सुरु भयो भन्दैमा कानमा तेल हालेर नबस्न सबैलाई जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावलले बताए ।
भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले सडकमा गुणस्तर हुनुपर्ने भन्दै बेला, बेलामा अनुगमन जारी राखेको बताए । मध्य पहाडी लोकमार्ग स्तरउन्नति भएमा जिल्लाका भेरी नगरपालिका, छेडागाड नगरपालिका, शिवालय गाउँपालिका, जुनिचाँदे गाउँपालिकामा यातायात सञ्चालनमा सहयोग पुग्नुका साथै सडक विस्तारमा सजिलो हुने छ। सडक नहुँदा यहाँका भारी मात्रामा विकास, निर्माणका कामहरू अलपत्र पदै आएका छन् । भौतिक संरचना निर्माणका लागि आवश्यक सामग्री लिन समस्य हुँदा वर्षेनी म्याद थप्ने काम हुने गरेको छ ।
ठूला विद्युतका आयोजनादेखि भवण निर्माणका काम समेत प्रभावित भएका छन् । गाउँ–गाउँमा विकास निर्माणका काममा ढुवानीको समस्य हुँदै आएको थियो । गाउँमा उत्पादित वस्तुले मुल्य बजार नपाउँदा अर्थ उपार्जनको बाटोमा अवरोध सिर्जना हुँदै आएको थियो ।

प्रकाशित मितिः   ३ माघ २०७५, बिहीबार १२:१३