पहिलेका जात्रा, अहिले महोत्सव
साझा बिसौनी संवाददाता
सुर्खेत, १ माघ ।
चाडपर्व आयो कि दौंतरी जम्मा भएर को–को मेला जाने छलफल हुन्थ्यो । लगाउने कपडा, खर्च गर्ने पैसाको जोहो जात्रा आउनु अगाडि नै गरिन्थ्यो । वर्षौंदेखि छुट्टिएका साथीसंगी, आफन्त र चिनेजानेकासँग भेट हुने भएकाले पनि जात्रा जान्थे । रातभर नाचगान हुन्थ्यो । त्यसको बेग्लै रमाइलो थियो । तर पछिल्ला वर्षहरूमा यी कुरा ‘एकादेशका कथा’ जस्तै भइसकेका छन् । केही वर्ष पहिले मेलाका बाजा बज्ने त्यही ठाउँमा हिजोआज ‘स्पीकर’ बज्छन् । एक दिन लाग्ने जात्राको साटो हप्ताभरी महोत्सव चल्छन् ।
‘रातभरी दोहोरी गाउने, देउडा नाँच्ने र निकै रमाइलो गर्ने चलन जात्रामा हुन्थ्यो’ जात्राका ती दिन सम्झिदै गुर्भाकोट नगरपालिकाकी ६३ वर्षीया राधा थापाले भनिन्, ‘पछिल्लो समय जात्रा लाग्नै छोडे, महोत्सव लाग्छन् । रेडियोमा सुनिने गीत कलाकारले प्रत्यक्ष सुनाउँछन् ।’ थापाको अनुभवमा पछिल्लो समय गाउँघरमा मनाइने चाडपर्व र मेलाका रूप बदलिएका छन् । बदलिएका चाडपर्वहरूको फाइदा र बेफाइदा दुवै छन् ।
पहिले रातमा लाग्ने जात्रामा झै–झगडा हुन्थ्यो । निकै असुरक्षित हुन्थे, ती जात्रा । व्यापारसमेत न्यून हुन्थ्यो । तर हिजोआज दिनमा हुने महोत्सवमा असुरक्षाको महसुस गर्नु पर्दैन । व्यापार व्यवसायलाई निकै मद्दत पुगेको उनी बताउँछिन् । जिल्लाका ग्रामीण क्षेत्रमा लाग्ने जात्राको साटो महोत्सव सञ्चालन हुन थालेपछि कृषि, पर्यटन, उद्योग तथा व्यापारमा समेत मद्दत पुग्न थालेको छ । जात्राको स्वरूप फेरिएसँगै स्थानीय उत्पादनको बजारीकरण सजिलो भएको छ । ‘कलाकारले गीत गाउँछन्, आफन्तसँग भलाकुसारी पनि हुन्छ’ उनले थपिन्, ‘ती जात्रा भन्दा यी महोत्सव राम्रा । राती आँखा नदेख्ने बुढाबुढीका लागि मनको रहर मनमै हुन्थ्यो, फुर्सद मिलाएर दिउँसै महोत्सवमा गयो भने रमाइलो हेर्न पाइने, आफन्तसँग पनि भेट हुने ।’ महोत्सवमा वृद्धवृद्धाहरूका लागि भने कुनै सुविधा नभएकोले चित्त नबुझेको उनी बताउँछिन् । ‘उमेर बुढो भए पनि मन बुढो हँुदो रै’नछ’ उनले भनिन्, ‘गीत गाउँछन्, नाँच्छन् र रमाइलो हुन्छ भनेपछि घरमा बस्न मनै लाग्दैन, लठ्ठी टेकेरै भए पनि महोत्सव हेर्न पुग्छु ।’
माघे संक्रान्तिको अवसरमा मंगलवारदेखि पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–९ बोटेचौरमा सुरु भएको माघी महोत्सवमा उनी पुगेकी थिइन् । विगतमा माघी मेला लाग्ने बोटेचौर बजारमा केही वर्ष यता महोत्सव लाग्ने गरेका छन् । उहिलेका जात्रा भन्दा अहिलेका महोत्सव राम्रो भन्छन् स्थानीय रत्ने कामी । संस्कृतिको हराउने चिन्ता पुरानो पिंढीको छ । स्थानीय कलाकारले स्थान नपाउने, पुरानो संस्कृति लोप हुने, पश्चिमा कलाशैली सहजै भित्रिनेसक्ने भएकाले सजग हुनुपर्ने उनले बताए । देउडा सुर्खेतको पश्चिम क्षेत्रको पहिचान थियो । तर, हिजोआज विहे, व्रतबन्धमै सीमित बनेको छ, देउडा गीत, मारुनी नाँच, ठाडीभाका । ‘संस्कृतिको संरक्षण भए मात्रै नयाँ पुस्तामा हस्तान्तरण हुन्छन्’ उनी भन्छन्, ‘देउडा भनेको के हो भन्ने अवस्था नयाँ पुस्तामा देखिएको छ ।’ स्थानीय संस्कृतिको जगेर्ना गरे मात्रै महोत्सवको औचित्य हुने उनको भनाइ छ ।
गुर्भाकोटमा आयोजना गरिएको महोत्सवमा राष्ट्रियस्तरका भन्दा स्थानीयस्तरका कला संस्कृति र मौलिकतालाई प्राथमिकता दिइएको प्रचार–प्रसार समितिका संयोजक भीमप्रसाद पौडेलले बताए । मयुर नाच, पैचेरी, ख्याली, ढल्के नाच लगायतका नृत्य तथा सिम्ताली देउडा, भलिबल प्रतियोगितासमेत महोत्सवमा आयोजना गरिएको छ । मंगलवारदेखि सुरु भएको महोत्सव माघ १० गतेसम्म चल्नेछ । यो अवधिभर राष्ट्रियस्तरका कलाकार, स्थानीयस्तरका कलाकारको प्रस्तुति रहनेछ । दीपशिखा सुधार केन्द्र सुर्खेतको मुख्य आयोजनामा भएको महोत्सवमा ६० भन्दा बढी स्टलहरू राखिएको छ । स्थानीय उत्पादन, घरमा हातले बनाएका विभिन्न सामग्रीहरू प्रदर्शनीमा राखिएको छ । महोत्सवमा नायक भुवन केसी, हाँस्यकलाकार जितु नेपाल, जयकिशन बस्नेत, गायक प्रमोद खरेल, सुनिल गिरी, लोकदोहोरी गायक कुलेन्द्र विक, गायिका शान्तीश्री परियार, राजनराज सिवाकोटी, करिश्मा घर्ती, धनराज चुनारा, सुकदेव अधिकारी लगायतले प्रस्तुति राख्नेछन् ।
महोत्सवको उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले निर्वाचनबाट निर्वाचित पदाधिकारीहरूले राजनीतिक विभेदको भाव काममा नदेखाउन आग्रह गरेकी छन् । स्थानीय सरकारले कृषि, पर्यटन, उद्योगमा लगानी गरी विपन्न जनतालाई आत्मनिर्भर बनाउनतर्फ केन्द्रित हुनुपर्ने बताइन् । युवा बेरोजगारी नेपालका लागि प्रमुख चुनौती भएकाले कृषि पेसा अँगाल्ने गरी प्रोत्साहन गर्नुपर्ने बताइन् । उनले स्थानीय सरकारबाट रोजगारी लक्षित गरी सांसदमार्फत् योजना आए प्रदेश सरकारले बजेट दिन तयार रहेको बताइन् । सांसद ठम्मर विष्टले जनसेवालाई प्राथमिकतामा राखेर जनप्रतिनिधिले काम गर्नुपर्ने बताए ।
साझा बिसौनी संवाददाता ।