सरकारी भवन छोडेर भाडामा कार्यालय

मुना हमाल
सुर्खेत, १ माघ ।
बराहताल गाउँपालिका वडा नम्बर २ ले सरकारी भवन छोडेर भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको छ । गत मंसिर २९ गते रानीघाटमा सरकारी भवनमा रहेको वडा कार्यालयलाई थापाडेरामा सारिएको हो ।
वडाका अन्य टोलहरूलाई पायक नपर्ने भन्दै वडा कार्यालयले वडा नम्बर २ मै पर्ने रानीघाटमा भएको भवनलाई छोडेर भाडामा कार्यालय सञ्चालन गरेको हो । कार्यालय सरेपछि पाँच कोठे भवन अहिले बेवारिसे अवस्थामा छ । स्थानीय र केही जनप्रतिनिधिहरूले भाडामा कार्यालय सञ्चालन गर्ने कार्यको विरोध गरे पनि अन्य क्षेत्रका लागि पायक नपर्ने भन्दै वडा कार्यालय थापाडेरामा सारिएकोे जनाइएको छ ।
मासिक रूपमा पाँच हजार भाडा तिर्ने गरी कार्यालय राखिएको छ । जसबाट वार्षिक ६० हजार घर भाडामा मात्र खर्च हुन्छ । सरकारी भवन हुँदाहुँदै पनि भाडामा कार्यालय सञ्चालन गरेको भन्दै स्थानीयले गुनासो गरेका छन् । थापाडेराबाट रानीघाट जाँदा भेरीमा रहेको झोलुङ्गे पुल तरेर जानुपथ्र्यो । ‘भेरी नदीको पुल तरेर वारी रानीघाट आउन धेरै समय लाग्दैन । त्यस्तै १० देखि १५ मिनेटसम्म लाग्छ’ स्थानीय कविराज थापाले भने, ‘तर पायक पर्दैन भनेर अहिले महंगो भाडा तिरेर वडा कार्यालय सञ्चालन भइरहेको छ । हाम्रो यसप्रति मात्र गुनासो हो ।’
पहिले वडा कार्यालय भएको सरकारी भवनसँगै स्वास्थ्यचौकी, भेरी माध्यमिक विद्यालय पनि छ । स्थानीय डिलबहादुर पुलामीले स्वास्थ्यचौकी, विद्यालय पुरानै ठाउँमा हुँदा प्रायः सेवा लिन रानीघाट आउनुपर्ने भएकाले भाडामा वडा कार्यालय मात्र सञ्चालन गर्न नहुने बताए ।
कार्यालय भाडामा सञ्चालन गर्ने विषयमा जनप्रतिनिधिहरूबीच नै मतभेद पनि भएको थियो । दुई जना वडा सदस्यले भाडामा राख्न नहुने अडान लिँदै आएका थिए । तर अन्य दुई जना सदस्यसहित वडा अध्यक्षले भाडाको घरमा सञ्चालन गर्ने भनेपछि कार्यालय थापाडेरामा सारिएको जनाइएको छ । ‘पहिला सरकारी कार्यालयमा नै सञ्चालन गर्ने भनेर मसहित अर्को एक जना वडा सदस्यले मानेका थिएनौं’ वडा सदस्य दुर्गा विष्टले भने, ‘अब जसरी पनि जनतालाई सेवा नै दिने हो भन्ने सोचेर हामीले भाडाको घरमा कार्यालय सञ्चालन गर्न सहमति जनायौं ।’
यता वडा अध्यक्ष युवराज कार्कीले सबै जनतालाई पायक पर्ने ठाउँ भएकाले वारी वडा कार्यालय सारिएको जानकारी दिए । आफ्नो ठाउँमा वडा कार्यालय नभएकाले विरोध गर्नु स्वभाविक भएको भन्दै उनले पाग्मा र डोप्काका जनता तथा रानीघाटका जनता सबैलाई पायक पर्ने ठाउँमा वडा कार्यालय सारिएको बताए । ‘वडा कार्यालय टाढा भयो भनेर जनगुनासो बढेपछि बाध्य भएर वडा कार्यालय सारेका हौं’ उनले भने, ‘त्यो भवन स्वास्थ्यको पनि हो । गाउँपालिकाको निर्णयले पाँच हजार भाडा दिने भनेर भनेका छौं । भवन अब मर्मत गरेर केही व्यवस्था गर्ने निर्णय भएको छ ।’

प्रकाशित मितिः   २ माघ २०७५, बुधबार १५:३२