मगर भाषा पढाउन पहल गर्ने प्रतिबद्धता
सुर्खेत, १ माघ । (साबिस)
बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले मगर समुदायलाई आफ्नो मातृभाषामा पढ्ने अवसर सिर्जना गर्न पहल गर्ने बताएका छन् । माघे सकरातीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नीतिगत व्यवस्था गरेर मातृभाषामा पठन–पाठनको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका हुन् । मगरहरूको संघन बस्तीहरूमा मातृभाषा कक्षाका लागि पहल गर्ने भन्दै अध्यक्ष बस्नेतले मगर समुदायमा संस्कार मात्रै नभएर भाषा पनि अनिवार्य भएको समेत बताए ।
कार्यक्रममा नेपाल मगर संघ कर्णाली प्रदेशका महासचिव डम्मर गरंजामगरले सबै मगरहरूको उत्थानका लागि मातृभाषा पनि अनिवार्य भएको बताए । यस्तै कार्यक्रममा नेपाल मगर संघ सुर्खेतका अध्यक्ष डिलबहादुर वंशीमगरले स्थानीयहरूले मगरहरूको संघन बस्तीहरूको खोजी गरी मातृभाषा पठन–पाठन गर्नका लागि स्थानीय तहहरूले कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
यसैगरी माघे सकरातीको अवसर पारेर भएको कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगिता पनि सञ्चालन गरिएको थियो । जस अन्तर्गत ४० वर्षभन्दा माथिको छेलोमा कविराज डम्मरपालले प्रथम र ३० वर्षभन्दा कम उमेर समूहमा सन्तोष मर्साङ्गी प्रथम भएका थिए । यसैगरी कुर्ची दौडमा चन्द्रा मर्साङ्गी प्रथम, भुरुममा चन्द्र तारामी मगर प्रथम र घैटोफोडमा मिलन जोल्मीमगर प्रथम भएका थिए । झ्याउरे, सोरठी, सारङ्गी नाच प्रस्तुत गरिएको माघे सकराती विशेष कार्यक्रम वडाको लक्षित वर्गको आर्थिक सहयोगमा भएको थियो ।
साझा बिसौनी संवाददाता ।