“मेरो रगतमा समाज सेवा छ”

वि.सं. २०३९ साल भदौ २९ गते बुबा नेत्रबहादुर खत्री र आमा टीका खत्रीको कोखबाट घरको कान्छो छोराको रूपमा जन्मिएका डा. नवराज केसी पछिल्लो समय स्वास्थ्य क्षेत्रका समाजसेवीको रूपमा परिचित छन् । वीरेन्द्रनगर नगरपालिका–३, हिलेखालीमा जन्मिएका उनी सानैदेखि जिज्ञासु स्वभावका थिए । आज पनि उनी उस्तै स्वभावका छन् । बुबा–आमाको सपना थियो, छोरालाई डाक्टर बनाउने । नवराजको सपना पनि त्यही नै थियो । उनले त्यो सपना वि.सं. २०६५ सालमा साकार पारे ।
उनलाई संगीतमा पनि रुचि थियो आज पनि संगीतलाई उनले उत्तिकै माया गर्ने गरेका छन् । नेपालगन्ज मेडिकल कलेजबाट डाक्टर गरेका उनले नेपालगन्ज तथा काठमाडौंका विभिन्न अस्पतालहरूमा काम गरे । हाल उनी कर्णाली प्रदेश अस्पताल सुर्खेतमा बाल रोग विशेषज्ञ डाक्टरको रूपमा कार्यरत छन् । साथसाथै बाल क्लिनिक सुर्खेत पनि सञ्चालनमा ल्याएका उनले सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । पछिल्लो पटक डा. केसीले ‘क्लिन सुर्खेत, ग्रीन सुर्खेत’ अभियानको समेत सुरुवात गरेका केसीले आफ्नो पेसागत जीवनका कथा हाम्रा सहकर्मी
सीता वलीसँग यसरी साटेः

म घरको कान्छो छोरा । मेरो एक जना दिदी हुनुहुन्छ र एक जना दाई । दिदी शिक्षक हुनुहुन्छ भने दाई ईन्जिनियर हुनुहुन्छ । बुबा पेसाले शिक्षक हुनुहुन्थ्यो । लामो समय बुबाले जन उच्च माध्यमिक विद्यालयको प्राधानाध्यापक भएर सेवा गर्नुभयो । हाल बुबाको निधन भइसकेको छ । आमाले कुनै पेसा अपनाउनु भएन ।
म सानैदेखि संगीत प्रेमी तथा जिज्ञासु स्वभावको थिएँ । मलाई कुनै कुरामा पनि गहिरो अध्ययन नगरी चित्तै बुझ्दैनथ्यो । त्यो स्वभाव आज पनि छ । जसले गर्दा स्वास्थ्य क्षेत्रमा केही सहज पनि भएको छ । मलाई भविष्यमा कि त संगीतकार बनुँला भन्ने थियो कि डाक्टर । म डाक्टर भएँ । मेरो बुबा–आमाको चाहना भने छोरो डाक्टर बनोस् भन्ने नै थियो ।
मैले वि.सं. २०५५ सालमा एसोएस सुर्खेतबाट एसएलसी पास गरेको हुँ । एसएलसी पास गरेपछि म काठमाडौंको निष्ट कलेजमा पढें र त्यसपछि नेपालगन्ज मेडिकल कलेजमा गइ डाक्टर पढेको हुँ ।
मैले करिब साढे आठ वर्ष डाक्टर पढेर काम पनि सुरु गरें । केही समय नेपालगन्जमै बसेर काम गरें । केही वर्ष काठमाडौंको अपाङ्ग अस्पताल लगाएतका अस्पतालहरुमा काम गरें । त्यसपछि आफ्नो जन्मथलो सुर्खेतमै काम गर्ने अवसर मिल्यो । हाल म कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा बालरोग विशेषज्ञको डाक्टरको रुपमा कार्यरत छु ।
वीरेन्द्रनगर–६ मा बाल क्लिनिक पनि सञ्चालन गरेको छु । कार्यालय समय भन्दा बाहिरको समयमा क्लिनिकबाट सेवा दिएको छु । म समृद्ध परिवारमा नै हुर्केको हुनाले दुःखको अनुभव खासै छैन । तर पनि मलाई दुःखमा परेकाहरुलाई सहयोग गर्न मन लाग्छ । सामाजिक कार्यहरु गर्न मनपर्छ ।
विंग्स फाउण्डेशन र विभिन्न संघ–संस्थाहरुको समन्वयमा हामीहरुले वीरेन्द्रनगरमा क्लिन सुर्खेत, ग्रीन सुर्खेत अभियान सञ्चालन गरेका छौं । करिब २६ हप्ता भयो यो अभियान निरन्तर सञ्चालन भइरहेको छ । फाउण्डेशनले विशेष गरी पर्यावरण, अपाङ्ग बालबालिकाहरुका लागि र मानवीय स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको छ । क्लिन सुर्खेत अभियान पनि संस्थाकै सहकार्य तथा विभिन्न संस्थाको समन्वयमा सञ्चालन गर्दै आएका छौं ।
मलाई पैसाको मोह भन्दा पनि समाज सेवामा अत्याधिक रुचि लाग्छ । मेरो रगतमा समाज सेवा छ । आफू जागीरको पछाडि हिँड्नु भन्दा केही बेरोजगारहरुलाई रोेजगारी दिने मेरो उद्देश्य हो । मैले कर्णाली प्रदेशका विकट जिल्लाहरुमा स्वास्थ्य क्याम्प सञ्चालन गरी करिब पाँच हजार भन्दा बढी बालबालिकाहरुको स्वास्थ्य जाँच गराइसकेको छु । विशेष गरी गरीब, तथा स्वास्थ्यको पहुँचबाट टाढा रहेको बालबालिकाहरुका लागि क्याम्पस सञ्चालन गरिएको हो ।
मलाई समाज सेवामा घरपरिवारको ठूलो प्रेरणा छ । मेरो बुबा–आमाले पनि सानैदेखि समाज सेवामा प्रेरित गर्नुहुन्थ्यो र जीवन संगीनी डा. अर्चना कार्कीले पनि आर्थिक सहयोग र हौसला दिने भएकोेले मलाई समाज सेवामा प्रेरणा मिलेको हो । म स्वास्थ्य क्षेत्रबाटै अझै धेरै समाज सेवा गर्ने योजनामा छु । मेरो स्वास्थ्य क्षेत्रमै जीवन व्यतित हुनेछ । दुःख पाएका र स्वास्थ्यको पहुँचबाट टाढा रहेकालाई स्वास्थ उपचार गर्ने र जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्न उद्देश्य छ । स्वास्थ्य जीवनको अमूल्य सम्पत्ति हो यसमा सबै सचेत हुनु जरुरी पनि छ ।

प्रकाशित मितिः   २ माघ २०७५, बुधबार १५:२८