आशाको सञ्चार

मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम भएर पनि औद्योगिक विकासमा गति लिन नसकेको जिल्ला हो सुर्खेत । साना तथा घरेलु उद्योगहरूको संख्या बढ्दै गए पनि समग्र जिल्लाकै विकासमा महŒवपूर्ण योगदान पु¥याउने ठूला उद्योगको अभाव छ । जसले गर्दा सदरमुकाम वीरेन्द्रनगरले विकासमा गति लिए पनि समग्र जिल्ला भने पछि नै परेको छ । औद्योगिक विकास विना अरु विकास सम्भव छैन । यसको गतिलो उदाहरण पनि हो सुर्खेत । यद्यपि सुर्खेतमा ठूलो उद्योग सञ्चालनको सम्भावना नै नभएको भने होइन । यहाँ प्रशस्त सम्भावनाहरू छन्् । तर किन हुन सकिरहेको छैन ? यसको लेखाजोखा गर्नुपर्ने समय भइसकेको छ । यसतर्फ यहाँका सञ्चारमाध्यमले पटक–पटक आवाज उठाउँदै आएका छन् । ठूला आयोजना र उद्योगहरूको सम्भावनाको पहिचान मात्रै होइन त्यसबाट लिन सकिने लाभका बारेमा समाचारहरू आइरहेका
छन् । तर सम्बन्धित निकायको ध्यान भने यसतर्फ केन्द्रित हुन सकेको पाइदैन । यस्तै मध्येको एक आयोजना हो, चौकुने सिमेन्ट उद्योग । नेपालकै ठूलो दाबी गरिएको चौकुने सिमेन्ट उद्योग स्थापना चर्चा चलेको चार दशक पुग्नै लागेको छ । तर अहिलेसम्म उक्त उद्योग केवल चर्चामा मात्र सीमित छ । अब जतिसक्दो छिटो सञ्चालनमा आउने खबरहरू यतिबेला सार्वजनिक भएका छन् ।
वर्षौको प्रतिक्षापछि सुर्खेतको गुटुमा रहेको चौकुने सिमेन्ट उद्योग सञ्चालनमा आउने भएको छ । पश्चिम नेपालको सबैभन्दा ठूलो दाबी गरिएको यो सिमेन्ट उद्योगको शिलान्यास यही असार महिनाभित्रै हुने भएको हो । सुर्खेत उद्योग वाणिज्य संघले मनाउन लागेको ‘सुर्खेत लगानी वर्ष २०७३’ को उद्घाटनको अवसर पारेर यो सिमेन्ट उद्योगको पनि शिलान्यास गर्न लागिएको हो । सुर्खेत उद्योग वाणिज्य संघले यही असार मसान्तमा सुर्खेत लगानी वर्षको औपचारिक उद्घाटन गर्दैछ । सोही अवसरमा सिमेन्ट उद्योगको शिलान्यास गर्ने तयारी गरिएको छ । यो सुर्खेतवासीका लागि खुशीको खबर हो । किनभने चौकुने सिमेन्ट उद्योग केबल एउटा उद्योग मात्र होइन सुर्खेतलाई समृद्धिको बाटोमा डो¥याउने माध्यम पनि बन्न सक्दछ । उद्योग सञ्चालनको लागि लाइसेन्स लिएको निर्माण कम्पनी मुक्ति श्री प्रालिले शिलान्यासका लागि आवश्यक काम सुरु भइसकेको जनाएको छ । उद्योग सञ्चालक अरुण सुमार्गीले यो महिनाभित्रै उद्योगको शिलान्यास गर्ने अन्तिम तयारी भइरहेको बताए । सम्भाव्यता अध्ययन भएको ३८ वर्ष बितिसक्दा समेत यो उद्योग सञ्चालनमा नआउँदा यहाँका नागरिकहरू निराश भएका थिए । तर अब भने आशाको सञ्चार भएको छ ।
सुर्खेत लगायत यस क्षेत्रमा भएका अनेक सम्भावनाहरूमध्येको एक प्रमुख सम्भावना हो, सिमेन्ट । जिल्लामा सिमेन्ट उद्योग सञ्चालन हुन सकेमा जिल्लाको आम्दानीको स्रोत बढ्नेछ । यस क्षेत्रमा रोजगारीको अवसर सिर्जना हुनेछ । रोजगारीको खोजीमा विदेशिनुपर्ने बाध्यताबाट कयौं युवाहरूले मुक्ति पाउनेछन् । त्यति मात्र होइन सिमेन्ट उद्योग स्थल जिल्लाको पश्चिम क्षेत्रमा पर्दछ । यो क्षेत्र विकासका दृष्टिले पनि पछि परेको क्षेत्र हो । सबैतिर सडक सञ्जाल पुग्न सकेको छैन । बिजुलीले छुन सकेको छैन । सञ्चारको पनि गतिलो व्यवस्था छैन । गुटुमा ठूलो सिमेन्ट उद्योग स्थापना हुँदा यहाँको सडक स्तरोन्नती हुनेछ । बिजुली पु¥याइनेछ । यी लगायतका अन्य विकासका पूर्वाधारहरू निर्माण हुनेछन् । जसले गर्दा वर्षौदेखि विकासमा पछि परेको पश्चिम सुर्खेतले पनि विकासमा फड्को मार्न सक्नेछ । त्यस क्षेत्रका जनताको जीवनस्तरमा सुधार आउनेछ । त्यसकारण पनि जतिसक्दो छिटो चौकुने सिमेन्ट उद्योग स्थापना हुन आवश्यक छ । यसका लागि सम्बन्धित निकायको ध्यान जान र नागरिककोतर्फबाट पनि दबाब सिर्जना गर्न जरुरी छ ।