आत्महत्या बिहानमा धेरै, मृत्युबाट खोसेर पुनर्जीवन

आत्महत्या बिहानमा धेरै, मृत्युबाट खोसेर पुनर्जीवन
आत्महत्या बिहानमा धेरै, मृत्युबाट खोसेर पुनर्जीवन

साझा बिसौनी संवाददाता
सुर्खेत, ६ असार ।
तत्काल प्रहरी घटनास्थलमा नपुगेको भए यतिबेला उनको बच्चा टुहुरो हुने थियो । परिवारले सदस्य गुमाउनुको पीडा भोग्नुपर्ने हुन्थ्यो । स्वयम् उनले पनि अहिले बच्चालाई काखमा च्यापेर सुन्दर भविष्यको कल्पना गर्दै रमाउने मौका पाउने थिइनन् । तर मृत्युको मुखबाट फिर्ता भएकी उनी हिजोआज परिवारसँगै बसेर उज्वल भविष्यको खाका कोर्दै छिन् ।
वीरेन्द्रनगरकी पुष्पा शाही (नाम परिवर्तन) जसले मृत्यु रोजिन् । गत वैशाखमा आत्महत्या गर्न भन्दै काँक्रेविहार जंगलमा पुगेकी उनलाई सुर्खेत प्रहरीले मृत्युको मुखबाट बचायो । पारिवारिक तनाव र कलह सहन नसकेर आत्महत्याको बाटो रोजेकी उनलाई प्रहरीले रुखमा भुण्डिदै गर्दा उद्धार गरेर पुनर्जीवन दिलायो । प्रहरीले मृत्युको मुखबाट फिर्ता गराएकी उनै पुष्पा अहिले आफ्नो मात्र होइन, काखमा रहेको बच्चा र परिवारको सुन्दर भविष्यको योजना बुन्दैमा व्यस्त छन् । हतार र आवेगमा मृत्यु रोजेकी उनलाई प्रहरी र आफन्तले सम्झाएपछि जिउने हिम्मत पनि पलाएको छ ।
वीरेन्द्रनगरकै २१ वर्षीया मीना नेपाली (नाम परिवर्तन) ले अघिल्लो महिना आत्महत्या रोजिन् । जिल्ला प्रहरी कार्यालयभन्दा करिब पाँच सय मिटर टाढा कुइनेपानी जङ्गलमा झुण्डिएकी उनलाई पनि प्रहरीले बचायो । तत्काल उद्धार गरेर मृत्युको मुखबाट फिर्ता गरिएकी उनै मीना अहिले अरुलाई बाँच्ने हौसला दिन थालेकी छन् । निरन्तरको असफलता र तनावका कारण निराश बन्दै आत्महत्याको निर्णयमा पुगेकी उनलाई हिजोआज धेरै बाँच्ने रहर पलाएको छ । उनले परिवारका सदस्यहरूसँग खुशी साटेर संसार हेर्ने अवसर प्राप्त गरेकी छन् । यदि आफन्तले समयमा नै सूचना नदिएको भए प्रहरीले तत्काल उद्धार गर्नसक्ने थिएन । उनको मृत्यु हुन्थ्यो, हतारमा गरेको निर्णयले संसार देख्ने रहर अधुरै रहन्थ्यो । तर अहिले उनले पुनर्जीवन पाएकी छन्, जिउनकै लागि उनी थप सङ्घर्षरत छिन् ।
मृत्यु रोजेर पनि पुनर्जीवन पाउने पुष्पा र मीना केवल प्रतिनिधि पात्र हुन् । पछिल्लो एक वर्षको अवधिमा जिल्लामा एक सय १८ जनाले पुनर्जीवन पाएका छन् । उनीहरूलाई आत्महत्याको प्रयास गर्दागर्दै प्रहरीले बचाएको हो । जिल्ला प्रहरी कार्यालयका डीएसपी बहादुरजंग मल्लले भने, ‘आत्महत्या गर्नेक्रम बढ्दो छ, गाउँमा भन्दा सहरमा यो समस्या बढी छ । चालु आर्थिक वर्षमा हामीले जिल्लामा एक सय १८ जनालाई आत्महत्याको प्रयास गर्दागर्दै बचाएका छौं ।’ प्रहरीका अनुसार सुर्खेतमा बिहानको समयमा बढी आत्महत्याका घटनाहरू हुने गरेका छन् । ‘बिहान ६ देखि १२ बजेभित्रमा बढी आत्महत्या हुने गरेका छन्’ डीएसपी मल्लले थपे, ‘दाम्पत्य जीवन र प्रेममा असफलता नै आत्महत्याको मूल कारण हो, यसलाई रोक्न सबैको प्रयास जरुरी छ । निराश भएकाहरूलाई बाँच्ने हौसला दिउँ, आत्महत्यामा कमी आउनसक्छ ।’ प्रहरीका अनुसार पछिल्लो एक वर्षमा जिल्लामा ६६ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा विवाहित जोडी र त्यसमा पनि महिलाको संख्या बढी रहेको छ । प्रहरीले सोमवार, बुधवार र शनिवारको दिनमा जिल्लामा आत्महत्याका घटनाहरू हुने गरेको जनाएको छ ।
आत्महत्या नै जिल्लाको मुख्य सुरक्षा चुनौती रहेको निश्कर्ष निकाल्दै प्रहरीले यसलाई रोक्न सचेतनामूलक अभियान आवश्यक रहेकोमा जोड दिएको छ । प्रहरीले आर्थिक अभाव, पारिवारिक कलह, मदिरा सेवन, प्रेममा असफलता र बालविवाह नै आत्महत्याका मूल कारक रहेको निचोड निकालेको हो । पछिल्लो समय पुरुषको हिंसा सहन नसकेर महिलाहरूले आत्महत्या गर्ने दर बढी देखिएको भन्दै प्रहरीले अब पुरुष केन्द्रित सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने औंल्याएको छ । यस्तै आत्महत्या न्यूनीकरण सम्बन्धी सोमवार वीरेन्द्रनगरमा सम्पन्न कार्यक्रममा सरोकारवालाहरूले आत्महत्या जिल्लाका लागि ठूलो चुनौती बनेको बताए । जिल्ला जनस्वास्थ्य कार्यालयले आयोजना गरेको उक्त कार्यक्रममा सहभागीहरूले जीवनको महŒव बुझाउन सकेमा आत्महत्याका घटनामा कमी आउने विश्वास समेत व्यक्त गरेका छन् । जिल्ला जनस्वास्थ्य प्रमुख बसन्त अधिकारीले मनोपरामर्श सेवामार्फत् मानिसहरूलाई बाँच्नका लागि हौसला प्रदान गर्न सकिने बताए । त्यसका लागि विद्यालयस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आफूहरू तयार रहेको उनको भनाइ छ ।
यस्तै महिला अधिकारकर्मी पवित्रा शाहीले घरेलु मदिरा नियन्त्रण गर्नसके आत्महत्यामा पनि कमी आउने बताइन् । घरेलुहिंसाकै कारण महिलाहरूले आत्महत्याको बाटो रोज्न बाध्य भइरहेको उनको भनाइ छ । यस्तै स्याक नेपालका कार्यकारी निर्देशक टीकाराम आचार्य र स्वास्थ्य कार्यालयका बसन्त श्रेष्ठले जनचेतना नै आत्महत्या कम गर्ने गतिलो हतियार हुनसक्ने बताए । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लामा हरेक वर्ष आत्महत्या गर्ने दर बढ्दै गएको छ ।

प्रकाशित मितिः   ७ असार २०७३, मंगलवार ०९:३६