सुर्खेतका यी चार सवालः सबै बेहाल

ddदिनेश गौतम-
मध्यपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम हो, वीरेन्द्रनगर । वीरेन्द्रनगर देशको बन्दै गरेको नयाँ सङ्घीय संरचना अन्तर्गत प्रदेश नम्बर ६ को सम्भावित राजधानी र कर्णाली क्षेत्रको प्रवेशद्वार पनि हो । यी र यस्तै अन्य धेरै विशेषताहरूले सु–सज्जित वीरेन्द्रनगर । अझै भनौं, मध्यपश्चिम विश्वविद्यालय भएको सहर, त्यसकारण पनि झकिझकाउ छ वीरेन्द्रनगर । दोस्रो लुम्बिनीको रूपमा विकास गर्न खोजिएको काँक्रेविहार तथा अन्यन्त सुन्दर मानिने बुलबुले ताल भएको वीरेन्द्रनगर तर वीरेन्द्रनगरको यी यावत विशेषताका साथसाथै केही साना कुराहरू छन् जसले वीरेन्द्रनगरलाई अशोभनीय बनाइरहेका छन् ।

सवाल एकः तरकारी बजार कि डम्पिङ साइड ?
वीरेन्द्रनगरको तरकारी तथा फलफूल कृषि बजार भनेर तोकिएको स्थान (साल्ट ट्रेडिङ्गको पछाडि) वरपर हेर्दै गयो भने त्यो क्षेत्र कुनै समयको कुइनेपानी क्षेत्रभन्दा फरक पर्दैन । अर्थात् जुनबेला कुइनेपानीलाई फोहोर फाल्ने क्षेत्रको रूपमा प्रयोग गरिन्थ्यो, त्यतिबेला कुइनेपानी जङ्गलको रंगशालातिर पर्ने भाग जस्तो देखिन्थ्यो, अहिले तरकारी तथा फलफूल बजार भनेर तोकिएको स्थान र त्यस वरपरको स्थानको अवस्था एउटै छ । अहिले कुइनेपानी क्षेत्रमा फोहोर फाल्न बन्द गरिसकेपछि त्यो क्षेत्र सफा हुँदै गइरहेको छ तर त्यसको नजिकै रहेको त्यस तरकारी तथा फलफूल कृषि बजारको वरपर भने फोहोरको डंगुर छ । बसपार्कको नजिकै फोहोर हुनुपर्ने कहींकतै लेखेको छैन, तरकारी तथा फलफूल जो सडेका हुन्छन् तिनीहरूलाई व्यवस्थित गर्ने केही न केही उपाय त जरुर छ तर त्यस बजारमा व्यापार व्यवसायमा संलग्न व्यक्तिहरू उदाशीन भइदिनाले तथा अन्य सम्बन्धित व्यक्तिहरूको निष्क्रियताको कारण त्यहाँको स्थिति अत्यन्त फोहोरजन्य छ ।
फोहोर उठाउने जिम्मा लिएको वीरेन्द्रनगर नगरपालिकाले आफूले स्वयम्ले पनि त्यसतर्फ ध्यान नदिने तथा फोहोर गर्न जिम्मेवार त्यहाँका स्थानीय व्यापारीहरूलाई फोहोर व्यवस्थापन गर्न दबाब दिन नसक्नाको परिणाम हो, त्यो फोहोरको डंगुर । तरकारी र फलफूल बेच्ने मात्रै होइन, आफूले व्यापार व्यवसाय गरिरहेको क्षेत्र वरपरको सरसफाइ सम्वेदनशीलतामा पनि व्यापारीहरूले ध्यान दिन जरुरी छ । उनीहरूका साथसाथै फोहोर उठाउने जिम्मा लिएको निकायले पनि यसतर्फ ध्यान दिने कि ?

सवाल दुईः काँक्रेविहार घुम्न जाने कि डराउन ?
सुर्खेतको चर्चित पर्यटकीय स्थल काँक्रेविहार, अझ भर्खर आएको समाचार अनुसार दोस्रो लुम्बिनीको रूपमा विकास गर्दै लैजाने भनेर योजना अगाडि सारिएको काँक्रेविहार जहाँ कोही पनि व्यक्ति एक्लै वा एक दुई जना भएर त्यहाँ जान सकिनेस्थिति छैन । एक त टाढा छ वीरेन्द्रनगरदेखि, दोस्रो घना जङ्गल छ । बुलबुले हुँदै काँक्रेविहार जान सकिने छोटो बाटो पनि छ तर त्यसको बारेमा धेरैलाई जानकारी नै छैन । त्यो बाटो हिँड्न पनि त्रास छ, किनभने बीचमा जङ्गल छ । लाटीकोइली हुँदै जाँदा पनि निकै ठूलो त्रास भोग्नुपर्ने हुन्छ । मानिसहरूको खासै चहलपहल नहुने हुँदा एक दुई जना जाँदा चोरी, लुटपाट तथा यौनजन्य हिंसाको त्रास छ । काँक्रेविहार जाँदा सुरक्षा खतरा हुन्छ भन्ने जान्दाजान्दै किन त्यहाँ प्रहरीको व्यवस्था गर्न सकिएको छैन ? प्रहरीको एउटा सानो टिम नै किन नहोस्, त्यहाँ राख्न सकिएको खण्डमा त्यहाँ हुने गरेका भनिएका लागूऔषध सम्बन्धी घटना पनि कम हुन्थे । अनि मुख्य कुरा त्यहाँ घुम्न जान खोज्ने मान्छेलाई सुरक्षा प्रत्याभूति हुने थियो । यसतर्फ यससँग सम्बन्धित निकायको ध्यान कहिले जाने ?

सवाल तीनः बुलबुलेको तारजाली, जता गयो उतै खाली ?
सुर्खेतमा घुम्न लायक स्थान कुन छ ? भनी कसैले सोधे हामीले दिने पहिलो जवाफ हुन्छ, बुलबुले ताल । हामीले बुझेसम्मको बुलुबुले ताल, बुलबुले पार्क वा पानी पधेंरो, जे वा जसरी हामी बुझौं । त्यसरी संरक्षण गरिएको र नगर विकास समिति मातहतमा रहेको बुलबुलेको तारजालीको स्थिति सुर्खेतको कुइनेपानी जंगलभन्दा फरक छैन । मुख्य गेटबाट बुलबुले प्रवेश गर्दा जुन झकिझकाउ स्थिति तपाईंको नजरमा पर्छन, भित्र पुगिसकेपछि त्यसको वरपरको स्थिति अत्यन्त नाजुक अवस्थामा रहेको छ । जताततैबाट व्यक्तिहरू प्रवेश गरिरहेका हुन्छन् । त्यसरी प्रवेश गर्दा उनीहरूले कुनै शुल्क तिर्नुपर्दैन तर मुख्य प्रवेशद्वारबाट प्रवेश गर्नेहरूलाई टिकट लिनुपर्दछ । त्यही टिकट पनि सवारी लिएर आएकाले लिइएको पाइदैंन । कर्मचारीहरूले बेवास्ता गरिरहेको पाइन्छ । पैदल बुलबुलेमा प्रवेश गर्नेहरूलाई भने टिकट काट्न लगाइन्छ जुन राम्रो काम हो । मुख्य गेटबाट पैदल हिँड्नेहरूले मात्रै टिकट काट्ने र अरुले नकाट्ने चाहिँ हुनुहुँदैन । नियम सबैलाई बराबर हुन्छ र कुनै पनि स्थानको लागि तोकिएको नियमको पालना गर्नु हरेक नागरिकको कर्तव्य हो । तारजाली व्यवस्थित नगर्नाले चौपाया पशु बुलबुले क्षेत्रभित्र छिर्नसक्ने सम्भावना रहन्छ । साथै बुलबुलेको तलतिरको भागमा सुरक्षाको डर महसुस हुन्छ । यसको मुख्य कारण तारजाली व्यवस्थित नहुनु नै हो । जताततैबाट बुलबुले प्रवेश गर्न सकिन्छ भने अगाडि प्रवेशद्वार बनाउनुको कुनै तुक छैन । नगर विकास समितिको यसमा ध्यान गएको खै ?

सवाल चारः ओपन कभर्ड हल हो कि बटुवा बस्ने प्रतिक्षालय ?
केही हप्ता अगाडि एउटा राजनैतिक पार्टीको कार्यक्रम आयोजना भएको थियो सुर्खेतको नवनिर्मित ओपन कभर्ड हलभित्र । त्यो कार्यक्रममा सहभागीले त्यो कभर्ड हलको जस्ता लगाएको छानोतिर हेरे कि हेरेनन् ? त्यो कभर्ड हल निर्माण सम्पन्न भएको (अहिले जे जति बनेको छ त्यसैलाई पूर्ण मान्ने हो भने ) धेरै समय पनि भएको छैन । त्यसबीचमा त्यो छानोको माथिल्लो भागको टिन खस्न लागेको स्थितिमा छ । निर्माण सम्पन्न भएको करिब एक वर्ष पूरा हुन नपाउँदै कर्भड हलको छानो हावाले बिगारिदिएको छ । त्यहाँ लगाइएको टिन खस्ने स्थितिमा पुगेको छ । साथसाथै कभर्ड हल वरपर लगाइएको तारजालीको कुनै महत्व छैन । तारजालीलाई नाघेर जानसक्ने बनाइएको छ र कभर्ड हलभित्र जुनसुकैबेला पनि मानिसहरू जान सक्छन, बस्न सक्छन् । अनि त्यहाँको संरचनामा क्षति पुग्नसक्छ । खासमा कभर्ड हल विशेष प्रयोजनको निमित्त निर्माण गरिएको हो । त्यस प्रयोजन हुने समय बाहेक अन्य समयमा त्यो क्षेत्रभित्र बाहिरी व्यक्तिहरूको बसोबास स्थल हुनु पक्कै राम्रो होइन । अझैं सुर्खेतमा विशाल कभर्ड हल निर्माण गर्ने भन्दै महायज्ञ गर्न लागिएको समाचारहरू आएका छन् । भएकोलाई बचाउन नजान्नेले नयाँ बनाएर त्यो जोगिनेमा के भर ? त्यति धेरै रकमको खर्च गरेर निर्माण गरिसकेपछि त्यसको संरक्षण ध्यान नदिने भएबीच जंगलको वरपिपल रुख भन्दा के फरक भयो र कभर्ड हल ? राष्ट्रिय खेलकुद परिषद्बाट निर्माण भएको यस कभर्ड हलको जिम्मेवारी जिल्लाको खेलकुद निकायले पाएको होला । त्यो निकायको यसमा ध्यान पुगेको खै ?

निश्कर्षः
साना–साना कुराहरूले पनि मान्छेको ध्यान खिचेको हुन्छ । अझ नकारात्मक असर पार्नमा साना कुरा नै बढी प्रभावशाली रहेका हुन्छन् । साना कुराहरूलाई हेलचेक्राइ गर्नु उपयुक्त कुरा होइन । यी कुराहरू हाम्रो नजरमा पर्न नसक्लान् तर यी सबै समृद्ध सुर्खेतको सवालसँग जोडिएका छन्, यी कुराहरू सम्पन्न वीरेन्द्रनगरको सवालसँग जोडिएका छन् । पर्यटन विकास, खेलकुद विकास, व्यापारिक विकास नै सुर्खेतका समृद्धिका आधारहरू हुन् । भविष्य सुन्दर देख्दा वर्तमानमा साना कुरालाई बेवास्ता गरेर अगाडि बढ्नु जायज कुरा होइन । काँक्रेविहार, बुलबुले जस्ता क्षेत्रमा पर्यटकीय गतिविधिलाई अगाडि बढाउन पहल गर्नु, वीरेन्द्रनगरको मुख्य बजार क्षेत्र तथा अन्य क्षेत्रमा फोहोरमैला व्यवस्थापनका लागि उपयुक्त कदम चाल्नु तथा खेलकुद विकासको लागि निर्माण गरिएका संरचनाको उपयुक्त मर्मत तथा सम्भार गर्नसकेमा मात्र यस्ता संरचनाहरू दीर्घकालीन रूपमा रहन सक्छन् । यसतर्फ सबैको ध्यान जानु जरुरी रहेको छ ।

(गौतमको साप्ताहिक स्तम्भ : पर्यालोचन)

प्रकाशित मितिः   ६ असार २०७३, सोमबार ०६:२५