मन्त्रीको सुविधामा ३३ लाख खर्च

पारिश्रमिक बाहेक एघार लाख, भ्रमणमा मात्रै साढे सात लाख

साझा बिसौनी संवाददाता
सुर्खेत, ३० पुस ।
कर्णाली प्रदेशका मन्त्रीहरूको सेवा सुविधामा ३३ लाख रूपैयाँ खर्च भएको छ । चालु आर्थिक वर्षको ६ महिनामा मात्रै तलब, भ्रमण भत्ता र अतिथि सत्कारमा ३३ लाख बढी खर्च भएको हो ।
गत साउनदेखि पुस मसान्तसम्म सात जना मन्त्रीले मात्रै ३३ लाख ६९ हजार नौ सय ५६ रूपैयाँ खर्च गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मन्त्रीहरूको सेवा सुविधा अन्तर्गत मासिक पारिश्रमिकमा २२ लाख ३७ हजार आठ सय २० रूपैयाँ खर्च भएको छ । यस्तै, सात लाख ५७ हजार एक सय ४५ रूपैयाँ मन्त्रीहरूको भत्तामा खर्च भएको छ । भैपरी खर्च र विविधमा मन्त्रीहरूले तीन लाख ७५ हजार रूपैयाँ खर्च गरेका छन् । मासिक पारिश्रमिक बाहेक ११ लाख ३२ रूपैयाँ खर्च भएको छ ।
६ महिनाको तथ्यांकमा सबैभन्दा बढी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खर्च गरेका छन् भने सबैभन्दा कम उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले खर्च गरेका छन् । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन–२०७५ अनुसार मन्त्री तथा मुख्यमन्त्रीहरूले मासिक पारिश्रमिक बुझेका छन् । ऐन अनुसार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ६० हजार नौ सय ७० का दरले ६ महिनामा तीन लाख ५६ हजार आठ सय २० रूपैयाँ पारिश्रमिक बुझेका छन् । यस्तै ६ जना अन्य मन्त्रीहरूले मासिक रूपमा ५२ हजार रूपैयाँका दरले जनही तीन लाख १२ हजार रूपैयाँ पारिश्रमिक लिएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अभिलेख अनुसार ६ महिनामा सबैभन्दा बढी भ्रमणभत्ता लिनेमा मुख्यमन्त्री शाही अगाडि छन् । उनले साउन यता दुई लाख २७ हजार एक सय २५ रूपैयाँ भ्रमण भत्ता लिएका छन् भने ७५ हजार रूपैयाँ भैपरी आउने र विविध खर्च वापत रूपैयाँ लिएका छन् । ऐन अनुसार मुख्यमन्त्री शाहीले सरकारी कामको शिलशिलामा नेपाल भित्र वा प्रदेश सरकारको तर्फबाट विभिन्न समारोह, उत्सव, सम्मेलन आदिमा भाग लिए वापत दैनिक तीन हजार रूपैयाँ लिन पाउँछन् । यस्तै, विदेश भ्रमण गर्दा दैनिक भत्ता वापत दुई सय अमेरिकी डलर भत्ता बुझ्न पाउने व्यवस्था कानुनमा छ ।
ऐन अनुसार मन्त्रीहरूका लागि भ्रमण भत्ता वापत दैनिक दुई हजार पाँच सय नेपालभित्रैको भ्रमणमा पाउने व्यवस्था छ भने विदेश भ्रमण जाँदा एक सय ७५ अमेरिकन डलरमा भत्ता पाउने व्यवस्था छ । मुख्यमन्त्री कार्यालयको विवरण अनुसार भ्रमण भत्ता बुझ्ने मन्त्रीहरूमा मुख्यमन्त्री पछि आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला छन् । उनले ६ महिनामा एक लाख ६२ हजार ६ सय ६५ रूपैयाँ भम्रण भत्ता बुझेका छन् । यस्तै, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले एक लाख १५ हजार दुई सय १० रूपैयाँ, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले एक लाख सात हजार दुई सय २५ रूपैयाँ भ्रमण भत्ता वापत लिएका छन् ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले सबैभन्दा कम ४४ हजार तीन सय ३० रूपैयाँ भ्रमण भत्ता लिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लेखा अधिकृत मानबहादुर सुनारले जानकारी दिए । यस्तै भौतिक पूर्वाधार विकास मन्त्री खड्गबहादुर खत्रीले ५० हजार पाँच सय ४०, सामाजिक विकास मन्त्री दलबहादुर रावलले ५० हजार ८० रूपैयाँ भ्रमण भत्ता बुझेका छन् । यसरी मुख्यमन्त्रीसहित सात जना मन्त्रीहरूले सात लाख ७५ हजार एक सय ४५ रूपैयाँ रकम भ्रमण खर्चमै सकेका छन् ।
ऐन अनुसार मुख्यमन्त्रीले मासिक १५ हजार र मन्त्रीहरूले १०÷१० हजार रूपैयाँका दरले साउनदेखि मंसिरसम्म तीन लाख ७५ हजार रूपैयाँ अतिथि सत्कार वापत खर्च लिएका छन् । विगतमा भैपरी सुविधा लिँदै आएका मन्त्रीहरूले मंसिर यता भने अतिथि सत्कार शीर्षकमा सुविधा दिइदैं आइएको छ । ‘सेवा सुविधा सम्बन्धी कानुन मंसिर १० गते प्रमाणीकरण भएर आएको छ’ लेखा अधिकृत सुनारले भने, ‘प्रदेश कानुन आउनुपूर्व मन्त्रीहरूका लागि भैपरी आउने सुविधा प्रदान गरिदैं आइएको थियो ।’ उनका अनुसार मन्त्रीहरूले सञ्चार सुविधा वापतको रकम भने लिएका छैनन् । ऐन अनुसार सञ्चार सुविधा वापत मुख्यमन्त्रीका लागि सात हजार, मन्त्रीका लागि पाँच हजार र राज्यमन्त्री तथ सहायक मन्त्रीका लागि तीन÷तीन हजार रूपैयाँ तोकिएको छ ।