दुर्घटना रोक्न चालकको स्वास्थ्य जाँच
साझा बिसौनी संवाददाता
सुर्खेत, २९ पुस ।
वीरेन्द्रनगर–११ सुर्खेतका टिलबहादुर चुनारा शिवराज कन्ट्रक्सन प्रालिद्वारा सञ्चालन गरिएको गाडीका चालक हुन् । डोजर, स्काभेटरलाई आफ्नो गाडीमा राखेर उनी ग्रामीण भेगसम्म पुग्छन् । गाडीको स्टेरिङ्ग घुमाउँदैमा उनको दैनिकी बित्छ । गाडी चलाउँदैमा व्यस्त उनलाई करिब एक वर्षपछि प्रहरीले छोपेरै स्वास्थ्य परीक्षण ग¥यो । नेपालगन्जदेखि सुर्खेत आउँदै गरेका उनले वीरेन्द्रनगर–११ स्थित प्रहरीले सञ्चालन गरेको चालकको स्वास्थ्य परीक्षणका क्रममा स्वास्थ्य अवस्थाबारे जानकारी लिए । ‘विगत एक वर्षदेखि रक्तचापको औषधि खाइरहेको छु’ उनले भने, ‘गाडी चलाउँदा चलाउँदै खाने र बस्ने ठाउँको ठेगान हुँदैन, कतिबेला स्वास्थ्य परिक्षण गर्ने ? अब औषधिको मात्रा बढाउन डाक्टरसावले सल्लाह दिनुभएको छ ।’
डाक्टरको सल्लाह अनुसार नै औषधि सेवन गर्ने प्रतिबद्धता उनले जनाए । उनी जस्ता एक सय आठ जना सवारी चालकले प्रहरीद्वारा सञ्चालित शिविरमा स्वास्थ्य परिक्षण गराएका छन् । यस्तै ५४ वटा सवारी साधनको अवस्था परीक्षण गरिएको छ । सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीले अब ड्राइभरको स्वास्थ्य परीक्षण गर्न थालेको छ । सुर्खेत जिल्लामा भित्रिने तथा यहाँबाट बाहिरिने गाडीका चालकहरूको स्वास्थ्य अवस्थाबारे ट्राफिक प्रहरीले परीक्षण थालेको हो ।
चालक मानसिक तथा शारीरिक रूपमा स्वस्थ भए दुर्घटना न्यूनीकरण हुने निश्कर्ष निकालेको प्रहरीले मासिक रूपमा ड्राइभरको स्वास्थ्य परीक्षण गर्ने भएको हो । आइतवार वीरेन्द्रनगर–११ स्थित सुब्बाकुनामा प्रहरीले चालकको स्वास्थ्य परीक्षण गरेको छ । नेपालगन्जदेखि सुर्खेत भित्रिने र सुर्खेतदेखि काठमाडौं, नेपालगन्ज लगायतका जिल्ला तथा सुर्खेतकै पूर्वी क्षेत्रमा चल्ने सवारी साधनकोसमेत परीक्षण गरिएको छ । चालकको स्वास्थ्यसँगै गाडीको अवस्थाबारेमा पनि परीक्षण गरिएको थियो । सर्भिसिङ्ग नगरिएका तथा पुराना गाडीहरूलाई मर्मत गर्न निर्देशन दिइएको छ भने चालकहरूलाई उपचारका लागि सल्लाह सुझाव दिइएको प्रदेश ट्राफिक प्रहरी प्रमुख जनकराज पाण्डेले बताए । उनका अनुसार चालकको प्रेसर, आँखा, तौल लगायतको स्वास्थ्य परीक्षण गरिएको थियो ।
स्वास्थ्य परीक्षण, सवारी साधनको जाँचपछि प्रहरीले असल चालकका पहिचान समेत गरेको छ । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रदिपबहादुर क्षेत्रीले दुर्घटना न्यूनीकरण गर्न प्रहरी एक्लैले मात्रै नसक्ने भन्दै सबैको सहयोग आवश्यक रहने बताए । गाडी चालकको नियमित स्वास्थ्य अवस्थाबारेमा लिइएको जानकारी प्रहरीले समेत राख्ने भएको हो । यसरी चालकको स्वास्थ्य अवस्थाबारे शिविरमार्फत् परीक्षण हुँदा चालकले शरीरमा लागेका रोगका बारेमा समेत जानकारी पाउने छन् । जसले चालकसमेत ढुक्क भएर गाडी चलाउने अवस्था सिर्जना हुने विश्वास प्रहरीले लिएको छ ।
६ महिनामा २१ जनाको मृत्यु
सवारी दुर्घटनामा परी सुर्खेतमा २१ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको ६ महिनामा भएका ३० वटा सवारी दुर्घटनामा २१ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । प्रहरीको तथ्यांक अनुसार चालु आवको ६ महिनामा १५ जना पुरुष र ६ जना महिला गरी २१ जनाको मृत्यु भएको छ । दुर्घटनाकै कारण ७१ जना पुरुष र २६ जना महिला गरी ९७ जना घाइते भएका छन् ।
दुर्घटना न्यूनीकरणका लागि विद्यालय तथा समुदायस्तरमा छलफल तथा अन्तरक्रिया लगायतका जनचेतनामूलक थुप्रैै प्रयासहरू भए पनि कमी आउन सकेको छैन । ट्राफिक नियमको पालना नगर्नु र चालकहरूको लापरबाहीका कारण दुर्घटना न्यूनीकरणमा चुनौती बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख हरिबहादुर बिसीले बताए । ‘६ महिनामा दुई सय ४८ वटा ट्राफिक सचेतना सम्बन्धी तालिमहरू दिइएको छ’ उनले भने, ‘जनचेतनामूलक कार्यक्रमसँगै चालकहरूलाई बेलामौका सचेत गराउने काम पनि प्रहरीले गर्दै आएको छ ।’
उनले प्रहरीको सक्रियता बढेकाले विगतको तुलनामा चालु आर्थिक वर्षमा दुर्घटना न्यूनीकरण हुने दाबी गरे । दुर्घटना रोक्न राजमार्गका विभिन्न साँघुरा तथ घुमाउँरा सडकहरूमा चेतनामूलक बोर्डहरू राख्ने, यातायातका कर्मचारी र काउन्टरका कर्मचारीलाई ट्राफिक नियमबारे जानकारी दिने, चालकलाई ट्राफिक नियमबारे जानकारी दिने लगायतका कार्य भएको उनले जानकारी दिए ।
प्रहरीले सवारी जाँचमा सक्रियता बढाएकाले राजश्व संकलनमा भने बृद्धि भएको छ । यस आवको ६ महिनामा १२ हजार चार सय ८५ वटा सवारी साधनहरू कारबाही गरेको तथ्यांक प्रहरीसँग छ । जसबाट ७८ लाख ६० हजार पाँच सय रूपैयाँ राजश्व संकलन भएको छ । विगतका वर्षहरू भन्दा यस आवको ६ महिनामा यो बढी भएको ट्राफिक प्रहरी निरीक्षक बिसीले बताए । आर्थिक वर्ष २०७४÷०७५ मा ट्राफिक प्रहरीले १४ हजार नौ सय ९४ वटा सवारी साधन कारबाही गरेको थियो । जसबाट ८७ लाख ८९ हजार रूपैयाँ राजश्व संकलन भएको थियो । यो तुलनामा यो आवमा राजश्व बढ्ने अनुमान गरिएको छ । पर्याप्त कर्मचारी नहुनुले अझै प्रभावकारी रूपमा ट्राफिक व्यवस्थापन गर्न नसकिएको उनले जानकारी दिए ।
साझा बिसौनी संवाददाता ।