थारु संग्रहालय स्थापना हुँदै

सीता वली
सुर्खेत, २८ पुस ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा थारु संग्रहालय स्थापना हुने भएको छ । थारु जातिहरूको संस्कृति संरक्षणका लागि संग्रहालयको स्थापना गर्न लागिएको हो ।
कर्णाली प्रदेशका १० जिल्लामध्ये सुर्खेत जिल्लामा मात्रै बस्दै आएका थारु जातिहरूको संस्कृति तथा परम्परालाई जोगाइ राख्नको लागि संग्रहालय स्थापना गर्न लागिएको थारु कल्याणकारिणी सभाका अध्यक्ष बेचुलाल चौधरीले जानकारी दिए । उनले भने ‘कर्णाली प्रदेशको सुर्खेत जिल्लामा मात्रै थारु जातिको बसोबास रहेको छ । आफ्नो संस्कृति जोगाउनको लागि यो संग्रहालय स्थापना गर्दैछौं ।’
करिब १४ लाखको लगानीमा वीरेन्द्रनगर–९ कालीमाटीमा निर्माण गरिने संग्रहालयको भवनका लागि जग्गा भने स्थानीयले दान गरेको चौधरीले जनाए । उनका अनुसार वि.सं. २०७१ सालबाट संग्रहालय निर्माणको काम थालनी गरिएको हो । सानो–सानो टुक्रे बजेटबाट संग्रहालयको भवन निर्माण गर्दै आएको अध्यक्ष चौधरीले जानकारी दिए । उनले थपे ‘थोरै संख्यामा रहेका थारु जातिहरूको संस्कृति बचाउनमा आज हामीहरू लागेनौं भने भोलि यो जातिको रहन–सहन लोप भएर जान सक्छ ।’ यहाँका आदिवासी थारु जातिहरूको संरक्षण र संकृति जोगाउन सरकारी निकायबाट कुनै वास्ता नभएपछि आफै संग्रहालय निर्माण गरेर कला तथा संस्कृति संरक्षणमा लागेको उनको भनाइ छ । ‘प्रदेश सरकारले खासै चासो नदेखाए पनि स्थानीय सरकारले भने केही बजेट दिएको छ’ चौधरीले भने, ‘प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल काँक्रेविहारको आडैमा रहेको थारु संग्रहालय अवलोकन गर्नेको ठूलै भिड लाग्ने हामीहरूले अनुमान गरेका छौं ।’
संग्रहालयमा थारु संस्कृति झल्काउने सम्पूर्ण सामग्रीहरू हलो, कोदालो, कुटो, खल, ढिकी जाँतो, तथा हेल्का, जाल, धिमर, खोङ्गिीया हेर्न पाइनेछ । साथै थारु जातिहरूको पोशाक, गरगहना लगायतका सामग्री जसले थारुहरूको पहिचानको संरक्षण गर्ने थारु कल्याणकारिणी सभाका सल्लाहकार जागुराम चौधरीले बताए । उनले भने ‘अहिलेसम्म भवन निर्माणमा १४ लाख रूपैयाँ खर्च भइसकेको छ । अझै व्यवस्थापनको लागि रकम अभाव छ । यसको लागि प्रदेश सरकारसँग माग गरेका छौं ।’
कर्णालीलाई पर्यटकीय हव बनाउने प्रदेश सरकारको लक्ष्यलाई यो संग्रहालयले समेत सहयोग गर्ने सल्लाहकार चौधरीको भनाइ छ । काँक्रेविहारको आडैमा थारु संग्रहालय र थारु होमस्टे सञ्चालन भएपछि पर्यटकहरूलाई घुमेर थकान मेट्न तथा खानबस्न सहज हुने उनको भनाइ छ । सुर्खेतमा करिब एक हजारभन्दा बढी घरधुरी संख्या रहेका थारु जातिहरूको जनसंख्या करिब नौ हजार छ ।

प्रकाशित मितिः   २९ पुष २०७५, आईतवार १४:४८