माघ १ गते सार्वजनिक बिदा

साझा बिसौनी संवाददाता
सुर्खेत, २७ पुस ।
कर्णाली प्रदेश सरकारले माघे संक्रान्तिको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
यस्तै बैठकले प्रदेशमा सार्वजनिक बिदा निर्धारण सुझाव समिति गठनसमेत गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा गठित समितिमा सामाजिक विकास मन्त्री दल रावल र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यज्ञराज बोहरा सदस्य रहेका छन् । समितिले प्रदेश सरकारले दिन पाउने सार्वजनिक बिदाका बारेमा टुङ्गो लगाउने छ ।
त्यसैगरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार पारेको सुशासन प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सैद्घान्तिक सहमति प्रदान गरिएको छ । सामाजिक विकास मन्त्रालयले तयार पारेको कर्णाली प्रदेश स्वयंसेवक परिचालन कार्यविधि स्वीकृत, प्रदेश युवा परिषद्को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, घरेलु हिंसा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सैद्धान्तिक सहमति दिइएको जनाइएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीका अनुसार उपभोक्ता हित संरक्षण सम्बन्धी विधेयकलााई सैद्धान्तिक सहमति प्रदान गरिएको छ भने जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिकाको नाम परिवर्तन गर्ने प्रस्तावलाई छलफलका लागि मन्त्रिपरिषद्को राजनैतिक समितिमा पठाइएको छ ।

प्रकाशित मितिः   २८ पुष २०७५, शनिबार १४:३९