दैलेखको गढी सबैका लागि खुला गरिने

साझा बिसौनी संवाददाता
दैलेख, २७ पुस ।
जिल्ला सदरमुकामस्थित दैलेखको कोतगढी अब सबैले हेर्न पाउने गरी खुला गरिने भएको छ । नेपाली सेनाको नाममा नापी भएको कारण यसअघि सार्वजनिक रूपमा आवागमन हुन सकेको थिएन ।
२९७ औं राष्ट्रिय एकता दिवसको अवसरमा दैलेखको कोतगढीमा आयोजित उत्तरपश्चिम पृतना सुर्खेतका निमित्त पृतनापति सहायक रथी अर्जुन श्रेष्ठले सबैका लागि खुला गरिने बताएका हुन् । ऐतिहासिक स्थलको संरक्षण र सम्वद्र्धनलाई साझेदारी बढाउने उद्देश्यले सम्बन्धित स्थानमै आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा स्थानीयहरूले सबैका लागि खुला गरिनुपर्ने माग राखेपछि सहायक रथी श्रेष्ठले खुला गरिने बचन दिएका हुन् ।
जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले जिल्ला समन्वय समितिले प्रदेश सरकार र रक्षा मन्त्रालयलाई कोतगढी सर्वसाधारणका लागि खुला गराउन गरेको आग्रह बमोजिम सेनाले कोतगढी खुला गराउन सहमत भएको दाबी गरे । नारायण नगरपालिकाले कोतगढीको मर्मत सम्भारका र सजावटका लागि काम गर्न चालु आर्थिक वर्षमा १० लाख रूपैयाँ विनियोजन गरेको नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले जानकारी दिए । दैलेखको कोतगढी खुला गराउँदा जिल्लाको पर्यटन प्रवद्र्धनमा यसले सघाउने पूर्व जिविस उपसभापति एवम् नागरिक समाजका अगुवा खड्गबहादुर सिजापतिले बताए ।
बाइसे–चौबीसे राज्य हुँदा आफ्नो किल्ला रक्षाको निम्ति दैलेख सदरमुकामको दक्षिण किनाराको अग्लो स्थानमा ढुङ्गैढुङ्गाको कोतगढी बनाइएको छ । प्रमाणित अभिलेख नभेटिए पनि यो कोतगढी झण्डै तीन सय वर्षअघि बनेको हुनसक्ने इतिहासकारहरूको अनुमान छ । दैलेखमा एकै समयमा बनेका अनुमान गरिएका चार भन्दा बढी गढीहरू सुरक्षाको अभावमा जीर्ण भग्नावशेषमा परिणत भएका छन् ।

प्रकाशित मितिः   २८ पुष २०७५, शनिबार १४:३८