उपभोक्ताले पानीजन्य रोगको उपचार पाउने

जगतदल जनाला बिक
पञ्चपुरी, २६ पुस ।
पञ्चपुरी नगरपालिकाको दुई वटा वडाका नागरिकले पानीजन्य रोगको उपचार सेवा पाउने भएका छन् । नगरपालिकाको वडा नं. ५ र ६ का नागरिकलाई बावियाचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले पानीजन्य रोगको उपचार गरिदिने भएको हो ।
तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गतको उपभोक्ता समितिले अबको तीन वर्षभित्र पानीको प्रयोगबाट लाग्ने रोगहरूको उपचार गरिदिने योजना अघि सारेको छ । समितिको नवौं वार्षिक साधारणसभाबाट उपभोक्तालाई पानीबाट लाग्ने विभिन्न रोगहरूको उपचार गरिदिने गरी ‘स्वस्थ नागरिक र सफा पिउने पानी’ को अवधारणा अघि सारेको हो । समितिले अहिले नगरपालिकाका दुई वटा वडामा खानेपानी आपूर्ति गर्दै आएको छ ।
सभामा समितिको आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोषाध्यक्ष लोकबहादुर बुढाले स्वच्छ खानेपानी वितरणमा कुनै कसर बाँकी नराख्ने बताए । साथै उनले आयोजना निर्माण गर्दा नगर विकास कोषबाट लिइएको ऋण सम्झौता अनुसार तिर्नुपर्ने भएपछि उपभोक्ताहरूले अहिले खानेपानीको चर्को महसुल तिर्नुपर्ने अवस्था आएकोले अनुदानका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारसँग अनुरोध गरे । उनले आर्थिक वर्ष २०७४÷०७५ को चार करोड १६ लाख १८ हजार रूपैयाँ बराबरको आयव्यय प्रस्तुत गरे ।
कार्यक्रममा सहभागीहरूले राज्यले स्वच्छ खानेपानी पाउनुपर्ने नागरिकको अधिकार कार्यान्वयन गर्न नसकेको बताएका छन् । राज्यको बेवास्ताका कारण पश्चिम क्षेत्रका बासिन्दाहरूले महँगो महसुल तिर्न बाध्य भएको उनीहरूको गुनासो थियो । धारा जडान गर्दा धरौटी र महसुल बढाउन भन्दा पनि सर्वसुलभ र स्वच्छ खानेपानी वितरण हुनुपर्ने कार्यक्रमका वक्ताहरूले बताए । कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले पहिलेको तुलनामा धेरै विकास भएको बताउँदै अन्य थुप्रै फजुल खर्च गर्नुभन्दा स्वच्छ खानेपानीमा लगानी गर्नाले आफ्नो गाउँ आफै बनाउँ भन्ने नारा सार्थक हुने बताए । कर्णाली प्रदेशसभाका उप–सभामुख पुष्पा घर्तीले यहाँका नागरिकलाई पानीको महसुल तिर्न सक्ने गरी आयआर्जनका लागि सीप विकासका कार्यक्रम ल्याउन नगरपालिकालाई आग्रह गरिन् ।
जनताका चाहना बुझेर निर्वाचन ताका गरेका वाचा पूरा गर्ने उनले बताइन् । प्रदेशसभा सदस्य विन्दमान विष्टले संघीय संरचना अनुसार स्थानीय सरकारले सिंहदरबारको अधिकार पाइसकेको भन्दै परदर्शीता अपनाउनुपर्ने र यहाँका जनताको स्थितिलाई बुझेर महसुल निर्धारण गर्नुपर्ने बताए । पञ्चपुरीका नगर प्रमुख उपेन्द्र थापाले खानेपानी विकास र विस्तारमा नगरपालिकाले सहयोग गरिरहेको र आगामी दिनमा पनि सबै जप्रतिनिधिसँग सहकार्य गरी अगाडि बढ्ने बताए ।
बावियाचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष जीवन ढुङ्गानाले स्वस्थ खानेपानीको उपयोगले धेरै रोगहरूबाट बच्न सकिने भन्दै पानीको गुणस्तर अनुसार महसुल बढी नभएको जिकिर गरे । नगर विकास कोषको ऋण तिर्नुपर्ने भएकाले शुल्क वृद्धि गरिएको उनले जनाए ।

प्रकाशित मितिः   २७ पुष २०७५, शुक्रबार १५:१८