सामुदायिक विद्यालय सुधारमा जोड
साझा बिसौनी संवाददाता
सुर्खेत, २६ पुस ।
सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू जिम्मेवार नहुँदा शैक्षिक अवस्था सुधार हुन नसकेको गुनासो सरोकारवालाहरूले गरेका छन् । राष्ट्रिय पढाइ सीप प्रवद्र्धन कार्यक्रम कार्यान्वयन जिल्ला समन्वय समितिको बैठकमा समितिका सदस्यहरूले सामुदायिक विद्यालयको पढाइ सुधार गर्न शिक्षकको महŒवपूर्ण भूमिका भए पनि शिक्षक नै जिम्मेवार नबनिरहेको बताएका हुन् ।
समितिका सदस्य तथा शिक्षक महासंघ सुर्खेतका अध्यक्ष कृष्ण थापाले विद्यालयमा पढाउने शिक्षक शिक्षणमा भन्दा पनि राजनितिक क्रियाकलापमा बढी सहभागी हुने भएकाले पनि समस्या भएको बताए । उनले विद्यालयबाहिर राजनितिक दलका भातृ संगठनका कार्यक्रममा हिँड्ने शिक्षक विद्यालय आउँदा विधार्थीको पढाइमा गम्भीर नभएको बताए ।
समितिका अर्का सदस्य तथा मदरसा मदिना बेलघारीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अहमद रजाले स्थानीय तहका जनप्रतिनिधी अझै पनि शैक्षिक क्षेत्र प्रति गम्भीर नभएकाले शिक्षाको अवस्था माथि उठ्न नसकेको बताए । राष्ट्रिय पढाइ सीप प्रवद्र्धन कार्यक्रमका जिल्ला संयोजक नरेश ढकालले कक्षा १, २ र ३ का विधार्थीका लागि विद्यालयलाई प्रदान गरिएका शैक्षिक साम्रगी नै विद्यालयहरूले प्रयाग नगरेको पाइएको बताए । संयोजक ढकालले पाठ्यक्रममै समावेश गरेर पढाउनुपर्ने शैक्षिक सामग्रीको प्रयोगमा जिल्लाका केही विद्यालयले प्रभावकारी रूपमा पढाए पनि केही विद्यालयले अत्यन्तै गैरजिम्मेवारीपन देखाएको बताए । यसैबीच समितिको बैठकले सामुदायिक विद्यालयको पठन–पाठन प्रणालीलाई सुधार गर्न समय–समयमा अनुगमन गर्नुपर्नेमा जोड दिएको छ । सरकारी विद्यालयको अवस्था सुधार गर्न राम्रा विद्यालयलाई प्रोत्साहन र कमजोर विद्यालयलाई कारबाहीको व्यवस्था गर्नुपर्ने बैठकले निर्णय गरेको छ ।
साझा बिसौनी ।