पृथ्वीनारायण शाहः एकताका प्रतिक
डम्बरबहादुर खत्री
वितौडका मिचाखान राजवंशीका एघारौं पुस्ता नरभुपाल शाहकी माहिली रानी कौशल्यावतीको गर्भबाट सात महिना पुरा गरेर पृथ्वीनारायण शाहको जन्म वि.सं. १७७९ पुस २७ गते गोरखामा भएको थियो । यिनको जन्मको केही समयपछि नरभुपाल शाहकी साहिली रानी बुद्धिमतीको गर्भबाट १० महिना पूरा गरी बृन्दकेशर शाहको जन्म भएकाले युवराज घोषणमा जन्मको जेठोलाई मान्ने वा गर्भको जेठोलाई मान्ने चर्को विवाद भएको थियो तर बृन्दकेशर शाहको केही समयपछि असामयिक निधन भएकाले विवाद अन्त्य भएको थियो (आचार्य २०२५ प्र.११)
पृथ्वीनारायण शाहलाई सानैदेखि लालपालन र शिक्षा दिक्षामा उनकी जेठी आमा चन्दप्रभावतीबाट भएको थियो । उनलाई विलासी, ठाँटबाँट र अयोग्य शासकबाट जोगाउन चन्द्राप्रभावतीको ठूलो भूमिका रह्यो । योग्य शासक र महापुरुष बनाउन उनले प्रख्यात पण्डित भानु अर्याल र महेश्वर पन्तलाई शिक्षा दिने जिम्मेवारी तोकिदिइन् । उनलाई रामायण र महाभारत, पुराण, शुक्रनीति, शप्तशती जस्ता नीति शास्त्र पढाउन लगाइयो । शास्त्र विधा र व्यवहारिक ज्ञान दिइयो जसले गर्दा सुयोग्य, लगनशील, सच्चरित्र र परिश्रमी बनाउन थालियो मानौं उनी मराठाका शासक शिवाजी जस्तै बन्न पुगे ।
उनलाई युवराज अवस्थाबाटै बुबाको नुवाकोट पराजयको इख लागेको थियो । जसका लागि नजिकको शक्ति सम्पन्न राज्य र सामरिकस्थल मकवानपुरसँग बैवाहिक सम्बन्ध गाँसे तर मकवानपुरसँग सम्बन्ध त्यति राम्रो नभएपछि फर्किंदा उपत्यकाप्रति मन लोभ्याएर उपत्यका हत्याउने इच्छा पूरा गर्न सन् १७४० जनवरी २१ मा लमजुङसँग मैत्रीसन्धी गरे भने दोस्रो विवाहको लागि बनारस पुगी त्यहाँकी राजकन्या नरेन्द्रलक्ष्मीसँग विवाह समेत गरेर प्र्रशस्त हात हतियार र कालिगढ ल्याएर आए । तत्पश्चात उपत्यकाको वास्तविकता बुझ्न झक्तपुर यात्रा गर्दै केही समय बसेपछि त्यहीं वीरनरसिंह मल्लसँग मितेरी लगाएका थिए ।
सन् १७४३ मा राज्यभिषेक भयो । त्यसबेलादेखि राजकीय छाप (लालमोहर) प्रचलनमा ल्याए । केही समयपछि नुवाकोटमाथि आक्रमण गरी पराजय भोगेपनि दोस्रो पटक विजय प्राप्त गर्न र आसपासको ठाउँ कब्जा गर्न तत्काल बनारस यात्रा गरी हातहतियार, बारुद, पाल समेत व्यवस्था गरे । हातहतियार मर्मतका लागि उस्ताद साथमै ल्याए भने बनारस बस्दा आफ्नो भारद्वाज गोत्र परिवर्तन गरी कश्यप गोत्र ग्रहण गरे । अनि मात्र दोस्रो पटक नुवाकोट आक्रमण गरी त्यस आसपासका ठाउँ भिरकोट, सतुहँ, गरहुँ, दोर आदि समेत कब्जा गरे ।
नुवाकोट र बेलकोटपछि सांगाचोकमाथि आक्रमण गरे । त्यसको केही समयपछि उनले काठमाडौं उपत्यका पूर्वका क्षेत्र कब्जा गरे भने कुटनीतिक रूपमा चौबीसे राज्यहरूलाई उपत्यकाको राजनीतिमा चासो नराख्ने र अलग राख्ने प्रयास गरे । जसबाट चौबीसे गुटमा फुट ल्याउन उनी सफल पनि भए । वीर साहसी कालु पाण्डेलाई कजाइ दिएर पहिलो पटक कीर्तिपुर आक्रमण गरे तर असफल भएपछि उपत्यकाको आर्थिक नाकाबन्दी गर्ने नीति लिए । त्यहीताका भक्तपुर आसपासका ठाउँ कब्जा पनि गरे भने सामरिक महŒवको शक्तिशाली राज्य मकवानपुरमाथि आक्रमण गरी सन् १७६२ मा विजय हात पारे । त्यसपछि सन् १७६३ जनवरी २० मा मिरकासिम सेना गुरगिनखाँको फौजसँग कडा टक्कर गर्नुप¥यो । उनीहरूलाई हराइसकेपछि बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र भक्तपुर मातहतका धुलीखेल, बनेपा, पनौती, नालासांगामा विजय प्राप्त गरे भने त्यही उत्साहका साथ कीर्तिपुरमा तेस्रो पटक मात्र विजय गर्न सफल भए । अब पुरै उपत्यका कब्जा हुने सम्भावना देखेर जयप्रकाश मल्ले अंग्रेजसँग सहयोग मागि कप्तान किनलकको फौजसँग उनले कडा टक्कर लिनुपरेको थियो । आफ्ना एक हजार ६ सय सेना गुमाएर किनलकले नराम्रो पराजय भोग्नुपरेको थियो ।
(चौधरी केसी १९६०)
तत्पश्चात पृथ्वीनारायण शाहले केही समयको प्रयत्नपछि सिंगो उपत्यका कब्जा गरी पूर्वी बाइसी शक्ति सम्पन्न राज्यहरू र पश्चिमी शक्ति सम्पन्न राज्यहरूसँग मुकाविला गरी केही राज्य गोर्खामा मिलाउने काम गरे । लामो समयदेखि खोटो टक ‘नाग टाङ’ विवादले बिग्रिएको तिब्बतसँगको सम्बन्ध दरिलो बनाउन सफल भए ।
कैयौं टुक्रामा विभाजित नेपाललाई भौगोलिक, सामाजिक, सामरिक एवम् भावनात्मक रूपमा एकीकरण गर्ने नयाँ युगका श्रष्टा पृथ्वीनारायण शाहलाई नेपाल राष्ट्रका निर्माता भनिन्छ । हुन पनि बाल्यकालदेखि राजश्री ठाँटबाँठबाट अलग्गिएर रात दिन ज्यानको प्रवाह नगरी राष्ट्र निर्माणमा खटिरहनु, ३२ वर्षसम्म युद्धमा होमिएर आफ्नो लगनशीलता, धैर्यता, दूरदर्शीताले उनको नशा–नशामा देशभक्तिको रगत बगिरहेको अनुभव हुन्छ । उनले आफूपछिका उत्तराधिकारीलाई समेत एकीकरणको महान् अभियान पूरा गर्ने प्रेरणा दिइ सिंगो राष्ट्रलाई एकताको शूत्रमा बाँधेर एकमात्र राष्ट्रिय ध्वजावाहक झण्डा गाड्न सफल बनाउनु नेपालको इतिहासमा एक अमिट छाप बसाल्नु हो । टुक्रामा विभाजित नेपालको विशुद्ध भावनात्मक देशप्रेमरूपी एकता हो । पृथ्वीनारायण शाह एक शाहसी, वीर पुरुष, धैर्यवान, दृढविश्वासी एवम् महŒवकांक्षी प्रशासक थिए भन्नुमा दुई मत छैन । सेना प्रतिको सद्भाव, पदोन्नती, न्यायपूर्ण शासनका कारण काजी तथा सेना उनी प्रति आज्ञाकारी हुनु स्वाभाविक थियो ।
अनेकौ पराजय र सैन्य क्षति भए पनि निराश नभएर युद्ध र कुटनीतिबाट आफ्नो अभियान सफल पारी छाडे । गाभिएका राज्यका शासक, जनता र सेनासँग उत्तिकै सम्मान र न्याय गरिरहे । आफ्ना भाइभारद्वाजहरूको निहीत स्वार्थबाट टाढै रहेर एकता खल्बल्याउन दिएनन् । आफ्नो अन्तिम दिनहरूमा समेत देशको भावी संरक्षणको चिन्ताले ओतप्रोत हुँदै मर्मस्पर्शी उपदेश दिँदै यो संसारबाट बिदा लिए जुन सदियौंसम्म नेपालीका लागि व्यवहारयोग्य उपदेश हुनेछन् । उनको व्यक्तित्वको बारेमा जानकारी जो कसैले पनि मुक्तकण्ठले प्रशंसा त गर्नु नै पर्छ तर पनि केही इतिहासकारहरूले तत्कालीन युद्धप्रतिको रिस, राग र जोशले गरेका अमानवीय व्यवहार गरी आलोचना गरेका छन् । जस्तै किर्तिपुरको पटक–पटक पराजयले रिस र उन्माद भएकाबेला कीर्तिपुरका जनताको नाककान काट्नु, जिद्धिवाल स्वभावले कालु पाण्डेको ज्यान गुमाउनु उनका कठोर निर्माण थिए । तर पनि उनले जे गरे देशभक्तिको कारणले नेपाल एकीकरणको सपना पूरा गर्ने ध्येयले गरे भन्ने पक्षमा दुईमत देखिदैंन ।
(लेखक सुर्खेत क्याम्पस शिक्षाका उप–प्राध्यापक हुन् ।)
प्रकाशित मितिः २७ पुष २०७५, शुक्रबार १५:१६
साझा बिसौनी ।