मल्लको निलम्बन यथावत

साझा बिसौनी संवाददाता
सुर्खेत, २४ पुस ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिस्ट्रार डा. महेन्द्रकुमार मल्ललाई गरिएको निलम्बन यथावत रहने भएको छ । सर्वोच्च अदालतले उनको मुद्दामाथि अन्तरिम आदेश जारी नगर्ने फैसला गरेसँगै उनीमाथि निलम्बनको निर्णय कायम रहने भएको हो ।
उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाको सिफारिसमा विश्व–विद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले रजिस्ट्रार मल्लमाथि गत मंसिर २० गते छानविन समिति गठन गरेपछि उनी स्वतः निलम्बनमा परेका थिए । निलम्बनको निर्णय भएपछि मल्ल सर्वोच्च पुगेका हुन् । गैरकानुनी रूपमा आफूलाई निलम्बनको निर्णय गरिएको भन्दै मल्लले अदालत गुहारेपछि सर्वोच्चले गत मंसिरमा निलम्बनको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।
सर्वोच्च अदालतका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले अन्तरिम आदेश जारी गर्दै निलम्बनको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । सर्वोच्चको आदेशपछि मल्ल पुनः काममा फर्किएका थिए । तर मंगलवार न्यायाधीशद्वय हरिकृष्ण कार्की र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले अन्तरिम आदेश जारी सम्बन्धमा अर्को आदेश दिएको हो । जसमा उक्त मुद्दामा अन्तरिम आदेश जारी नहुने जनाइएको छ । अदालतको यो आदेशसँगै रजिस्ट्रार निलम्बनको मुद्दा विश्वविद्यालय ऐन अनुसार नै अघि बढ्ने जनाइएको छ । ऐन अनुसार निलम्बनमा परेका मल्लले अब काम गर्न पाउने छैनन् र उनीमाथिको छानविन कार्य अवरुद्ध नहुने कानुन व्यवसायीहरू बताउँछन् । सर्वोच्चको आदेशसँगै मल्लको निलम्बनपछि नियुक्त गरिएका सह–प्रध्यापक यामबहादुर कार्की नै रजिस्ट्रारको जिम्मेवारीमा रहनेछन् ।

प्रकाशित मितिः   २५ पुष २०७५, बुधबार १२:००