प्राकृतिक विपद्ले वर्षेनी लिन्छ ज्यान

कर्णालीमा बाढी र आगलागीको उच्च जोखिम


साझा बिसौनी संवाददाता
सुर्खेत, २४ पुस ।
गत साउन २१ मा पहिरोले पुरिएर जाजरकोटमा आठ जनाको मृत्यु भयो । निरन्तर भएको वर्षासँगै भेरी नगरपालिका–३ ठाँटीस्थित तिर्थ बोहरा र गोपाल सुनारको घर पहिरोले पुर्दा उनीहरूको ज्यान गएको हो ।
जाजरकोट घटना एक उदाहरण मात्र हो, प्राकृतिक विपद्बाट कर्णालीमा वर्षेनी नागरिकले ज्यान गुमाउने गरेका छन् । बाढी, पहिरो, आगलागी, चट्याङ, हावाहुरी लगायतका प्राकृतिक प्रकोपबाट कर्णालीमा हरेक वर्ष ठूलो क्षति हुने गरेको पाइएको छ । पछिल्लो तीन वर्षमा मात्रै यहाँका १० जिल्लामा प्राकृतिक विपद्बाट ६५ जना नागरिकले ज्यान गुमाउन पुगे । त्यसैगरी एक सय ४८ जना घाइते भएको र आठ जना बेपत्ता भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको प्राकृतिक प्रकोपबाट भएको क्षतिको विवरण अनुसार कर्णाली विपद्को उच्च जोखिममा रहेको पाइएको छ ।
प्रहरीका अनुसार आर्थिक वर्ष २०७२÷०७३ मा विभिन्न प्राकृतिक विपद्मा परी कर्णालीमा २४ जनाले ज्यान गुमाए । यस्तै ५८ जना घाइते हुँदा ६ जना बेपत्ता भएको तथ्यांक प्रहरीसँग छ । बाढी र पहिरोबाट सबैभन्दा बढी १५ जनाको मृत्यु हुँदा १४ जना घाइते भए । बेपत्ता हुने ६ जना पनि पहिरोमा नै पुरिएर बेपत्ता भएको जनाइएको छ । त्यसैगरी आगलागीबाट पाँच जना, चट्याङ्ग लागेर तीन जना र हावाहुरीका कारण एक जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७३÷०७४ मा पनि प्राकृतिक विपद्बाट मानवीय क्षति हुन पुग्यो । बाढी र पहिरोबाट १७ जनाको मृत्यु हुँदा आगलागी र हावाहुरीबाट एक÷एक जना गरी १९ जनाको मृत्यु भएको छ । सोही वर्ष ४० जना नागरिक घाइते भएका थिए । घाइते हुनेमा पनि सबैभन्दा बढी बाढी र पहिरोका कारण भएका छन् । बाढी÷पहिरोमा परी ३८ जना घाइते हुँदा दुई जना भने आगलागीमा परेर घाइते भएका हुन् ।
त्यसैगरी आर्थिक वर्ष २०७४÷०७५ मा पनि प्राकृतिक विपद्ले कर्णालीका नागरिकको ज्यान लिन छोडेन । अघिल्ला वर्षहरूमा जस्तै मानवीय र भौतिक क्षति हुने श्रृंखला जारी रहँदा उक्त वर्ष २२ जनाले ज्यान गुमाए भने ५० जना घाइते हुन पुगे । यसवर्ष सबैभन्दा बढी ज्यान आगलागीमा परेर गएको तथ्यांकले देखाउँछ । आगलागीबाट १२ जनाको ज्यान जाँदा बाढी र पहिरोबाट ६ जना तथा चट्याङ्ग र हावाहुरीबाट दुई÷दुई जनाको मृत्यु भएको छ ।
प्राकृतिक विपद्बाट ज्यान जाने श्रृंखला चालु आर्थिक वर्ष २०७५÷०७६ मा पनि रोकिएको छैन । यस वर्षको सुरुवातमै बाढी र पहिरोमा परी प्रदेशका विभिन्न जिल्लाका नागरिकले ज्यान गुमाए । त्यसैगरी आगलागी र चट्याङ्गका कारण पनि यहाँका नागरिकको मृत्यु भइरहेको प्रहरीले जनाएको छ ।
विपद्का कारण ज्यान जाने क्रम बढेपछि विपद् व्यवस्थापनका लागि भने प्रभावकारी काम हुन नसकेको गुनासो सरोकारवालाहरूको छ । कर्णाली प्रदेशसभाको दोस्रो संसद अधिवेशनका समयमा संसद बैठकमा बोल्दै सांसद विन्दमान विष्टले प्रदेश सरकार विपद् व्यवस्थापनमा गम्भीर हुनुपर्ने धारणा समेत राखेका थिए । विपद्बाट नागरिकको ज्यान जाने र ठूलो मात्रामा भौतिक सम्पत्तिको समेत क्षति हुने गरेकाले यस्तो श्रृंखला रोक्न पूर्व तयारीका साथै विपद्पछिको व्यवस्थापनका लागि सरकारले दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो ।
यता प्रदेश सरकारले पनि विपद् व्यवस्थापनका लागि गम्भीर भएको जनाउँदै आएको छ । सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी प्राकृतिक विपद न्यूनीकरण, विपद्मा परेकाहरूलाई उद्धार, राहत र पुनस्र्थापनाका विस्तृत कार्यक्रमसहित सरकारले सम्बोधन गर्ने बताउँछिन् ।

प्रकाशित मितिः   २५ पुष २०७५, बुधबार १२:००