सिम्तामा निःशुल्क शिविर

सुर्खेत, २४ पुस । (साबिस)
पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाले आँखाका बिरामीहरूका लागि निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गरेको छ । सिम्ता गाउँपालिकाको आर्थिक सहयोग तथा सुर्खेत आँखा अस्पताल वीरेन्द्रनगरको प्राविधिक सहयोग साथै नेपाल रेडक्रस सोसाइटी उपशाखा राकमको सहभागितामा मंगलवारदेखि शिविर सञ्चालन गरिएको हो ।
तीन दिनसम्म सञ्चालन हुने शिविर वडा नम्बर ६ स्थित बागेश्वरी माध्यमिक विद्यालयको प्राङ्गणमा उद्घाटन गरिएको हो । सामाजिक सुरक्षा अन्तर्गत जनतासँग सिम्ता गाउँपालिकाको कार्यक्रम अनुरूप आर्थिक रूपले कमजोर र बाहिर गएर उपचार गर्न नसक्ने नागरिकहरूलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले जानकारी दिए ।
शिविर सञ्चालन भएको पहिलो दिन मंगलवार ३५ जना आँखाका बिरामीहरूले सेवा लिएका छन् भने एक सय ५० जनाको आँखा जाँच गरिएको छ । शिविर सञ्चालन भएको पहिलो दिन धेरैजसो वृद्धवृद्धाले सेवा लिएका छन् जसमा पुरुषभन्दा महिलाको संख्या धेरै रहेको गाउँपालिकाका प्रवक्ता टेकनारायण विश्वकर्माले बताए ।

प्रकाशित मितिः   २५ पुष २०७५, बुधबार ११:५९