कर्णालीमा विकराल बन्दै बालविवाह

साझा बिसौनी संवाददाता
सुर्खेत, २३ पुस ।
पुसको १ गते बराहताल गाउँपालिका–९ थारीका १६ वर्षीय युवकले कक्षा ७ मा पढ्दै गरेकी १३ वर्षीया बालिकालाई विवाह गर्नका लागि भगाए । १८ पुसमा विवाहको कर्म हुँदै गरेको बेला प्रहरीको एक टोली विवाहस्थलमा पुग्यो र विवाह नै रोकियो । स्थानीय आमा समूहका प्रतिनिधिहरूले बालविवाह नगर्न गरेको आग्रह परिवारले नमानेपछि उनीहरूले प्रहरी गुहारे । अन्ततः हुनै लागेको विवाह प्रहरीले रोक्यो । केटा र केटी दुवैलाई अभिभावकको जिम्मामा आ–आफ्नै घर पठाइयो ।


उल्लेखित घटना त कानुनले बर्जित गरेको कलिलै उमेरमा हुने गरेको बालविवाहको एक दृष्टान्त मात्रै हो । सुर्खेतसहित कर्णाली प्रदेशका जिल्लाहरूमा उल्लेख्य संख्यामा बालविवाह हुने गरेको छ । बालविवाहको बढ्दो संख्याले कर्णालीमा विकराल रूप लिँदै गएको छ ।
बढ्दै किशोरी आमा
कर्णालीमा बालविवाहको अवस्था कतिसम्म विकराल छ भने सल्यान जिल्लामा पछिल्लो ६ महिनामा मात्रै उमेर नपुगी बच्चा जन्माउने किशोरी आमाहरूको संख्या एक सय ७२ जना भेटिएका छन् । उनीहरू सबै २० वर्षमुनीका हुन् । यो जिल्ला अस्पताल सल्यानमा प्रसूति सेवा लिन आउनेहरूमध्येको तथ्यांक हो ।
अस्पतालमा कार्यरत स्टाफ नर्स कोपिला पुनका अनुसार साउन महिनामा एक सय ६६ आमा सुत्केरी भएकोमा ४१ जना किशोरीले बिहे गर्ने उमेर नै नपुगी बच्चा जन्माएका छन् । यस्तै भदौ महिनामा एक सय दुई आमा प्रसूति गराउन आएकोमा ४५, असोजमा एक सय २७ मा ३५ जना, कार्तिकमा ९१ मा ३० जना र मंसिरमा ७१ जनामध्ये १९ जना किशोरी आमा बनेको जिल्ला अस्पताल सल्यानको तथ्यांकमा उल्लेख छ । पुस २० गते एकैदिन तीन किशोरीले अस्पतालबाट प्रसूति सेवा लिएको नर्स पुनले बताइन् ।
जिल्लामा बालविवाह बढेसँगै किशोरी आमाहरूको संख्या पनि बढ्दै गएको छ । उमेर नपुग्दै विवाह गर्ने र बच्चा जन्माउनाले आमा र बच्चा दुवैको ज्यान नै जोखिममा पर्ने चिकित्सकहरू बताउँछन् । पुन भन्छिन्, ‘कम उमेरका आमालाई धेरै रगत बग्ने, सुनिने, दीर्घकालमा पाठेघर खस्ने, पिसाब चुहिने समस्या हुन सक्छ ।’ तर सल्यानसहित कर्णालीका जिल्लाहरूमा किशोरी आमाहरूको संख्या भने बढिरहेको तथ्यांकले देखाउँछ ।
पढाइ प्रभावित, जोखिममा स्वास्थ्य
२० पुसमा शारदा नगरपालिका–१० मदानाकी १७ वर्षीया पुष्पा बोहराले अस्पतालबाट प्रसूति सेवा लिइन् । माध्यमिक शिक्षा परीक्षा
(एसइई) दिएपछि एक वर्षअघि प्रेम विवाह गरेकी उनले पहिलो सन्तानको रूपमा छोरालाई जन्म दिइन् । विवाह गरेपछि उनको पढाइ रोकिएको छ ।
यस्तै सोही दिन १७ वर्षको उमेरमा आमा बनेकी किशोरी शारदा नगरपालिका–१४ बरलाकी शोभा विष्ट बुढाथोकीले कक्षा ८ पढ्दै गर्दा विवाह गरिन् । विवाह गर्ने उमेर नपुग्दै उनी अहिले आमा बनेकी छन् । आमा बनेसँगै उनको माथिल्लो कक्षा पढ्ने सपना अपुरो नै रहेको उनको भनाइ छ । ‘विवाहपछि घरव्यवहार सम्हाल्नुप¥यो, बच्चा जन्मियो’ उनले भनिन्, ‘अब पढाइ अगाडि बढ्दैन होला ।’
सानै उमेरमा विवाह गर्दा आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्ने थाहा पाउँदा–पाउँदै पनि बालविवाह कम हुन नसकेको सल्यान जिल्ला अस्पतालका प्रमुख डाक्टर अर्जुन बुढाले बताए । कम उमेरमा आमामा शारीरिकसँगै मानसिक र सामाजिक समस्या पनि देखिन सक्ने उनले बताएका छन् । ‘शारीरिक परिपक्वता नहुने हुनाले कम उमेरमै बच्चा जन्माउँदा मृत्यु पनि हुन सक्ने सम्भावना हुन्छ’, उनले भने । स्वास्थ्य शिक्षा सम्बन्धी ज्ञानको अभाव, साथीहरूको लहलहै लगायतका कारण सानै उमेरमा विवाह गर्ने अनि आमा बन्ने विकृति बढ्दै गएको उनको भनाइ छ ।
जुम्लाका ग्रामीण बस्तीमा करिब ५० प्रतिशत बालविवाह हुने गरेको पाइएको छ । एकातर्फ परिवारले सानै उमेरमा विवाह गरिदिने र अर्कोतर्फ उमेर नपुग्दै विद्यालयमा अध्ययनरत केही बालबालिकाले आफै पनि विवाह गर्ने परिपाटीले गर्दा बालविवाह झन् बढ्दै गएको सिंजा गाउँका हिमाल रोकायाले बताए । पारिवारिक समन्वयको अभाव, कानुनी अनभिज्ञता र घरायसी कामका लागि पनि उमेर नपुग्दै विवाह हुँदै आएको उनको भनाइ छ ।

प्रकाशित मितिः   २४ पुष २०७५, मंगलवार ११:५२